जन आकाश
डा. अमर कार्की
ठेचो ललितपुर
हालः फ्लोरिडा यु एस ए
कथा
शिर्षक, करोडौंको चिठ्ठा पुल मुनिको बास
एक शनिबार मध्याह्न सिक्थ एभेन्यु र फ्लोरिडा माङ्गो रोडको चौबाटोको छेउमै रहेको सेभेन इलेभेन पेट्रोल पम्पमा आफ्नो होन्डा सि आर भिको ट्याङ्की भर्दै गर्दा मेरो कानमा मेरो आफ्नै नाम गुन्जियो।
स्वभाबिक रुपमा कोही चिनेकै मान्छे होला भनेर मैले आवाज आए तिर फनक्क मुन्टो घुमाए। अग्लो तर अलि कुप्रेको शरिर, महिनौ साबुन पानी नदेखेको जगल्टा परेको खैरो कपाल, मुजै मुजा परेको गोरो अनुहारलाई आधा आधि ढाकेको तराईको चौकोसे झाडी जस्तो बाक्लो अनि नुन र मरिचको मिश्रण जस्तो दार्ही र झुत्रे बस्त्र पहिरहेको त्यो स्वरुपलाई एउटा माग्ने रहेछ भनेर अनुमान लाउन मलाई कुनै कसरत गर्नु परेन। अनि उ बाट आफुलाई छिटो पिछा छुटाउनको लागि मैले आफ्नो गोजीबाट एक डलरको नोट निकालेर उ तिर लम्काए। एउटा हातमा मार्लब्रो चुरोट र आर्को हातमा कोरोना बियर च्यापेको उसले मेरो हातको नोट तिर ध्यान नदिइकन मेरो अनुहार तिर हेरेर फुस्रा ओठहरुमा हल्का मुस्कान लेराउँदै फेरि उहीँ अघिकै लबजमा बोल्यो हे म्यान डिडन्ट यु रिकजनाइज मि आइ याम डिबी।हाम्रो भाषामा भन्ने हो भने ओ सोम तिमीले मलाई चिनेनौ म डिबी।
म अलमल्ल परे। मेरो अनुहारको भाब केही बुझे जसरी उसले आफ्नो हाउ भाउमा छिट्टै परिबर्तन लेरायो। भै हाल्यो। म पनि कस्तो मुर्ख। तिमीले मलाई कसरी चिन्थ्यौ र ? माफ गर है। भन्दै उ त्यहाँबाट हिड्यो। यस्ता एक दुई डलर माग्दै आउने ब्यक्तिहरु पेट्रोल पम्पतिर भेटिनु कुनै असाधारण कुरा नभएकोले म आफ्नो पेट्रोलको ट्याङ्कीबाट नोजल निकालेर पम्पमा फिर्ता राखे र आफ्नो गाडी भित्र छिरे। तर आफ्नो गन्तव्य तिर लाग्दै गर्दा मेरो मन मस्तिष्कमा केही कुरा रुमलिए जस्तो आभास भयो। अलि जोड दिए पछि मलाई अघि पेट्रोल पम्पमा भेटेको त्यो मान्छेको याद आयो। उसले बोलेको दुईवटा बाक्यले म अहिले झसङ्ग भए। पहिलो पटक उसले मेरो नाम लिएको थियो भने दोश्रो पटक उसको आफ्नो नाम। त्यसको मतलब उ जो कोही पक्कै होइन। हामी एक अर्कामा परिचित छौं। उसले सम्बोधन गरेको नाम मेरै हो। तर यस्तो हुलियाको मान्छेले मलाई यसरी मेरो नामै किटेर बोलाउला भनेर मैले कहिल्यै सोचेको थिइन। ल ठिकै छ यो पृष्ठभूमि नेपालमा भएको भए म ठान्थे मेरै नाम भएका मान्छे सयौं छन् त्यसैले झुक्किनु कुनै ठुलो कुरा भएन।
तर पुरा अमेरिका भरी खोजे पनि मुस्किलले एउटा आर्को म भेटिने ठाउँमा त्यो पनि एउटा गोरे माग्नेले यसरी सम्बोधन गर्दा म छक्क पर्नु कुनै अनौठो भएन। फेरि एउटा माग्नेले आफ्नो परिचय दिनु पर्ने किन ? उ केबल माग्ने भएको भए मैले दिएको पैसा लिनु पर्ने। मलाई पसिना पो छुट्न थाल्यो। गाडीको एयर कन्डिसनलाई न्युनतम बनाए र घरै छेउ पुग्न लागेको गाडीलाई फनक्कै घुमाएर उही पेट्रोल पम्पतिर हुँइकिए।
२० मिनेटको त्यो बाटो १० मिनेटमा तय गरे पनि मैले उसलाई त्यहाँ भेटिन। नजिकैको राजमार्गको पुलमुनी गयो कि भनेर त्यता लागे। अहँ उ त्यहाँ पनि थिएन। त्यसपछि नजिकैको जोहन प्रीन्स पार्क तिर हानिए। त्यहाँका हरेक घरबार बिहीन मानिसको अनुहार केलाउदा पनि उ भने फेला परेन। यो त उनीहरुको अखडा नै हो कहाँ गयो होला त भन्ने लाग्यो। निराश भएर फर्कनै लाग्दा फेरि उही आवज पर्यो मेरो कानमा। म उसको नजिक गए र भने डिबी म तिमीलाई नै खोज्दै आएको यहाँ। उसले खासै आस्चर्य प्रकट नगरी भन्यो मलाई थाहा छ। मैले छेउकै बेन्चमा बसौ भने उसले हुन्छ भन्यो र उतै लाग्यो। चार फिटको दुरीमा बस्दा पनि उसको शरिरबाट आएको अनौठो गन्धले मेरो पेट उमठेर आयो। तर मैले बडो सकस गरेर त्यसलाई घाटी भन्दा माथि उत्रन दिइन। आफ्नो मुहारमा केही सहजता लेराउँदै उसको उराठिलो चेहरा तिर नियालेर भने तिमीले मेरो नाम लिएर बोलायौ तर म त तिमीलाई चिन्दिन। को हौ तिमी ? अन्तर तटिय समुन्द्रमा हुइकी रहेका मोटरबोटहरुको ठुलो अवाजले गर्दा मैले उसको उत्तर प्रस्ट सुनिन। डुङ्गा पार भैसके पछि उसले आफ्नो खस्रो र लामो दार्ही चलाउँदै भन्यो तिमीले मलाई नचिन्नु स्वभाबिक नै हो। मेरो हुलिया नै यस्तो छ। मेरो पुरा नाम डेभिड ब्ल्याकस्मिथ। तिमी र म १० बर्ष अघि सेन्सर डिपार्टमेन्टको ल्याबमा सङ्गै काम गर्थ्यौ। यो नाम याद छ तिमीलाई ? उसको यो भनाइले मलाई १० बर्ष अघिको दिनहरुमा फिर्ता लग्यो।
तर मैले मेरो सहकर्मी डेभिड र उसमा मिल्ने उचाइ बाहेक अरु केही भेटिन। म टोलाएको देखेर उसले एक क्षण पर्ख है भन्दै आफ्नो थोत्रो र फ्याङ्लो जाकेटको भित्री खल्तीमा हात घुसार्यो। एउटा मोबाइल निकालेर त्यसको चर्किएको स्क्रीन आफ्नो लुरे औंलाहरुले चलाउदै केही खोजे जस्तो गर्यो। उसले एउटा यस्तो फोटो देखायो जसले मलाई उ मेरै सहकर्मी डेभिड ब्ल्याकस्मिथ
नै हो भन्ने कुराको ठोकुवा गरायो। मेरा स्मृतिहरु ताजा भएर आए।
डेभिड मेरो अफिसको एउटा सेन्सर टेक्निसियन थियो। बाउ बाजेको पेशा फलामको काम गर्ने भएकोले उसको थर नै ब्ल्याकस्मिथ रहेको रे। उसको बाबुले त्यो पेशा छोडेर १८ पाङ्ग्रे ट्रकको ड्राइभर बने तर उसलाई भने यो पेशा मन परेन। जेनतेन माध्यमिक कक्षा पार लगाएर उ यू एस आर्मीमा भर्ती भयो। प्रशिक्षण सकिएको लगत्तै आफगानिस्थान खटिएको थियो। भन्थ्यो जोश र जागार थियो तर होश पुगेन। त्यहाँ पुगेको बर्ष दिन पनि पुग्न नपाउदै बमका छिटाले पिडुला छेडेपछि उ लङ्गडो भएर देश फर्कियो। शारीरिक रुपमा तङ्ग्रीए पनि मानसिक रुपमा उ पिडित नै रह्यो। त्यसपछि बिभिन्न खाले काम गर्दै उ हाम्रो सेन्सर बिभागमा काम गर्न आइ पुगेको थियो। बास्तबमा मान्छे उ रसिलो र हसिलो थियो। आफैमा मजाक गरेर उ सबैलाई हँसाइ राख्थ्यो। दुई बिहे र छुट्टा छुट्टै भूतपूर्व श्रीमतीहरुबाट एक छोरा र एक छोरी भए पनि मैले भेट्दा उ एक्लो थियो। दुई दुई वटा श्रीमतीहरुले किन छाडे त तिमीलाई भन्दा उ भन्थ्यो एउटीले छाडेर गई आर्कीलाई मैले छाडि दिए। दुबै धेरै खर्चालु मैले धान्नै सकिन।
अब आर्को नखोज्ने त भन्दा भन्थ्यो अब पुग्यो एक्लो ज्यान नै रमाइलो। तर बिचार उसको भित्री पिडा कसले बुझ्ने कल्ले सुन्ने। उसको एउटा गजबको बानी थियो चिठ्ठा किन्ने। उ हरेक हप्ता दुई डलरको पावर बल नामको चिठ्ठा किन्दथ्यो। उसले यसरी चिठ्ठा किन्न थालेको २० बर्ष भै सकेको थियो। कहिलेकाहीँ आकलझुकल ५०(६० डलरको प्राइज पर्दा पनि उ खुशिले उफ्रन्थ्यो। त्यो पैसा थप चिठ्ठा किनेर र टिप्स दिएर नै खर्च गर्थ्यो। म आफु चिठ्ठामा पटक्कै बिस्वास नगर्ने भएकोले मलाई सार्है उकुसमुकुस हुन्थ्यो अनि बेलाबेलामा किन चिठ्ठामा यसरी पैसा सत्यानास पारेको भनेर सोध्थे। एक दिन त म करोडपति हुन्छु हेरन भनेर उ यती ढुक्क संग भन्थ्यो कि लाग्थ्यो यो चिठ्ठाको पुरस्कार उसको सेवा निबृत कोषमा जम्मा भैरहेको रकम हो। मलाई भने अचम्म लाग्थ्यो मान्छेले यो करोडौं डलरको चिठ्ठा पर्ने लोभमा आफु संग भएको २(४ डलर हरेक हप्ता स्वाहा पारेको देखेर। आकसको फल आँखा तरी मर भने जस्तो।
मैले नेपालको दशैंको खसी वा साइकल पुरस्कार राखिएको चिट्ठा सम्झे जसको ताल पर्यो भने कहिलेकाहीँ आयोजक नै गायब हुन्थ्यो। यो पनि त्यस्तै हो कि भन्ने ठानेर मैले अरौबौ डलर सम्म पुरस्कार रकम पुग्ने यो चिठ्ठाको खेललाई यो त जुवा नै रहेछ। गैरकानुनी भएन र भन्या ? भन्दा उसले यहाँको चिठ्ठाको बडो घत लाग्दो कुरा सुनाएको थियो। यहाँको चिठ्ठाहरु एउटा सरकारी कार्यालयले सन्चालन र ब्यबस्थापन गर्दो रहेछ। फ्लोरिडाको चिठ्ठा (Florida Lottery)”नामक यो संगठन संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा सरकार द्वारा नै आधिकारिक रुपमा संचालित रहेछ।
कम्पुटरमा चिठ्ठाका नम्बर छानेर वा हातले कागजमा छोपिएको बारकोडलाई नङले वा सिक्काले कोतरेर पुरस्कार जित्न सकिने असंख्य चिठ्ठा खेलहरू छन् भने चिठ्ठाका भाउ र पुरस्कार रकम पनि बिभिन्न किसिमका छन्। यसबाट राज्यलाई वार्षिक राजस्व १ अर्ब डलर सम्म पुगेको रहेछ। राम्रो पक्ष चाहिँ के भने फ्लोरिडा राज्यको राज्यपाल र फ्लोरिडा विधायिकाले फ्लोरिडामा सार्वजनिक शिक्षाको बृद्धि गर्न अधिकतम राजस्व बढाउने उद्देश्यले उक्त नयाँ चिट्ठाको नेतृत्व लिएको रहेछ।
आखिरमा खेल्न त मान्छेले गैर कानुनी रुपमा नि खेली हाल्छन भनेर सरकारले फ्लोरिडाका मानिसहरूलाई थप राजस्वबाट फाइदा उठाउने अवसर प्रदान गरोस भन्ने उद्देस्यले नै स्थापना गरिएको चिठ्ठा अन्तरगत फ्लोरिडाले हाल जम्मा जम्मी १० बिभिन्न खेलहरू प्रदान गर्दछ। अहिले त फ्लोरिडा चिठ्ठा एक प्रतिष्ठित व्यवसायिक उद्यम नै भएको छ।
यस्तो चिठ्ठाको नियमित ग्राहकहरु प्रायः सेवा निबृत र ६० बर्ष नाघेका प्रौढहरु हुने भए पनि डेभिडले २० बर्षको उमेर देखि नै यसमा लगानी गर्न थालेको थियो। छोराछोरीको हेरचाह (custody) को लागि भएको खर्च र दुई दुई पटक श्रीमतीसंग पारपुचुके गर्दा लागेको खर्च बटुल्न उसले चिठ्ठा किन्न थालेको थियो। उ आफु चालिस बर्ष नपुग्दै छोरी कानुन बिषय पढ्न थाली सकेकी थिई भने छोरो माध्यमिक स्कूलमा पढ्दै थियो। डेभिड स्कूल पढ्दा पढ्दै तत्कालिन प्रेमिकाको तर्फ बाट छोरी जन्मिएकी थिई। त्यसको दुई बर्ष पछि उसैसंग बिहे भएर ३ बर्षको बैबाहिक जिबन सम्पन्न गरेर पारपुचुके भएको थियो।
छोरा १० बर्षको भए पछि दोश्रो श्रीमतीसंग सम्बन्ध बिच्छेद भयो। छोराछोरीलाई राम्रो कलेजमा पढाएर वकिल र डाक्टर बनाउन रकम जुटाउनु छ मलाई भन्थ्यो। सबै भन्दा त उसलाई उसको जागिरको काम नै मन परेको थिएन। नयाँ गाडी चढ्ने र एउटा स्वरुम खोल्ने उसको सपना टुट्न लागेकोमा त्यसको झोक बेला बेलामा आफ्नो बिभागिय हाकिमलाई जागिर छोडिदिन्छु भनेर देखाउथ्यो। हाकिमले ल भोली बाट न आइज न त भने पछि पख न चिठ्ठा त पर्न दे न राजिनामा गोजिमा छ भन्थ्यो। नभन्दै एक दिन उसले आफ्नो राजिनामा पत्र हाकिमको टेबुलमा बजार्यो। उसको सपना साँच्चै साकार भयो। ३० करोड डलरको पुरस्कार हात पारेको थियो। त्यतीबेला त मलाई पनि चिठ्ठा तिर लगानी नगरेकोमा थक्कथक्क लागेको थियो। त्यसपछि मैले उसलाई कहिले भेटिन।
तर त्यही करोडपतिलाई आज यस्तो अबस्थामा भेट्दा म ट्वाल्ल परेर उसलाई हेरिरहेको थिए। उसले मलाई झकझकायो। उसलाई लाग्यो मैले उसलाई बिर्सिसके छु।
हैन ३० करोड डलरको चिठ्ठा पारेर तिमी त बेपत्ता भएको थियौ त। मैले त तिमीलाई कुनै आलिसन महल भित्र, कुनै महङ्गो गाडीमा, पानी जहाजमा वा कुनै भब्य होटलको जुवाघरमा भेट्छु होला भन्ने पो सोचेको थिए। मैले आस्चर्य प्रकट गरे।
आफ्नो भित्र गढेका आँखा परको पुलको डिलमा अड्याएर उ बोल्यो तिमीले सोचे जस्तै थियो मेरो जिबन। मलाई चिठ्ठा परेको समाचार तिमीले पनि टिभी र अखबारमा देख्यौ होला। कर कटाएर मेरो हातमा १८ करोड पर्नु अघि देखि नै आफन्त र परोपकार सङ्गठनबाट फोन आउन सुरु गर्यो। क्यामारा र पत्रकारहरु पछि लाग्न थाले। पैसा ब्यबस्थापनको सल्लाह दिने पण्डितहरुको ताती लाग्न थाल्यो। यिनै पण्डितहरुको सल्लाह अनुसार एकजना आर्थिक सल्लाहकार र ब्यबस्थापक पनि नियुक्ति गरे मह्ङ्गो तलब दिएर। उनीहरुकै सल्लाह अनुसार ४ करोड डलरको एउटा परोपकार संस्थाको स्थापाना गरियो। तिमीलाई थाहै छ ? छन् गेडी सबै मेरी छैनन गेडी सबै टेडी। टाढा टाढाका नातेदारहरु साइनो लगाउदै दुखका पोको बोकेर आए। मैले पनि गर्ब साथ सबैको झोलीमा केही न केही हालीदिदै गए। छोरा छोरी दुबै सङ्गै बस्न आए। न आउन पनि किन मैले सिङ्गर टापुमा ५ करोडको भब्य महल खरिद जो गरेको थियो। ठुलो बंगलामा बस्ने रहर पुरा गर्न बिसाल घर त किनियो तर घर चलाउने खर्च पनि घरको नापो र मोल जस्तै चर्को हुदो रहेछ। फेरि त्यो घर त अलक्षणको रहेछ शुरुमै लुट्यो नि मलाई। बंगलामा सरसफाइ गर्ने आईमाइको तलब बढाउदा बढाउदा वाक्क लागेर एकदिन काममा आउन पर्दैन भनेर हपारेको थिए।
त्यसकै भोलीपल्ट मेरै घरको भर्याङबाट चिप्लेर लडेर उसको खुट्टा मर्किएछ। हास्पिटलको खर्च त सबै बेहोर्छु भनेकै थिए तर त्यो बोक्सीले त मलाई घरमालिकले धकलेर लडाएको हो भनेर पो बयान दिइछ। उनीहरु त पेशेबर ठग रहेछन। सबै योजना बद्द भएको रहेछ। रिसको झोकमा मैले यही भर्याङबाट चिप्लेर लडेर मरछेस तँ कुनै दिन भनेको थिए। सब रेकर्ड गरेका रहेछन। त्यो लडेको दिनदेखी खुट्टा एक दम लुग लुग काम्छ र डर मात्र लाग्छ, त्यसैले काममा पनि जान सक्दिन मलाई दुइ करोडको क्षतिपूर्ति चाहियो भनेर मुद्दा हालिछ। भयो अब फेरि त्यो मुद्दा लड्नको लागि आफुले आर्को वकिल राख्नु पर्यो। एक बर्षसम्म चलेको त्यो मुद्दा पनि हारे र थप एक करोड आफ्नै वकिलको शुल्कमा गयो। तर पनि खुशि लागिरहेको थियो।
यति भनेर उ उठ्यो र मलाई यता आउ त भनेर पार्किङ लटको छेउ तिर लिएर गयो। त्यहाँ पार्किङ गरि राखेको एउटा मर्सिडिज गाडीलाई देखाउदै भन्यो यि यस्ता सयौं गाडी थिए मेरा।
हँ यती धेरै गाडीहरु किनेको ? मैले अलिकता आस्चर्य र अलिकती जिग्यासा राखेर सोधे।
त्यती नै बेला गाडीको मालिक आइपुग्यो र हामीलाई खाउँला झैँ आँखा तरेर गाडी भित्र पस्यो। त्यो गाडी त्यहाँबाट हिडे पछि उसले आफ्नो कथा अगाडी बढायो।
याद छ त्यति बेला तिमीलाई भनेकै थिए मेरो एउटा आफ्नै स्वरुम खोल्ने सपना छ भनेर। त्यो सपना पुरा गर्ने हतारो थियो मलाई। ओकिचोबी ब्लुभाड र हाभरहिल रोडको कुनामा एउटा स्वरुम खोले। छोराले स्वरुमको जिम्मा लियो। छोरीको कलेजको सबै ऋण तिरिदिए। आफु चाहिँ बिन्दास कहिले हवाइ त कैले लस भेगास घुम्न थाले।
यति भन्दै गर्दा उसको चेहराको रंग फेरिएको देखेर मैले बिचमै रोकेर सोधे अनि प्रेमिका ?
उ मुसुक्क हास्यो र फेरि सुरु भयो भूतपूर्ब श्रीमतीहरुले पनि फिर्ता आउन भरपुर प्रयास गरेका थिए तर तिनका मुखमा नोटका बिटाका बुजो हालिदिए पछि फर्केर आएनन। सुरु सुरुमा त मैले पनि प्रेमिकाहरु फेर्दै गए तर एउटीसंग मन बस्यो र बिहे गरे। बिहे पछि त उसको पनि छेपारोको झै रंग फेरियो।
यती भन्दै गर्दा उसको चेहरामा कालो बादल छाएको प्रस्ट देखे। किन के भयो र ? मैले जिग्यासा पूर्बक उसको अनुहारमा हेरे। उसले बियरको बोतल आफ्नो मुखमा जोड्यो र छिन्नै लागेको घाटीको रुद्रघण्टीले छाला छेडेर बाहिर निक्लेला जस्तो गरेर एक घुड्को घुटुक्क पार्यो।
फेरि उ संग नि सम्बन्ध बिच्छेद भयो ? मैले सन्दर्भ जोड्न खोजे।
उ अझै बोल्न सकेन। मैले ठिकै छ तिमीलाई मन छैन भने नभन्दा नि हुन्छ। जाम हिड कतै लन्च खादै गफ गरम भनेर उसलाई लिएर नजिकैको अलिभ गार्डेन रेस्टुरेन्टमा गएँ। उ भित्र पस्न हिचकिचायो। हैन यहाँ नजाउ भन्यो। मैले हिड हिड भने। उसको हुलिया देखेर होला रेस्टुरेन्टको ग्राहकलाई स्वागत गर्न ढोकाको छेउमै आईपुगेकी सेविकाले आंखीभौं तन्काएर हेरीन्। मैले हाम्रो लागि दुइटा सिट छ ? भनेर सोधे। उनले कृपया आउनुस आउनुस भन्दै लगेर एउटा कुनाको दुइटा कुर्सी भएको टेबलमा हामीलाई राखिन्। कुर्सीमा बस्दै उसले भन्यो ति महिलाले मलाई माग्ने जस्तो देखेर अलमल गरेको होइन। यिनीहरु सबैले मलाई राम्रो संग चिन्छन। मेरो छोरीले पढाइ छोडेर रेस्टुरेन्टको ब्यबसाय गर्छु भनेर सार्है जिद्दी गरी। त्यहि बेला यो रेस्टुरेन्ट बिक्रीमा रहेछ। छोरीको नाउँमा किनिदिए।
बेराले खानेकुराको सुचि लिएर आयो। उ चुप भयो। मैले उसको लागि ग्रील्ड चिकेन मार्गरिटा र आफ्नो लागि हर्ब ग्रील्ड सालमन मगाए। मलाई थाहा थियो उसको रोजाइ। उतिबेला हामी अफिसबाट लन्चमा जादा प्रायः यही मगाउथ्यौ। उ म तिर हेरेर मुसुक्क हास्यो।
अनि रेस्टुरेन्ट बेचेको ? बेरा गए पछि मैले पानीको गिलास उठाउदै सोधे।
तँ भन्थिस नि न बाउले गरेको न बाजेले। हो त्यस्तै भयो। पहिलो बर्ष त छोरीले पनि मेहिनत गरी त्यसपछि रेस्टुरेन्ट अरुकै भरमा छोडेर उ घुम्न र मस्ति गर्न थाली। ब्यापार त राम्रै भाको हो तर म्यानेजरले सबै नाफा आफ्नो खातामा जम्मा गरेछ रेस्टुरेन्ट डुबाएछ। रेस्टुरेन्ट बैंकले लिलाम गरिदियो। त्यसपछि छोरीको लत झनै बिग्रीयो। त्यतिबेला मलाई भने डेजी बराइलीको भैँसी लड्यो है माया भिरबाट हेर, नौ सय साठी है माया गै हाल्यो लौ खेर भन्ने गित याद आयो।
अनि छोरी खै त ? मेरो यो प्रस्नको उत्तर दिन उसलाई असहज भयो। उसको आँखा र नाक बाट पानी बग्न थाल्यो। टेबुलमा सजाएर राखेको काटा चम्चा पन्छाएर उसले कागजको रुमालले नाक पुछ्दै म तिर हेर्यो र बोल्यो उही बिग्रेको घरको भत्केको चाला भने जस्तो छोरा छोरी र श्रीमतीको ठ्याक पटक्कै नमिल्ने। छोरीलाई वकिल बनाउने मेरो सपना त चकना चुर भैसकेको थियो। उ घरमा साथीहरु जम्मा गरेर पार्टी मात्र गर्थी। उसको अनियन्त्रित खर्च बन्द गर्न क्रेडिट कार्ड बन्द गरिदिए। एकदिन उसले मेरो श्रीमतीको कार्ड चोरेर लगेर खर्च गरिछ। म घरमा थिइन। आमा चाहिँले म संग कुरै नगरी पुलिसलाई खबर गरिछ। छोरी एक महिना जेलमा सडेर लागु पदार्थको अम्मली भएर फर्की। त्यही कुराको भनाभनमा मेरो हात उठ्यो श्रीमती माथि। त्यसपछि श्रीमती तलाई अदालतमा भेट्यौला भनेर घर छोडेर गई। केही दिन पछि आदालतबाट छोडपत्रको चिठ्ठि आयो। कति फकाउन खोजे सकिन। के फकिन्थी र आधा सम्पत्तिको मालिक्नी जो थिई। सम्बन्ध बिच्छेदमा घरदेखी बाकी आधी सम्पती गैहाल्यो।
त्यसपछि झनै अनिस्टका कुरा भए साथी। यो चिट्ठा मेरो लागि श्राप साबित भयो। स्वरुमको हिसाब किताब आफ्नै आर्थिक सल्लाहकार मार्फत हेर्ने गरेको थिए तर छोराले त गाडी धितो राखेर ऋण लिन थालेको रहेछ। स्वरुम खाली हुदै गएको रहेछ। महङ्गो रक्सी पिउने बानीले उसले लेखापाल संग मिलेर कमाइ सबै स्वाह पार्यो नि। ढिलो भैसकेको थियो। ऋण तिरेर स्वरुम बचाउनको लागि मैले अरु सम्पती बेच्नु पर्यो। खर्चमा कटौती गर्न थाले पछि छोराछोरी पनि टाढिन थाले। भंडार रित्तिदै गयो मन आत्तिदै गयो। खर्च गर्ने बानि जो लागि सकेको थियो। जुवा घर तिर त बेला बेलामा गै राखिन्थ्यो। कहिले दुई चार हजार जितिन्थ्यो भने धेरै जसो दुई चार लाख हारिन्थ्यो। यसपटक मनमा कता कता लोभ लाग्यो। कतै जितिन्छ कि। दुई चार करोड जिते भने स्वरुम र घर बचाउन सक्छु कि भन्ने लाग्यो। तर भएको पनि हार्दै गए। १० बर्ष अघि अभिन्न मित्र बनेका र नजिक भएका नातेदारहरु संग हात फैलाए तर लासबाट उपियाँ तर्किए झैं सबैले मुन्टो फर्काए। अहिले यही चुरोट र बियर मेरो साथी छन्। छोरा कहाँ छ मलाई थाहा छैन्। छोरीले गएको साल एउटा चिनो छोडेर संसारबाटै बिदा लिई। त्यसैको मुख हेरेर बाँच्ने चेस्टा गरेको छु। चिठ्ठाबाट आएको सम्पत्ति मेरो सानो संसार ध्वस्त पारेर गयो।
मेरो छाती ढक्क फुली सकेको थियो। यती बेला सम्म हामीले खाना खाइसकेका थियौ। खायौँ के भन्नु खाए जस्तो गरियो भनौंन। उसलाई हरेक गास निल्न पानीको साहारा लिनु पर्ने रहेछ। दुई तिहाइ खाना प्लेटमै छोडेर हामी बिल तिर्यौ र बाहिर निस्कियौ। त्यहाँबाट कहाँ जाने के गर्ने उसको तालिकामा त थिएन नै आज मेरो पनि होस थिएन। मैले सोधे अनि आजकल तिमी कहाँ बस्छौ ? नसोध्नु थियो सोधी हाले। उसले चोर औलाले राजमार्गको पुल मुन्तिर देखायो। मेरो खिन्न चेहरा देखेर उसले भन्यो हैन हैन प्रायजसो म उनको घरमा जान्छु।
केही राहत महसुस गर्दै सोधे कसको घरमा ?
यतीबेला उ निकै भाबुक भएर बोल्यो एउटै मात्र ब्यक्ति जो म करोडको मालिक हुदा कहिले हात फैलाउन आईनन तर म रोडमा आउदा बाहु फैलाएर आश्रय दिईन्। मेरी आमाको घरमा। तर म मात्तिएर जादा उनले पनि सार्है गाली गर्छिन। त्यसपछि केही रातहरु यही पुल मुनी कट्छन्। अब कति नै बाँचुला र यार दुबै मिर्गौला त रक्सीले खाइ सक्यो भन्छ डक्टारले।
कुरै कुरामा हामी उसको पुलमुनीको कार्डबोडको घर पुग्यौ। मलाई यो सबै सपना भैदिए हुन्थ्यो भन्ने लाग्यो। मन भारी भयो। दिमागले काम गर्न त अघि नै छोडेछ त्यसैले त आफ्नो गाडी रेस्टुरेन्टमा छोडेर त्यत्रो बाटो पैदल त्यहाँ सम्म यात्रा गरेको पत्तै भएन। मैले थप केही सोध्न र सुन्न सकिन। फेरि छिट्टै भेट्न आउछु है भनेर म गाडी भएतिर हिडे। मुख नुनिलो भयो। आँखा छामे भिजेको रहेछ। हुन त उ मेरो न बाउ पट्टिको न आमा पट्टिको तर पनि उसको लागि मेरा परेली भिजे। एउटा हराएको साथी थियो उ मेरो। मन उतै अड्केको थियो। कसरी र कतीबेला घर पुगे यादै भएन।
दुई डलरको चिठ्ठामा करोडौंको आस
चिठ्ठा परेपछि भयो पुल मुनिको बास
नेपालमा जन्मेर कडा मेहनत गरी डाक्टर हनुभएका हाल अमेरिकामा रहेका अमर कार्कीले नेपाली समाजलाई साहित्यको माध्यमवाट दिनुभएको योगदान महत्वपुर्ण छ । सं
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend