जन आकाश
मोहन कार्की ।
काठमाडौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले युवा वर्गमा बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत“युवा संग महालक्ष्मी लाईफ“ सम्बन्धी बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम संचालन गर्ने भएको छ ।
कम्पनीको संचालक समितिको मिति २०७८ भाद्र २५ गतेको निर्णय बमोजिम आश्विन महिनाबाट देश व्यापी बीमा जागरण कार्यक्रम संचालन गर्न लागिएको कम्पनीले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । दुई वर्षे यस अभियानमा आ.व. २०७८÷७९ भित्र २५ वटा जिल्ला र आ.व. २०७९÷८० मा बाँकी जिल्लामा कार्यक्रम संचालन गरिने लक्ष्य लिएको पनि जनाएको छ ।
उक्त कार्यक्रम अन्तर्गत १६ वर्ष माथिका प्लस टु अध्यन गर्ने विद्यालय र कलेजका युवाहरुलाई लक्षित गरी रोजगारका विभिन्न क्षेत्रहरुको जानकारीको साथै बीमाको बारेमा तालिम प्रदान गरिनेछ ।“ काम गरि आय आर्जन गर – बीमा गरी सुरक्षित बन“ भन्ने मुल विषय वस्तुमा कम्पनीका वरिष्ठ अधिकृत, अनुभवि र सफल अभिकर्ता तथा विज्ञ व्यक्तिहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको उल्लेख छ ।
प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा देश भरिका कम्पनीका बरिष्ठ अधिकृत तथा अगुवा अभिकर्ता सम्मिलित बीमा जागरण राष्ट्रिय अभियान केन्द्रिय समिति गठन गर्ने र जिल्ला जिल्लामा प्रभावकारी रुपमा बीमा जागरण कार्यक्रम संचालन गर्न कम्पनीको जिल्ला स्थित वरिष्ठ अधिकृतको संयोजकत्वमा जिल्ला समिति गठन गरिने छ ।
प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनका अधिकृतहरुले कार्यक्रमको निर्धारण, संचालन र अनुगमन गर्नेछन । यही आश्विन पहिलो हप्ता धुलिखेलमा आयोजना हुने अभिकर्ता र अधिकृतहरुको भेलाले बीमा जागरण राष्ट्रिय अभियान केन्द्रिय समितिको गठन र नामावलीको घोषणा गर्ने कार्यक्रम रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्तक्षर गरेको बिज्ञप्ति मार्फत जानकारी दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend