logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

दिदी बहिनीहरुको मिलनको पर्व हो तीजः चलचित्र पत्रकार


  • जन आकाश
  • बिहिबार, भाद्र २४ २०७८

गीता अधिकारी
हरेक वर्षजस्तै यस वर्ष पनि नेपालीहरूको घर–आँगन नेपाली दिदी बहिनीको पर्व तीज आइपुगेको छ । दिदी बहिनी जम्मा हुने मिठो खाने, राम्रो लाउने र गीत संगीतमा रम्ने यो चाडको विशेषता हो भने धार्मिक महत्व पनि त्यतिकै छ ।



तीज खासगरी दिदी–बहिनीहरूको मिलनको पर्व हो । यो पर्वमा साँस्कृतिक, पौराणिक, सामाजिकलगायत धेरै पक्ष जोडिएका छन् । तर गत वर्ष र यो वर्ष विश्वव्यापी फैलिएको कोरोना संक्रमणका कारण हामीले खुलेर तीन मनाउन पाएका छैनौ भने तीजका अवसरमा निस्कने तीज गीतमा केही कमी आएको छ ।

नेपालका प्रायः सबै समुदायका महिलाहरूले मनाउने साझा पर्वका रूपमा विकास भइरहेको छ तीज । बहुसांस्कृतिक पर्वका रूपमा विकसित भइरहेको तीज अब नेपाली हिन्दू महिलाहरूमा मात्र सीमित नरही सबै धर्म–जातिका महिलाहरूले मनाउने साझा पर्वका रूपमा विकसित भइरहेको छ । नेपालीहरूका ठूला चाड दशैं र तिहारपछिको तेस्रो ठूलो चाडका रूपमा

स्थापित हुँदै गएको छ तीज । यो चाड मुख्यरूपले नेपालभर मनाइन्छ भने नेपाली जातीको बसोवास भएका सबै ठाउँमा मनाइन्छ ।
तीज नजिकिँदै जाँदा बजारमा तीजसम्बन्धी गीतको चर्चा भइरहेको छ ।

तीज पर्वमा खासगरी महिलाका स्वरहरू गुञ्जयमान हुन्छन् । पछिल्लो समयमा पुरुषहरूको स्वरको साथ पाएको छ तीजले । चर्चित गायक–गायिकादेखि लिएर नवप्रवेशीसम्मले यो माहोललाई आफ्नो गायन प्रतिभा प्रस्फुटन गर्ने समयका रूपमा सदुपयोग गर्ने श्रृंखला यस वर्ष पनि जारी छ । तीजका गीत संगीत सांस्कृतिक परम्पराको नाममा विकृतितर्फ समेत धकेलिन लागेको आरोप लागीरहन्छ । केही छाडा तीज गीत पनि बजारमा आए ।

सम्बन्धित संघ संस्थाले प्रतिवन्ध लगाउनु पर्ने भन्ने जस्ता आवज पनि सुनिए । यसको भावना र मर्मलाई बुझेर मात्र गीतलेखन कार्य होस् । तीजका गीतलाई रत्यौली नबनाइयोस् ।

गाईजात्रे गीत नबनाइयोस् । ‘आफ्नो मौलिकपन कायम राख्न सकेनौँ भने हाम्रो आफ्नो पहिचान नै खतरामा पर्न जान्छ’ भन्नेजस्ता आवाज पनि हरेक वर्षजस्तै यस वर्ष पनि सुनिए तीज नेपाली महिलाहरूको आफ्ना भावना पोख्ने पर्वको रूपमा परिचित थियो र छ ।

तर, पछिल्लो समयमा आएर महिलाहरूको भावना पोख्नेभन्दा पनि यो व्यावसायिक हुँदै गएको छ । परिवर्तन हुनु नराम्रो कुरो त होइन तर यसको भावनालाई आत्मसाथ गर्न सक्नुपर्छ ।

तीजगीत र दोहोरीगीतमा फरक छुट्याउन गाह्रो भएको छ । गीत गाउने र चर्चा बटुल्ने नाममा अभद्र, अमर्यादित र छाडा गीतसंगीतले प्रश्रय पाउनुहुँदैन तीजका गीतमा खासगरी माइतीघर र घरको विम्ब पाइने गरे पनि अहिले भने युवायुवतीको प्रेमका गीतहरू बढी पाइन्छ । यो समयको माग पनि हुन सक्छ ।

आधुनिकताको नाममा आफ्नो रीतिरिवाज, धर्मकर्म अनि अनुशासित परम्परालाई कुल्चँदै गए नेपाली र नेपालको अस्तित्व कता जाला ? तीज मनाइरहँदा सर्जकहरूले यसतर्फ पनि सोच्न जरुरी छ । सुन्दै उकुस–मुकुस हुने, नारीको मर्यादामाथि प्रहार गर्ने र विकृति भित्त्र्याउने गीतलाई प्रश्रय दिइरहयौ भने हाम्रो समाज अनि हाम्रो मर्यादा, संस्कार कता जाला सम्बन्धित निकायले यसतर्फ सोच्न जरुरी छ तीज पर्व उल्लासमय रूपमा मनाइँरहदा ।

नेपाली महिलाको महान् पर्व तीजको सबैमा हार्दिक मंगलमय शुभकामना ।
नेपाल चलचित्र पत्रकार संघ पूर्व उपाध्याक्ष

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend