जन आकाश
भामरकोट कोट देवी स्थानः को वारेमा महत्वपुर्ण जानकारी
बागमती अंचल, काभ्रे पलान्चोक जिल्ला, साविक भमरकोट गाँउ विकास समिति वार्ड नम्बर ६, पछि पाँचखाल गाउँ विकास समिति वार्ड नम्बर १ हुँदै अहिले पाँचखाल नगर पालिका वार्ड नम्बर ५ भमरकोटमा अबस्थित यो भमरकोट देवी स्थान ऐतिहासिक तथा पौराणिक देवी स्थान हो । परापुर्व कालमा पृथ्वी नारायण शाहले नेपालको एकिकरण गर्नु पहिलेका बाइसे, चौबिसे राज्यहरुको समयमा नै यी भमरकोट देवीको स्थापना भएको भन्ने किम्बदन्तीहरु पाईन्छ । बिक्रम सम्बत १८२० मा पृथ्वी नारायण शाहले नाल्दुममा आक्रमण गरि बिजय गर्दै अगाडि बढ्ने क्रममा नाला, बनेपा, पनौती, धुलिखेल, काभ्रे, भमरकोट, अनेकोट, पलान्चोक आदि स्थानमा रहेका स(साना राज्यहरुको बिजय गर्दै सिन्धुपाल्चोक र दोलखा तिर अगाडि बढेको कुरा इतिहासले बताउछ । त्यती बेलाका राजा रजौटाहरूले आफ्नो दरबार अर्थात् निवास स्थान पहाडको उच्च ठाउँमा बनाउने प्रचलन रहेछ । सायद पहाडको डाँडाबाट आफ्नो राज्य र रैतिहरुको रेखदेख गर्न सजिलो पर्ने र सुरक्षित स्थान भएको हुँदा यो विधि अपनायिएको हुनसक्छ । आफ्नो निवास नजिकै देवी देउताको स्थापना गर्ने क्रममा भमरकोट राज्यका राजाले भमणकोट देवीको स्थापना गरेको र यहीँ कोतको पनि निर्माण गरि राज्यको ढुकुटी तथा हातहतियार र अन्य खर खजानाहरुको भण्डारण गर्ने स्थानको निर्माण गरि, हरेक वर्षको दशैंमा दुर्गा स्थापना गर्दै, नौ दिन सम्म नव दुर्गा पूजा गरेर मौलोको स्थापना गरी नवौ दिनमा मौलोमा राँगोको बलि दिने प्रचलन चली आयकोमा अहिले सम्म पनि स्थानीय बासीहरुले उक्त परम्परालाई कायमै राख्दै नव दुर्गा पूजा र मौलोको पूजा गर्दै आयका छन् ।

यो भमरकोट देवी स्थान काभ्रे पलान्चोक जिल्ला सदरमुकाम धुलिखेल बाट पुर्ब तर्फ ६ किलोमिटर दूरीमा पहाडको डाँडामा अबस्थित छ । भमरकोट देवी स्थान रहेको डाँडाबाट नेपालको उत्तर खण्डमा रहेका युगल हिमाल शृंखला लगायत गौरीशंकर हिम शृंखला राम्रोसँग देख्न सकिन्छ । काभ्रे पलान्चोक जिल्लाको पाँचखाल, पलान्चोक, बोहोरे, मण्डन, काभ्रे, फूलबारी, दाप्चा, धुलिखेल, रबि ओंपी, अनेकोट, देउपुर, फटकशिला आदि ठाउँहरुको सजिलैसँग दृश्याबलोकन गर्न सकिन्छ भने सिन्धुपाल्चोक जिल्लाको हेलम्बु क्षेत्रका पहाडहरु, चौतारा, खरीढुंगा तथा कोशी पारिका पहाडहरु मात्र नभएर दोलखा जिल्लामा अबस्थित कालिन्चोक माइ भगवतीको डाँडा र चिसापानी तथा जिरीका डाँडाहरुको सहजै अनुमान लगाउन सकिनुका साथै दोलखा तथा रामेछाप जिल्लाको सिमानामा रहेको सैलुंग (सैथुम) पहाडहरु पनि राम्रोसंग देख्न सकिन्छ । यस हिसाबले हेर्दा भमरकोट देवी स्थान रहेको यो ठाउँ प्राकृतिक हिसाबले अति रमणीय र सुन्दर स्थानमा अबस्थित छ ।
भमरकोट र आसपासका गाउँहरुमा बिभिन्न जात जातिका फुलहरु फुल्ने गर्दछन् । सयपत्री, मखमली लगायत नेपालमा अति दुर्लभ मानिने पारिजात र जयन्ती जस्ता फुलहरु पनि एस छेत्रमा पाईन्छ । यसैगरी मकै, गहुँ, कोदो, फापर र अन्य धेरै अन्न बालीहरु पनि यहाँ उत्पादन हुने गर्दछन् । समुन्द्र सतह देखि करीब ४००० फीट् उचाइमा रहेको यो स्थान प्राय हरियालिमय हुँदै रम्दछ । विविध तरकारी बालि लगायत रायो, तिल र तोरी जस्ता तेलहन बालीको उत्पादन हुने हुँदा यहाँ फुलहरुका रस् चुस्दै उड्ने भमराहरु र मौरीहरु प्रसस्तै पाईन्छन् । पृथ्वी नारायण शाहका लडाकुहरु भ्रमणकोट देवीको दर्सन गरि पुर्ब तिरको बिजय यात्रा गर्दा यी भमराहरुले उनीहरुलाई लोब्भ्यायका थिय रे, यिनै लडाकुहरुले यो ठाउँलाई धेरै भमराहरु हुने स्थान भ्रमरकोट भन्दै हिड्ने गरेको हुदा पछिल्लो समयमा मानिसहरुले एस ठाउँको नाम नै भमरकोट भन्ने गरेको कथा पनि मैले बुढा पाकाहरु बाट सुनेको छु ।
परापूर्व कालमा निर्माण भएको मन्दिर तथा सत्तलहरू र अन्य भवनहरु इतिहासका बिभिन्न काल खण्डमा नासिदै गयको पाईन्छ । पृथ्वी नारायण शाहको नेपालको एकिकरणको यात्रा पश्चात यहाँका राजा रजौटाहरूले आ(आफ्नो स्थान छोडी अनेत्रै भागी सारेको हुदा यहाँ निर्माण भएका मन्दिर र भबनहरुको संरक्षण अभावका कारण समय समयमा आयका भूकम्पहरु र अन्य प्राकिर्तिक कारणहरुले गर्दा यस ठाउँमा केही खण्डहर तथा मन्दिर रहेको स्थानमा भाग्नाबसेस मात्र रहेको भयता पनि त्यस स्थानमा रहेका केही पौराणिक शिला तथा ढुङ्गाहरुमा स्थानीय बासिन्दाहरुले पूजा अर्चना गर्दै दशैंको नव दुर्गा पूजा र मौलोको बालीको पूजा संचालन गर्दै आयका छन् । यस भमरकोट देवी स्थानको वरपर अन्य देवी देवताका मन्दिरहरु पनि छन् । बितलबमा गणेश स्थान छ । यसैगरी माझकोटमा पनि गणेश र माथि डाँडामा अर्को देवीको मन्दिर छ । यिनै भमरकोट देवी स्थानको काखमा बिक्रम सम्बत २००८ सालमा बितलब र माझकोटमा रहेका गणेश भगवानको नामबाट श्री गणेश प्रार्थमिक बिधालय देशले प्रजातन्त्र प्राप्त गरेको एक बर्ष भित्रमा स्थापना भयकोमा हाल श्री गणेश माध्यमिक बिधालयमा परिणत भईसकेको छ । एस बिदध्यालयको स्थापना देखि नै सरस्वोती पूजा अर्थात् श्री पंचमीका दिन सरस्वतीको पूजा सम्पुर्ण बिद्द्यार्थी तथा शिक्षकहरुले यसै भमरकोट देवी स्थानमा संचालन गर्दै आयका छन् । म यसै विद्यालयमा २०२३ साल देखि अध्ययन गरेको विधार्थी भयको हुँदा मैले भमरकोट देवी स्थानमा हरेक बर्षको सरस्वतीको पूजा र दशैंको दुर्गा पूजामा सहभागी भयको छु । त्यस समय सम्ममा गाउँघरमा हुने कार्यक्रमहरुमा गाउँका कटुवालमार्फत ढोल पिटाउदै अल्से ढुंगाबाट सूचना जारी गर्ने गरेको मैले प्रत्यक्ष देखेको र सुनेको छु ।
भमरकोट देवी मन्दिरमा सरस्वती पूजाको दिन स्कूलबाट पूजा गर्न जाँदा यो भाग्नाबसेसको पहाड देख्दा मलाई नरमाइलो लाग्थ्यो । आफु सक्षम भयपछि एस ठाउँमा एउटा मन्दिरको निर्माण गर्ने अठोट मैले तेती बेला गरे अनुसार २०५८ सालमा मेरो भाई अर्जुन अधिकारी र स्थानीय गाउँलेहरुको सहयोग र सक्रियतामा भमरकोट मन्दिरको निर्माण भयको थियो । उक्त मन्दिर २०७२ सालको माहा भूकम्पले पूर्ण छेती भयको थियो । । यस भमरकोट देवीको दर्सन गर्दा र पूजा अर्चना गर्दा धेरै प्रकारको लाभ र संकट बाट मुक्ति मिल्ने कुराको जन बिश्वास छ । यसको साथै यी भमरकोट देवीलाई धेरै नामहरुले पुकारेको र आराधना गरेको पाईन्छ । ती नाम र यिनको प्रभावका बारेमा म तिन ओटा नाम र प्रभावको मात्र यहाँ बर्णन गर्न चाहन्छु ।

देवीका नामहरु र यिनका प्रभावहरु ।
१ भ्रमणकोट देवी, कुनै पनि लामो यात्रा पुर्ब यस भ्रमणकोट देवीको दर्सन र पूजा आराधनाबाट आफ्नो भ्रमण सफल हुने र यात्रा सुखद र फलदायी हुने जन बिश्वासहरु पौराणिक काल देखि नै चल्दै आयकाछन ।
२ भुमरीकोट देवी, यी देवीको पूजा अर्चना, आराधना तथा दर्सन बाट टाउकोमा भुमरी भयका मानिसहरुको ग्रह दसा नास हुने बिश्वास गरिन्छर हाम्रो समाजमा टाउकोमा भुमरी भयका मानिसहरुलाई मुल्याह, रिसाहा, असती आदि त्यादी किसिमले हेर्ने गरिन्छ । यस्ता भुमरी भयका मानिसहरुले यी भुमरीकोट देवीको दर्शन तथा पूजा अर्चना गर्दा उनीहरुको सम्पुर्ण ग्रहदशा ठिक हुने, रिसलाई सन्त गर्ने सक्ति पैदा हुने र परिवारमा धन जनको क्षति तथा खति नहुने कुरा बिश्वास गरिन्छ ।
३ भ्रामरी देवी, भ्रामरी देवीको दर्सन तथा पूजा अर्चना र ध्यान गर्दा मनमा भ्रान्ति नहुने, बिभिन्न किसिमको मनोरोगबाट मुक्त हुने र मन स्थिर नभई चंचलता भएका मानिसहरुको मनमा शान्ति पैदा हुने, धेरै तिर मन नडुल्ने आदि कुरामा बिश्वास गरिन्छ ।
यिनै बिश्वास र परम्परामा अबस्थित यी पौराणिक तथा ऐतिहासिक भमरकोट देवीको सम्बर्द्धन र संरक्षण गर्नुपर्ने हामी सबैको कर्तव्य हो भन्ने चाहनाका साथ मैले नेपाल सरकारको ध्यान आकर्षण गराऊदा, नेपाल सरकारको पुरातत्व विभागले यो स्थान पौराणिक र ऐतिहासिक स्थान हो भन्ने निश्चित गर्दै भमरकोट देवी मन्दिर निर्माण तथा संरक्षण गर्न केही रकमको विनियोजन गरेको थियो । यो सरकारी अनुदानको स्थानीय जनताले स्वागत गर्दै, नेपाल सरकारलाई धन्यवाद दियका छन्र । सरकारको सानु सहयोगले मात्र यो स्थानमा भमरकोट देवीको मन्दिर बन्न सम्भब थिएन । हामी देशवासी, जिल्लाबासी तथा स्थानीय जनताहरुको सहयोग र सद्भावना बिना यो मन्दिर पुनः भाग्नाबसेसमा मात्र सीमित हुने कुरा निश्चित थियो । यो देवी स्थानको पुनर्निर्माण गर्न स्थानीय जनताको सहभागितामा एउटा भमरकोट देवी मन्दिर पुनर्निर्माण समिति गठन भयको थियो । उक्त निर्माण समितिले २०७५ साल माघ २० गते करिब १५ लाख रुपैयाँको लागतमा मन्दिर निर्माण कार्य सम्पन्न गरि कोट देवीको ठूलो मुर्ति प्रतिस्थापन गरि पुजाआजाको विधिवत सुरुवात गरेको छ ।
भमरकोट सम्भावित पर्यटकीय स्थल भएको कुरा मैले अघि नै उल्लेख गरेको छु । अहिले आएर पाँचखाल नगरपालिकाको विशेष सकृयतामा सतीमारा ( केराघारी ) देखि भमरकोट कोट देवी स्थानको थुम्का सम्म पुग्न ७५० वटा सिढी निर्माण भै सकेका छन । यी सिढीहरूको निर्माणले यो पर्यटकीय स्थलमा सुगन्ध थपेको छ । राजधानीबाट मात्र ३५ किलोमिटर अर्थात ४५ मिनेटको यात्रामा पुग्न सकिने यो तीर्थ स्थल राजधानी र नजिकका भक्तजनहरूको लागि नजिकैको रमणीय पर्यटकीय गन्तव्य स्थल बन्न सक्छ । आउनुहोस् आन्तरिक पर्यटनको विकासमा सहयोग पुर्याउँ । भमरकोटमा यहाँहरूको हार्दिक स्वागत छ ।
दुर्गा अधिकारी, भमरकोटे ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend