जन आकाश
काठमाडौ । राष्ट्रिय सुसेली मञ्च नेपालले यही २०७८ भदौ १९ गते शनिवार सत्रौं अनलाइन सुसेली कार्यक्रम अन्तर्गत तिज विशेष सुसेली गायन तथा वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
सुसेली मञ्चको संयोजन तथा सुशीला ढकाल अधिकारीको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रमको संचालन कवि साहित्यकार, सुसेली मञ्चकी सल्लाहकार तथा सुसेली विधाकी अभियन्ता चन्द्रा न्यौपानेले गर्नु भएको थियो ।
तिज विशेष सुसेली गायन र वाचन कार्यक्रममा सरिक ४० जना कवि साहित्यकारहरूले त्रिपदीय नेपाली लोकलय, पुर्वीय, पश्चिमी र भजन लयमा रचना गरि महिलाहरूले तिजको महत्त्व र महिमा, नारीहरूको स्वतन्त्रताको प्रतीक, यसमा आइरहेका विकृति, माइतीले नसम्झेको, भाइ लिन नआएको, आमा विनाको माइती खल्लो भएको, पापी कोरोना बाधक बनेको आदि विषयमा समसामयिक तथा व्यङ्ग्यात्मक सुसेलीहरू गाउनु र वाचन गर्नु भएको थियो भने पुरुष सहभागी दाजुभाइहरूले आमा दिदीबहिनीहरूलाई शुभकामना सहितका तिज पर्व सम्बन्धी सुसेलीहरू गायन तथा वाचन गर्नुभएको थियो ।
कार्यक्रममा सुसेलीकी अभियन्ता तथा मञ्चकी सल्लाहकार सीता विष्ट कार्कीले महिलाहरूकी अभिभावक, नेपाल प्रज्ञा प्रतिष्ठानकि प्राज्ञ सदस्य, बहुमुखी प्रतिभाकी धनी माया ठकुरी प्रमुख अतिथि पाएकोमा खुसी व्यक्त गर्दै कार्यक्रममा सहभागी सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्वागत गर्नुभएको थियो । यसैगरि आफूले रचना गरेका १० वटा तिज विशेष सुसेलीहरू मीठो लयमा गाएर सुनाउनु भएको थियोे ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य माया ठकुरीले सुसेली मञ्चको तीज विशेष कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुन पाउँदा गौरवान्वित महसुस गरेको बताउँदै आमा हजुरआमाका समयको तीजको स्मरण गर्दा भावुक हुँदै काग कराउउँदा माइतीले सम्झेर समाचार ल्याएको र सोही काग मार्फत सन्देश फिर्ता पठाएर आफ्ना मनका भावनाहरू सुसेली लयमा गुनगुनाउने चलन रहेको बताउनुभयो ।
यातायात र संचार माध्यमको अभावमा त्यतिबेला महिलाहरूले खेप्नुपरेको कष्टकर समय र अहिलेको नेपाली समाजले सभ्यता र संस्कृतिमा ल्याउन खोजेको विकृतिको बिरुद्धमा कटाक्ष गर्नु हुँदै महिलाहरूको स्वतन्त्रता दिवसको रूपमा तिज मनाउँदै हाम्रो परम्परागत कला संस्कृति र सभ्यताको जगेर्ना गरेर अगाडि बढ्नुपर्ने सुझाव दिनुभएको थियो । हरेक व्यक्तिले परिवार, समाजमा सभ्यता, संस्कृतिको मूल्य मान्यता बोकेको हुन्छ । हरेक व्यक्तिले सही मार्ग अवलम्बन गरेमा विकृति घुस्न नसक्ने उहाँले दावी गर्नुभयो ।
तिलकप्रसाद लुइँटेल, खोलाघरे साँहिलो, कलानिधी दाहाल, डा. शैलेन्दुप्रकाश नेपाल, डिल्लीप्रसाद मूलतिहुन, परशुराम पराजुली लगायतका विशिष्ट साहित्यकार दाजुभाइका सुसेली मार्फत आशिर्वचनले आनन्दित दिदीबहिनीहरू माइतीघर पुगेको अनुभूतिमा आफ्ना दुख पिडाका अनुभवहरू, सुखद क्षणहरू, विकृति विसङ्गति आदि विषयमा सुसेली गाउँदै, कहिले नाच्दै हास्दै त कहिले भावुक हुँदै रुदै कार्यक्रममा प्रस्तुत हुनुभएको थियोे ।
यसरी प्रमुख अतिथिका रूपमा अग्रज साहित्यकार तथा अभिभावक दिदी माया ठकुरी, आजको कार्यक्रमकि सभापति सुशीला ढकाल अधिकारी लगायत विशिष्ट अतिथिहरू र कुशल कार्यक्रम संचालक चन्द्रा न्यौपाने सहित ४० जना अतिथि कवि साहित्यकारहरूलाई गरिब सुसेली मञ्च परिवारको झुपडीमा स्वागत गर्न पाएकोमा आफु अत्यन्तै भाग्यमानी भएको ठान्दै अतिथि ज्यूहरूबाट तीजको महत्त्व र आशिर्वचन अत्यन्तै अनुकरणीय शिक्षाप्रद उपयोगी भनाइहरू प्राप्त भएको हुँदा आफूले थोरैमात्र भन्ने र बुझ्नेले धेरै बुझिदिन अनुरोध गर्दै कार्यक्रमलाई भव्य तथा सभ्य तवरमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद भन्दै मञ्चका अध्यक्ष तथा सुसेली विधाका प्रवर्तक दुर्गा अधिकारी भमरकोटेले सबै आमा दिदीबहिनीहरूमा आफूले रचना गरेका १० सुसेलीहरू गाएर शुभकामना दिनु भएको थियो ।
कार्यक्रमको अन्तमा मञ्चकि उपाध्यक्ष तथा आजको कार्यक्रमकि सभापति सुशीला ढकाल अधिकारीले आफूले गरेको एउटै मात्र फोनकलमा प्रमुख अतिथि प्राज्ञ माया ठकुरी पाएकोमा हर्ष व्यक्त गर्दै आफूले सोचेको भन्दा भव्य सभ्य र उत्साहपूर्ण कार्यक्रममा पहिलोपटक सभापतित्व ग्रहण गर्न पाउँदा गौरव महसुुस भएको बताउनुभयो । कार्यक्रमलाई यस किसिमले भव्य बनाउन सहयोग गर्नुहुने विशिष्ट दाजुभाइ लगायत सम्पूर्ण सहभागी दिदिबहिनीहरूमा कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा पनि सुसेलीले सबैको साथ र सहयोग पाइरहनेमा आफू विस्वस्त रहेको बताउनु हुँदै आफ्ना १० वटा तीज सम्बन्धी सुसेली गाउँदै कार्यक्रमको समापन गर्नुभएको थियो ।
कार्यक्रममा उपस्थित सहभागी अतिथि कवि साहित्यकारहरू निम्न अनुसार हुनुहुन्छ । कवि तीला लेकाली, विमुन्स पौडेल, कल्पना देवकोटा, सुरेशचन्द्र घिमिरे, द्वारीका कुईकेल, उर्मिला पन्त, चन्द्रावती अधिकारी, घनश्याम पौडेल, ओमप्रसाद कोइराला, कृष्ण केसी, दामोदर ढकाल दिपक, तिलक भट्टराई, सुनिल गौतम, शारदा आचार्य, सरस्वती वली, शारदा पराजुली, सुमित्रा श्रेष्ठ, शोभा कडरिया, सविता वाग्ले, लक्ष्मीप्रसाद मिश्र, रमा आचार्य, सुचिता काफ्ले, जानुका थापा रायमाझी, निरू गौतम, अम्बिका अधिकारी, समीक्षा कोइराला, गंगा लिगल, अम्बिका थापा, वासुदेव ज्ञवाली, अमृता रसाइली, पुर्णदेवी न्यौपाने, शंकरप्रसाद गेलाल सहित जम्मा ४० जना सहभागी हुनु भयो । केही सहभागी कवि साहित्यकारहरूले समयाभाव र प्रविधिका कारण आफ्ना सुसेलीहरू प्रस्तुत गर्न असमर्थ रहनु भएको थियो भने कार्यक्रममा ४० जना कवि साहित्यकार प्रवेश पश्चात् कार्यक्रम लामो हुने भएकोले ढोका बन्द गरिएको थियोे । सुसेलीको आगामी कार्यक्रम असोज १६ गते शनिबार दिनको ठीक ३ बजे आउँदै गरेका नेपालका महान पर्व विशेष हुनेछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend