जन आकाश
आखिर ‘बिडारी’ खलक को हुन् ?
शन्तराम बिडारी
२८ पानाको बिडारीहरुको वंशावली, जुन मकवानपुर स्थित टिस्टुङ शिखरखेलका बिडारीहरुसंग छ त्याहाँ उल्लेख भए अनुसार उनीहरु भट्ट हुन् । पछि अछामका राजा त्रिभुवन शाहीले ‘लडाँइमा शत्रुलाई बहादुरीपुर्वक विनाआडै परास्त गरेपछि’ बिनाडी उपाधी दिए । उक्त उपाधि पाइसकेपछि सबैले नामको पछाडि बिनाडी लेख्दा–लेख्दै कालान्तारमा त्यो शव्द अप्रभंष भएर ‘बिडारी’ भन्न थालिएको देखिन्छ ।
कुल पुजा गर्ने विधि, पुर्खाको उत्पति र फैलाावटको अवस्था समेत उल्लेखित उक्त वंशावलीका अनुसार आदिस्थल कन्हौज, त्यसपछि अन्य विभिन्न स्थानमा बस्दै– छोड्दै काशी –वनारश र त्यसपछि गाजिपुर आएको उल्लेख छ ।
उनीहरुको वंशको प्रथमपुरुष श्री ३ राजाराम भट्ट हुन् । उनको २१ औं पुस्ताका सहदेव भट्ट हरिद्धार छाडी डोटी आइ बसेको उल्लेख छ । पछि डोटी पनि छाडेर अछाम आइ बसेको उल्लेख गरिएको छ । अछामका राजा कृष्ण शाहीले उनलाई काजीको जिम्मेवारी प्रदान गरेको र त्यहाँदेखि उनी ब्रम्हकर्म छाडी क्षेत्रीका धर्म–कर्म अंगाली ‘काजी’को जिम्मेवारी लिइबसेको उल्लेख छ । उनको नवौं पुस्ताका सन्तती काजी नन्दलाल भट्टका पालामा अछाममा त्रिभुवन शाही राजा थिए ।
उसबेला वैरीले डोटीदेखि अछामका राजासंग लडाँइ गरी राज्य गाभ्ने भनी आएको अवस्था थियो । चारैतिरबाट शत्रुले घेरेपछि हतारमा राज्य जोगाउन ३ तर्फबाट आड लगाएर किल्ला तयार गरियो । तर एकातिर कुनै आड लगाउन भ्याइएन । काजि हर्ष पन्तले अछामी राजासंग युद्ध गर्नका निम्ति सबै तयारी गरिसके यता अछामी राजाका तर्फबाट जुनसुकै काजीलाई अहए पनि ‘आड छैन, लडाँइ बिग्रन जाला’ भनेर अघि सर्न कोही कसैले आँट नगर्दा ‘काजि नन्दलालले सबै भारदारसंग सल्लाह गरी राजा त्रिभुवन शाहीका हजुरमा ‘पत्याई बक्सन्छ भने हामी अघि सरी लड्न तयार छौं भनी जाहेरी गराएको’ उल्लेख छ ।
राजाको अनुमति आएपछि आड नबाध्याको पट्टी ५ सय सिपाही लिइ विदा भै गएका नन्दलाल कैलाश गंगाका तिरमा पुग्दा फौज डोटी देखि आई बाटुलो गरी गंगाका तिरमा थाना हाली बसेका रहेछन् । त्यसै बखत नन्दलाल भट्ट र हर्ष पन्तको महायुद्ध लडाँइ भयो । लडाँइ हुँदा ‘डोट्यालका यावत लस्करको गर्धन गिराई काजी हर्ष पन्तलाई समेत त्यहीँ मारीदिएछन् । अछामी राजाको विजय भएपछि डोटीतिरका बाँकी फौजलाई तितरवितर पारिदिएछन् ।
त्यसपछि काजी नन्दलाल भट्टले अछामी राजाको ‘जय’ मनाई डोटीसेती गंगाजीको साँध लगाई अछाममा आई राजा, काजी र भारदार भै हर्ष बढाँई र विजयोत्सव मनाएछन् । त्यसअवसरमा राजा त्रिभुवन शाही खुसी भै काजी नन्दलाल भट्टलाई ‘विनाआडै जितेर सेती गंगाको साँध लगाउन सफल–बहादुर भएकाले अब यिनको थर पनि विनाआडी भयो’ भनी तिन फेर पिठ्युँमा आफ्नो बाहुलीबाट श्यावासीको धाप मारी शिरपाउ पहि¥याई दिएछन् ।
त्यतीमात्र होइन सिन्दुर जात्रा गदै ‘विनाडी– विनाडी’ भन्दै दरबारदेखि घरसम्म पु¥याउन पठाएछन् । यिनै नन्दलाल काजीका छोरा वैजनाथले ‘काजी वैजनाथ विनाडी’ लेख्न थालेछन् । वैजनाथका छोरा कर्णानन्द बिनाडीको राजासंग मत नमिलेपछि दाङ–सल्यान आइ बसेछन् । सल्यानीसंग पनि कुरा नमिलेपछि खाँचीमा आइ बसेछन् । त्यहाँका राजा किर्ति शेनले पनि कर्णनन्दलाई काजी तुल्याएछन् । त्यहाँका भारदारहरुले खेल गर्दा कर्णानन्द कास्की आएछन् ।
कास्कीका राजा जगत खाँणले मलामी विर्ता दिन्छु भन्दा साहेव जलाल शाहीले मानेनन् । त्यसपछि कास्की पनि छाडी नेपाल(काठमाडौं) आए । त्यहाँ आएर गाबहाल पाटन शहरमा बसेछन् । पाटनका काजी काशिनन्द प्रधान र कृष्णनन्द प्रधानसंग आफ्ना सबै व्यहोरा र विवरण सुनाँउदै राजा श्रीनिवाश मल्लको हजुरमा जाहेर हुँदा राजाले ‘तिमी राम्रोसंग बस, तिम्रो उद्धार र प्रतिपालना हामी गछौं’भनेर आश्वासन प्राप्त भएछ ।
त्यसपछि राजाकै पहलमा मकवानपुरका आचार्य ब्राम्हणका छोरीसंग मागी विवाह र भाष्कर नाम गरेका ज्योतिषीका छोरी सरस्वतीलाई पछि भागी विवाह भएछ । त्यसपछि गोदावरीमा विर्ता पाई घर बनाएर बसेको देखिन्छ । यिनको ब्राम्हणी पट्टीका २ भाइ र जैस्यानी पट्टीमा २ भाइ गरी ४ भाइ छोरा रहेको उल्लेख छ । जेठा जोगाराम जोशी विनाडी , माइला दुर्गादाश जोशी विनाडी, साँहिला मोतिकृष्ण उपाध्याय विनाडी र कान्छा बसन्त उपाध्याय विनाडी रहेको देखिन्छ ।
त्यसमध्ये जेठा र माइला धादिङ केवलपुर विर्तामा बसेका तथा साँहिला रानीबारी विर्तामा र कान्छा बसन्त उपाध्याय विनाडी टिस्टुङ विर्तामा बसेको उल्लेख छ । उक्त विर्ता पाटनका राजा श्रीनिवाश मल्लबाट नै दिइएको उल्लेख छ । कर्णानन्द बिनाडीका कान्छा छोरा बसन्त बिनाडीको टिस्टुङतिर बसेको हाँगोबाट उनका छोरा विसनदेव विनाडी, उनका २ भाई छोरा प्रजापति विनाडी र श्रीनन्द विनाडी, प्रजापति विनाडीका २ भाई छोरा नारद विनाडी र मार्केण्डय विनाडी, नारद विनाडीका छोरा परमानन्द विनाडी र परमानन्द विनाडीका छोरा जयनारायण विनाडी रहेको उल्लेख छ । त्यस यताको कुन कुन पुस्ता को–को हो, यसलाई पुर्ण रुपमा अनुसन्धान गरी लिपिवद्ध गर्ने काममा पनि हामी सबै बिडारी बन्धुहरु लाग्नु आवश्यक छ ।
स्रोत शान्तराम बिडारिको वालवाट
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend