logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

छन्दः (शार्दूलविक्रीडित) रमा खतिवडा, कविताः योगमाया


  • जन आकाश
  • मंगलबार, भाद्र १५ २०७८

छन्दः (शार्दूलविक्रीडित) रमा खतिवडा
कविताः योगमाया
छोरी अब्बल जन्मिइन् भुवनमा ती योगमाया थिइन्
सानै थ्यो वय अन्मिइन् घर उनी छोरी बुहारी बनिन्
दिन्थे दुःख अनेक खप्न नसकी छाडिन् दिएको घर
औधी दर्द थिए हियारतलमा बुझ्थे र को आखिर ? ।१।



नारीमाथि अघोर शासन थियो दिन्थे कठै यातना
जल्थिन् साथ सती बनी पति मरे अस्ताउँथ्यो जीवन
देख्दा कष्ट असह्य क्रन्दनहरू ती योगमाया उठिन्
नारी शक्ति बनेर हिम्मत गरिन् बाढी बनी उर्लिइन् ।२।

चिर्दै भेद अनेक विप्लव गरिन् आत्मा जलेको थियो
झिल्का अग्नि भएर फैलिन गयो कुण्ठा सबै होमियो
किन्थे मानिस वस्तुकै सरहमा देखिन् र क्रोधी भईन्
लड्दै दासप्रथा छुवाछुत सबै तोड्दै निमोठ्दै गईन्।३।

आयो क्रान्ति सुसाउँदै अरुणझैँ चारैदिसा फैलियो
राणा शासन हल्लियो डर भयो धक्का हुने देखियो
गर्थे क्रूर समाज बालक बिहे जोडा नमिल्ने गरि
गर्थिन् घोर बिरोध मेल नहुँने बिहे नगर्ने भनी ।४।

कैले जेल परिन् निरन्तर लडिन् योद्धा कयौँ उर्लिए
चर्को शासनको विरुद्ध खनिए झन् साथ जुट्दै गए
सुम्पिन् जीवन मुक्ति खातिर सदा थाक्दै नथाकी कवै
चारैतर्फ उदाउँथिन् किरणझैँ लाली प्रभा चम्किदै।५।

गर्थिन् चिन्तन मार्गदर्शक बनिन् सत्कर्मकी साधिका
वाणी दिव्य सदा भए अमर ती आशा बने शान्तिका
साथी साथ लिएर हेलिन गइन् निस्पट्ट त्यो रातमा
त्यागिन् प्राण लिइन् समाधि जलमा बग्दै सती घाटमा।६।

झन् झन् पेल्दछ यो समाज चुप भै बस्तै नबस्नू भनिन्
अत्याचार बिरुद्ध बोल जन हो यो चेतना सुम्पिईन्
हाम्रा कण्ठ बनेर गुञ्जिरहलान् ती योगबाणी सदा
छोडिन् ज्ञान सदैव जीवित रहिन् छिन् लोकमा सर्वदा ।७।

रमा खतिवडा
पोखरा ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend