logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कविता, निरोज कु. थापा-तिमी र तिमी


  • जन आकाश
  • सोमबार, कार्तिक १ २०७८

तिमी र तिमी



तिमी र तिमीमा भिन्नता छ
तिमी क्रान्तिमा, तिमी शान्तिमा
हिजो प्रेमको शान्त उल्लास
आज प्रेमको आक्रान्त अत्यास
त्यसैले
हिजोकी तिमी र आजकी तिमीमा फरक छ ।

हरघडी, हरपल र हर समयमा
तिम्रा कोकिल कण्ठको
मधुर बान्की श्रवण गर्ने यी कर्ण
आज बहिरा भएका छन्
तिम्रो सुन्दर अधरमा चुम्बन गर्ने यी ओठ
आज कलेटी परेर पट्पट् फुटेका छन्
तिम्रो चम्किलो मुहारको दृश्यापान गर्ने यी नयन
आज अन्धा भएका छन्
किनकी,
हिजोकी तिमी र आजकी तिमीमा फरक छ ।

माथबाट ललाटको समिपमा झर्ने तिम्रा केशराशी
आज कस्ता छन् कुन्नि ?
तिम्रा ती मृगनयनी आँखाहरुले
आज कसलाई खोज्छन् कुन्नि ?
मध्यरातमा ऐठन परेर झस्किँदा
झट्ट सम्झिने नाम के होला कुन्नि ?
यी सवालहरुका जवाफ तिमीले दिन्नौ
किनकी,
हिजोकी तिमी र आजकी तिमीमा फरक छ ।

प्रेम पनि एउटा क्रान्ति रहेछ
भोको पेटले क्रान्ति गर्न नसक्ने रहेछ
फलस्वरुप,
म यो क्रान्तिमा पराजय भोगेको योद्धा बन्न विवश भएँ
तिमी आफ्नै सहकर्मीलाई पराजयको कित्तामा उभ्याएर
आफू विजयको माला पहिरिँदै
सानदार उत्सव मनाउने धोकेबाज सिपाही ठहरियौ ।
किनकी,
तिमी, अब तिमी रहेनौ ।

(एन.के. थापा, रामेछाप)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend