logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

कविता, योगमाया–शिव शर्मा


  • जन आकाश
  • मंगलबार, भाद्र १५ २०७८

कविता, योगमाया–शिव शर्मा



नारीरत्न प्रभा विशेष युगकी हुन् योगमाया तिनी ।
साच्चै दिव्य तपस्विनी मृदुमयी वीरङ्गना योगिनी ।
प्रज्ञा धर्म र योगको विजयले ज्योतिर्मयी चाँदनी ।
मायाकी प्रतिमूर्ति विम्ब तपकी सत्मार्गकी मानिनी।१।

पर्दा बाल विवाहका कहरमा छायाँ उँडेको मन ।
टाढा दुर्जन देशमा बिरसिलो एकान्तको जीवन ।
छाड्दा जन्मथलो विदिर्ण मनले ओस्याइलो रातमा।
आँखामा जलका अभद्र तमसा ज्वालामुखी आँतमा।२।

वाणी ऋष्टि सरी परेर दिलमा नाता पराई भए ।
बाबाका घरका हजार सपना सन्तापले खुम्चिए ।
घातै घात परी अनेक छलले ज्यूँदै जलेको हियो ।
ऐय्या १भन्न सकेन त्रस्त मनले हिक्का छुटेको थियो ।३।

आशा माइतको रहेन मनमा माता पिताको पनि ।
वर्षाको पहिरो सरी मनभयो गल्दै गयो जीवनी ।
छातीमाथि शिला धरी अकटिलो बाटो लिई दूरको।
वैलेको अपमानका कहरले रक्षार्थमा नूरको ।४।

बैसाखी परदेशका डगरमा जे जे बनेको थियो ।
ताते गर्न नपाउँदै तर त्यही प्रारब्धले भाँचियो।
टेक्ने ठाउँ बुझेर जन्म घरमा सम्झेर आफ्नोपन।
तीतो त्यो इतिहासका दकस छन् फर्किन् नबोलीकन।५।

नाना तिर्थ घुमी मुमुक्षु जन झैँ फर्केर आई घर ।
गङ्गाका तटमा शिलासन गरी पैह्रेर श्वेताम्बर।
बस्थिन् मास पुरै कठोर विधिले मौनी निराहार भै।
मान्छेमा सतचेतना अभयको दीक्षादि फैलाउँदै ।६।

छैनन् जात कुजात यो अवनिमा बुझ्नू सबै ध्यानले।
चिर्नै पर्दछ यत्नले तम सबै आलोकले ज्ञानले ।
त्यागिन् क्रोध र लोभ योग, तपले सङ्कल्प बढ्दै गयो ।
यौटा दीपक ज्ञानको चहकिलो सल्केर बल्दै थियो ।७।

चाहन्थिन सब वैधवेय, विधवा कोही नहुन् बाहेक ।
भन्थिन् मानस पुत्र भेद नरहोस् सन्तानमा औरस ।
सिङ्गो राष्ट्र पवित्र होस् शुभ रहोस् बाटो लिई कानुनी ।
ज्ञानी भद्र बनुन् सबै जनहरू आचारले सद्गुणी ।८।

कोही दीनदुखी क्षुधा र भयले कोही कतै रोगले ।
साहूका ऋण भुक्तमान छलले कोही कतै शोकले ।
मान्छे दास हुदैन निर्धन हुँदै चुत्थो र नीचो किन रु
लागिन् भेद विभेद सैह्य नहुँदा आलोक फैलाउन।९।

सत्ताले मदमस्त कान्तिपुरमा बस्थे खुनी शासक ।
आशा पूर्ण टुट्यो सुधार जगको देखिन् सबै बाधक।
पापीका सब पापका घट घडा छिट्टै टुटोस् लौ भनी।
झुल्को घाम परेर सत्य पथको नौलो बनोस आँगनी ।१०।

अर्पिन् देह लगेर त्यो अरुणमा आषाढको प्रातमा ।
जाग्दो ज्योति सरी चिराग मनमा, धेरै थिए साथमा ।
गर्ज्यो मेघ धडाम्म तेज गतिको आँधी हुरी बौरियो ।
टाढा सम्म पवित्रता अरुणको सद्भावना फैलियो ।११।

शिव शर्मा, काठमाडौं ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend