जन आकाश
(छन्दः भुजंग(प्रयात) कविता योगमाया, (कल्पना अधिकरी) भट्टराई
तिमी योगिनी शक्ति हौ योगमाया
तिमी सत्यकी भक्तिनी योगमाया ।
तिमी अन्धविश्वास मास्ने सितारा
तिमी घाम जस्ती तिमी जून तारा।।१।।
सही बाल वैधव्यको जिन्दगानी
नयाँ क्रान्ति गर्दै सजायौ बिहानी।
तिमी कर्मशीला थियौ योगमाया
तिमी धर्मसंरक्षिका योगमाया ।।२।।
कुसंस्कार मेट्ने थियो शंख(नाद
उचा नीच हुन्नन् भनी जातपात।
तिमी आर्य सामाजिकी धार चुन्दै
भयौ अग्रगामी नयाँ सोच बुन्दै।।३।।
तिमी योग गर्थ्यौ सदाचार रोजी
लियौ दृष्टि सम्यक् स्वयंभित्र खोजी।
निशा कालकी चाँदनी योगमाया
तिमी घारकी रानु हौ योगमाया ।।४।।
तिमी सत्यको पक्षमा योगमाया
तिमी दुष्टको वक्षमा योगमाया ।
दिई प्राण आफ्नो गरेकी भलाइ
कुसंस्कार ज्यादा थिए आततायी ।।५।।
थियो ज्ञान उच्चा तिमीमा अथाह
तिमी काव्यमा कण्ठ धारा(प्रवाह।
निशाझैँ अँधेरो थियो देश दीन
जगायौ तिमीले दियालो नवीन।।६।।
सती रीत तोड्ने लियौ माग चर्को
नहोस् बाल वैवाहिकी माग अर्को।
फुकाएर वैधव्य गर्दै विवाह
तिमी न्याय खोज्दै लडेकी अथाह।।७।।
अकर्मण्य राणा थियो बागडोर
मिलोस् धर्म भिक्षा जपेकी कठोर।
डराएर राणा तिमी बाँधिएकी
नदीमा समाधिस्थ आफैँ बनेकी।।८।।
तिमी नै चिनिन्छ्यौ सबै माझ आज
नमस्कार गर्दैछ ऐले समाज।
तिमी न्यायकीपुञ्ज हौ योगमाया
तिमी चेतनाकुञ्ज हौ योगमाया ।।९।।
तिरस्कारका बज्रले रङ्गिदामा
हटायौ अनेकौँ चुनौती र धामा ।
तिमी साथ लाग्दै गएको समाज
त्यही मान्यता नै चलेको छ आज।।१०।।
उपन्यासमा छौ दिगो योगमाया’‘
महाकाव्यमा छौ दियो योगमायाू ।
गयौ स्वर्ग , चोखो प्रतिष्ठा छ माया
बुझेँ राष्ट्रको सान हौ योगमाया।।११।।
त्रिवेणी कलाज्ञानकी योगमाया
भिजोस् आँत हाम्रो मिलोस् छत्रछायाँ
हराउन्न गर्दा बृहत् योगदान
यशस्वी तिमीमा छ मेरो प्रणाम।।१२।।
(कल्पना अधिकरी) भट्टराई
लमजुङ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend