जन आकाश
काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा जारी वृहत जुत्ता चप्पल मेलामा जुत्ता चप्पल खरिद गर्नेहरुको भिड बढ्दै गएको छ । मेलामा हजारभन्दा मोडलका जुत्ता चप्पल ३० देखि ७० प्रतिशतसम्म छुटमा किन्न पाइने भएकाले सर्वसाधारणको भिड बढेको हो ।
मेलाका संयोजक रामहरि तोलाङगेका अनुसार मेलामा धेरै ग्राहक आउने र व्यापार पनि धेरै हुने भएकाले थोरै मात्रै नाफा खाएर बिक्री गर्न व्यवसायीहरू सहमत भएकाले जुत्ताचप्पल सस्तोमा उपलब्ध गराउन सकिएको हो । “व्यापार धेरै भएपछि छुट पनि धेरै दिन सकिने भएकाले हामीले ३० देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरेका हौँ,” संयोजक तोलाङ्गले बताए ।
मेलामा झण्डै एक दर्जन जुत्ता चप्पल उद्योगहरूको उत्पादन राखिएको शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईँले जानकारी दिएका थिए । आफूहरूले विगतमा आयोजना गरेका यस्तै मेलामा ग्राहकहरूको आकर्षण बढेकाले ग्राहककै माग अनुसार यस पटक पनि मेला आयोजना गरिएको उनको भनाई छ ।
मेलामा भेटिनु भएका ग्रहशहरुले नेपाली उद्योगले नै उत्पादन गरेको जुत्ता चप्पल पनि अहिले विदेशी जुत्ता चप्पलभन्दा राम्रा उत्पादन हुने गरेको कुरा आफूले विगतका मेलामा किनेका जुत्ता चप्पलको प्रयोगबाट महसुस गरेको बताएका थिए । उहाँले विगतका मेलामा किनेका जुत्ता चप्पलबाट सन्तुष्ट भएकाले अहिलेको मेलामा पनि जुत्ता चप्पल किन्न सपरिवार आएको जानकारी दिनुभयो । विदेशी जुत्ता चप्पल गुणस्तरभन्दा मूल्य बढी हुने गरेको अनुभव सुनाउँदै उनले भने, “नेपाली जुत्ता चप्पल गुणस्तर र टिकाउ अनुसार मूल्य पनि सस्तो छ ।”
“विदेशी भनेपछि जस्तोलाई पनि राम्रो मान्ने नेपालीहरूको मानसिकता छ, त्यो गलत र भ्रम पूर्ण हो, विदेशीहरूभन्दा नेपाली जुत्ता नै धेरै बलिया, राम्रा, आकर्षक र सस्तो पनि छन्,” मेलामा भेटिएकी अर्की ग्राहक एलिशा ज्ञवालीको भनाई छ ।
नेपाली उपभोक्ताले नेपाली उत्पादन नै प्रयोग गर्दै जाने हो भने नेपाली उद्योग फस्टाएर थप गुणस्तरीय जुत्ता चप्पल थप सस्तोमा पाइन सकिने भएकाले नेपाली जुत्ता चप्पल प्रयोग गर्न उनले सबैलाई आग्रह गरेका छन् ।
अन्यत्र २५ सय रुपैयाँ पर्ने जुत्तालाई मेलामा आफूले ७ सय रुपैयाँमा पाएकाले मेलालाई आफूले अवसरको रुपमा लिएको ज्ञवालीको भनाई छ । मेलामा निम्न आय भएकादेखि उच्च आय भएकासम्मका सबै प्रकारका ग्राहकहरूको भिड लागेको पाइएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend