जन आकाश
काठमाडौ । नेपाली कांग्रेसले आज विभिन्न जिल्लामा बाँकी रहेका प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्ने भएको छ। वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सकेका ठाउँमा आज प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुन लागेको हो।
यो अधिवेशनबाट प्रतिनिधि सभा क्षेत्रमा क्षेत्रीय सभापतिसहित कार्यसमिति र सदस्यहरू चुनिनेछन् भने अधिवेशनबाट केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि पनि चयन हुनेछन्।
कांग्रेसमा एक प्रतिनिधि सभा क्षेत्रबाट २६ जना महाधिवेशन प्रतिनिधि केन्द्रमा आउँछन्। तिनै महाधिवेशन प्रतिनिधि मध्येबाट कांग्रेस पदाधिकारीदेखि केन्द्रीय सदस्य हुन्छन्। बहालवाला केन्द्रीय सदस्य तथा पदाधिकारी भने महाधिवेशनबाट आइराख्नुपर्दैन स्वत महाधिवेशन प्रतिनिधि हुन्छन् भने वैकल्पिक केन्द्रीय सदस्य भने महाधिवेशन प्रतिनिधि चुनिएरै आउनुपर्ने हुन्छ।
कांग्रेसले यसअघि १४ जिल्लामा जिल्ला अधिवेशन गरिसकेको छ। यी जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन भई कार्यसमिति र प्रतिनिधि पनि चुनिइसकेका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिकाअनुसार आज ६० जिल्लाका १४८ प्रतिनिधि सभा क्षेत्रमा अधिवेशन हुन गइरहेको छ। काठमाडौंका १० प्रतिनिधि सभा क्षेत्रसहित देशका विभिन्न जिल्लाका प्रतिनिधि सभा क्षेत्रमा आज कांग्रेसको अधिवेशन हुदै छ ।
कांग्रेसले मंसिर १० मा जिल्ला अधिवेशन र मंसिर १६ र १७ मा प्रदेश अधिवेशन गर्दै मंसिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ।
तर, सर्लाही, सिन्धुपाल्चोक र रसुवामा भने सोमबार अधिवेशन नहुने भएको छ। तीन वटै जिल्लामा वडा र गाउँपालिका तहमा विवाद कायमै छ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले विवादित जिल्लाबाहेक अन्य ठाउँमा सोमबार प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुने जनाएको छ।
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधि सभा क्षेत्रीय सम्मेलन गठन गर्ने प्रयोजनका लागि कांग्रेसले प्रतनिधि सभा सदस्य निर्वाचन क्षेत्रलाई प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय सम्मेलनको क्षेत्र मानेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend