जन आकाश
काठमाडौं । नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष भदौ २४ गते भएको घटनालाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा ‘कालो दिन’का रूपमा स्थापित भएको बताएका छन्।
जेन–जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा बुधबार विज्ञप्ति जारी गर्दै प्रचण्डले भदौ २४ गते नेपाली जनताको आत्मनिर्णयको अधिकार, राष्ट्रिय स्वाधीनता तथा नेपाली इतिहासका गौरव र धरोहरमाथि विध्वंस भएको दाबी गरेका हुन्।
उनले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, भ्रष्टाचारको अन्त्य, सुशासन र अवसरमा समानताको मागसहित २०८२ भदौ २३ गते सुरु भएको जेन–जी आन्दोलन प्रारम्भमा अभिव्यक्ति स्वतन्त्रता, सुशासन, भ्रष्टाचारविरुद्धको खबरदारी र नयाँ पुस्ताको भविष्यप्रतिको चिन्ताबाट उत्पन्न भएको बताए।
प्रचण्डका अनुसार युवाको आवाजलाई संवेदनशील रूपमा लिएर सम्बोधन गर्नुको सट्टा राज्यले दमनको बाटो रोज्दा परिस्थिति थप जटिल बनेको थियो। त्यसपछि उत्पन्न परिस्थितिको फाइदा उठाउँदै नियोजित रूपमा परिचालित संदिग्ध तत्वहरूले आन्दोलनलाई ‘अपहरण’ गरेको उनको दाबी छ।
भदौ २४ गते सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, राष्ट्रिय अभिलेखालय, सरकारी तथा प्रहरी कार्यालय, राजनीतिक दलका कार्यालयलगायत सार्वजनिक तथा निजी सम्पत्तिमा लुटपाट, आगजनी र तोडफोड भएको उल्लेख गर्दै उनले उक्त दिनलाई प्रतिक्रान्तिकारी विध्वंसको दिनका रूपमा चित्रण गरेका छन्।
उनले आन्दोलन उग्र र हिंसात्मक बन्दै गएपछि वास्तविक जेन–जी अभियन्ताहरूले नै ‘घुसपैठ भयो’ र ‘घर फर्कौं’ भनेको तथ्य महत्वपूर्ण रहेको बताएका छन्।
प्रचण्डले युवाको जायज असन्तुष्टि र त्यसलाई हिंसा, लुटपाट तथा विध्वंसमा परिणत गर्ने नियोजित कार्यलाई एउटै विषयका रूपमा हेर्न नहुनेमा जोड दिएका छन्। उनका अनुसार यी दुई पक्षलाई एउटै दृष्टिले हेर्नु इतिहास र सत्य दुवैमाथि अन्याय हुनेछ।
‘भदौ २४ गते भएको घटनाको सत्य स्थापित गर्न निष्पक्ष, स्वतन्त्र र तथ्यमा आधारित छानबिन आवश्यक छ,’ उनले भनेका छन्।
आन्दोलनका क्रममा को दोषी थियो, आन्दोलनमाथि दमन किन र कसरी भयो, कसले आन्दोलन भड्कायो, हिंसा तथा लुटपाटमा को संलग्न थियो र त्यसबाट लाभ कसले उठायो भन्ने विषयमा सत्यतथ्य सार्वजनिक गर्नुपर्ने उनको माग छ। दोषी जोसुकै भए पनि कानुनको दायरामा ल्याउनुपर्ने उनले बताएका छन्।
प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि समेत लुटपाट, तोडफोड र आगजनी निरन्तर हुनु, संगठित समूहको परिचालन देखिनु तथा प्रज्वलनशील पदार्थको प्रयोगलगायतका घटनाले यस प्रकरणमा थप गम्भीर अनुसन्धान आवश्यक रहेको प्रचण्डको दाबी छ।
त्यसपछि भएका संसद् विघटन, गैरदलीय सरकार गठन, निर्वाचन घोषणा तथा राज्यका विभिन्न निर्णयले पनि घटनाको समग्र सत्य पत्ता लगाउन थप अनुसन्धान आवश्यक रहेको उनले बताएका छन्।
राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलनका क्रममा भएको दमन, हिंसा तथा तोडफोडबारे तयार पारेको प्रतिवेदनले समेत घटनामा संलग्न विभिन्न पक्षमाथि अनुसन्धान र कारबाहीको आवश्यकता औँल्याएको स्मरण गर्दै प्रचण्डले आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।
उनले जेन–जी आन्दोलनले उठाएका सवालहरू अझै सम्बोधन नभएको दाबीसमेत गरेका छन्। भ्रष्टाचार अन्त्य, सुशासन, रोजगारी र अवसरको विस्तार तथा राज्यलाई जनताप्रति उत्तरदायी बनाउने अपेक्षा पूरा हुन नसक्दा नागरिकमा पुनः निराशा बढेको उनको भनाइ छ।
महँगी बढेको, अर्थतन्त्र शिथिल बनेको, व्यवसायी निराश रहेको, रोजगारीका अवसर पर्याप्त नभएको, विदेशिने युवाको संख्या बढिरहेको, सार्वजनिक ऋण बढ्दै गएको तथा जनतामाथि करको बोझ थपिएको उनले उल्लेख गरेका छन्।
विपद्का समयमा समेत नागरिकले समयमै उद्धार, राहत तथा पुनःस्थापना पाउन नसक्ने अवस्था देखिएको भन्दै उनले सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका छन्।
प्रचण्डले नयाँ सरकारले संविधान संशोधनका नाममा संविधानका मूलभूत संरचनामै व्यापक फेरबदल गर्ने प्रस्ताव अघि बढाएको आरोप लगाउँदै संविधानको मूल आत्मा र नेपाली जनताको लामो संघर्षबाट प्राप्त उपलब्धि समाप्त गर्ने माध्यमका रूपमा संविधान संशोधनलाई प्रयोग गर्न नहुने बताएका छन्।
संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता, सामाजिक न्याय, मौलिक हक, नागरिक स्वतन्त्रता र जनताको सार्वभौमसत्ता नेपाली जनताको संघर्ष र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै उनले यी उपलब्धि कमजोर पार्ने कुनै पनि प्रयासको प्रतिवाद गर्ने बताएका छन्।
प्रचण्डले जेन–जी आन्दोलनले युवाको आवाज दबाएर होइन, सुनेर र सम्बोधन गरेर मात्र लोकतन्त्र बलियो हुने सन्देश दिएको बताएका छन्।
‘लोकतन्त्रका कमजोरीको उपचार लोकतन्त्र समाप्त गर्नु होइन, लोकतन्त्रलाई अझ उत्तरदायी, पारदर्शी, जनमुखी र परिणाममुखी बनाउनु हो,’ उनले भनेका छन्। यसलाई आफूहरूले ‘लोकतन्त्रको सर्भिसिङ’ भन्दै आएको उनको भनाइ छ।
उनले भदौ २४ गतेलाई केवल विगत सम्झने दिनका रूपमा नभई राज्यलाई प्रश्न गर्ने, सत्य खोज्ने र भविष्यको बाटो तय गर्ने दिनका रूपमा लिनुपर्ने बताएका छन्।
साथै, विगतका अभ्यास र अनुभवबाट शिक्षा लिँदै पार्टी शुद्धीकरण, संगठनात्मक पुनर्निर्माण तथा राजनीतिक रूपान्तरणको प्रक्रियालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै प्रचण्डले संविधान, शान्ति र लोकतन्त्र पक्षधर राजनीतिक शक्ति, युवा पुस्ता, नागरिक समाज तथा आम नेपाली जनतालाई एकताबद्ध हुन अपिल गरेका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend