जन आकाश
– महेश प्रसाईं
भाइ वहिनीहरु ! यसवेला नेपालमा पूर्ण लोकतान्त्रिक शासन प्रणाली स्थापित भइसकेको छ । सवै नेपालीले प्रेस स्वतन्त्रता र मानव अधिकार पूर्ण उपभोग गर्न पाइरहेका छौं । विभिन्न जात, धर्म, कला, संस्कृति, भाषा, भेषभूषा र धर्म परम्परा भएको हाम्रो देशमा अनेकौं राम्रा अवसर र संभावना तयार भएका छन् । नेपाल–हिमाल, पहाड र तराईको सुन्दर संगम भएको देश हो । धनी–गरीव, उँच–निच वा दलित–उत्पीडितहरुका वीच हुने भेदभावहरु समाप्त भइसकेका छन् ।
नेपाललाई अग्रभागी दिशातर्फ रुपान्तरण गर्न, समानता र न्यायपूर्ण समाजको विकास गर्न, राष्ट्रलाई एकताको सूत्रमा जोड्न, सवै क्षेत्रलाई उन्नति र समृद्धितर्फ डो¥याउन धेरै महान् व्यक्तिहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
ती मध्ये एकजना वयोवृद्ध साहित्यकार तथा राजनेता हुनहुन्छ – हर्ष स्याङ्वो । १०० वर्षको छेउछाउमा पुग्नु भएका हर्ष स्याङ्वोले थुप्रै कविताहरु लेख्नु भएको छ । कथा, निवन्ध, उपन्यास र इतिहास–संस्कृतिका कृतिहरु लेखनु भएको छ ।
जुनवेला नेपालमा लोकतन्त्र स्थापना भएको थिएन, त्यसवेला साहित्यिक, सांस्कृतिक, राजनीतिक स्वतन्त्रता र सामाजिक विकासको अभियानमा सक्रिय हुँदा उहाँले राजवन्दी भएर लामो समयसम्म जेलजीवन विताउनु परेको थियो । नेपालमा अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक स्वतन्त्रताका लागि आवाज उठाउँदा पंचायती शासकहरुवाट थुप्रै कष्ट–यातना भोग्नु परेको थियो ।
वीपी कोइराला, सुवर्ण शमशेर, गणेमानजी, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, निर्मल लामा, माधवकुमार नेपाल, कलावती सुव्वा, कमल चित्रकार, कमरेड लक्ष्मीभक्त, लोककृष्ण भट्टराई, श्यामप्रसाद, पारिजात र विनोद अश्रुमाली जस्ता विशिष्ट व्यक्तित्वहरुसित राम्रै उठवसको संगत गर्न पाउनु भएका श्री स्याङवोले पारिवारिक व्यवस्थापन गर्न ठेकेदारी व्यवसाय पनि गर्नु भयो । यो व्यवसायबाट आफ्नो आर्थिक अवस्था सुदृढ गर्दा गर्दे पनि पत्नी विद्याराणाको क्यान्सर रोग, लामो समयसम्म उपचारको क्रम र दुई छोरीहरुको शिक्षा दीक्षा र विवाह दान आदिका कारणले भए जति सम्पत्तिबाट रित्तिनु प¥यो ।

नेपालको वामपन्थी आन्दोलनमा पुष्पलालको छत्रछायामा रहेर उल्लेखनीय योगदान गर्नु भएका श्री स्याङ्वोले पटक पटक गोलघरमा बन्दी जीवन विताउनु परेको थियो । रिहा भएपछि भारतमा निर्वासन जीवन विताउनु परेका अनेक प्रसंगहरु छन् । यसवेला मनहरा सुकुम्वासी टोलमा दयनीय जीवनमा आइपुग्दा पनि उहाँले योगदान गरेका नेपाल कम्युनिष्ट पार्टी एमाले, राज्यपक्ष र लोकतन्त्रवादी नेताहरुको कुनै ध्यान पुग्न सकेको छैन ।
तथापि उहाँ स्वाभिमानलाई कायम गर्दै यो देशको राष्ट्रसेवक हुन पाएकोमा गर्व गर्नुहुन्छ । वृद्धावस्था र रोगशैयामा रहनु भएका हर्ष स्याङ्वोले आफ्नो वाल्यकाललाई यसप्रकार स्मरण गर्नुहुन्छ ः मेरा वाजे वज्यै सिन्धुपाल्चोकको वेथानबाट दार्जिलिङको दिलाराम वस्तिमा झर्नु भएको थियो । मेरा वावु दावा छिरिङ स्याङवो र मेरी आमा डोल्मा लामालाई लिएर दार्जिलिङ झर्नु भएका वाजेले पारिवारिक लालन पालनको व्यवस्थापन त्यही वस्तिमा गर्नु थाल्नु भयो । दार्जिलिङ (भारत) मा अङ्ग्रेजको समय थियो । मेरा वावु मिसिनरीमा काम गर्नु हुन्थ्यो । मेरी आमा घर गृहस्थी चलाउनु हुन्थ्यो ।
म आज भन्दा ९६ वर्ष अघि दिलाराम वस्तीमा जन्मेको हुँ । त्यसवेला जन्म मिति लेख्ने लेखाउने चलन नभएर होला जन्मेको साल मात्र सुनेका अधारमा यो (९६ वर्ष) को उमेरको कुरा गरेको हुँ ।
मेरा माता पिताका ५ भाइ छोरा र तीन दिदी वहिनी छोरी सहित आठ सन्तान भएका हुन् । म जेठो सन्तान हुँ । वस्तीको जीवन कठिन हुन्छ । अभाव, गरीवि आदिका कारण राम्रो स्कूलमा पढ्न सकिएन ।
वस्तिका अस्थायी टहरामा बनेका स्कूलबाट मेरो प्रारम्भिक शिक्षा शुरु भयो । अँगारले पाटीमा लेखेर शुरु भएको शिक्षा अंग्रेज मिसिनरीले संचालन गरेको सेण्ट पल कलेजमा पुगेर अघि बढ्यो ।
चारैतिबाट हिमश्ृंखलाले घेरिएको वस्तिमा हाम्रो सानो घर थियो । हाम्रो क्षेत्रमा चिया कमान वाक्लिंदै थियो । चियाका वोट र पर्वतीय शृंखलाहरुलाई ताकेर म गंभीर हुन पुग्थें । म सानै देखि ‘सिरियस’ थिएँ । म मा चंचलता थिएन । म पाए सम्म पत्र पत्रिका किताव छिचोलेर पढ्थें । हाम्रो वस्तीमा विजुली पुगेको थिएन । सल्लो वालेर काम चलाइन्थ्यो ।
मिशनरीले प्रचार गरेको वाइविल आधोपान्त पढ्थें । मैले वाइविल पढेको भए पनि क्रिस्तान हुन सकिन । मलाई आफ्नै जाति, भाषा, धर्म र संस्कृतिमा गर्व थियो ।
म विशेष गरेर राजनीतिक र विज्ञान विषयका कितावहरु रुचिपूर्वक पढ्थें ।
मलाई खेलकूदमा फुटवल मात्र मन पथ्र्यो । वस्तीमा वरपर हुने ‘म्याच’ कुनै छोडिन । साथीहरुले मलाई अनिवार्य सरिक गराउँथे । एकपटक घरबाट भागेर सिलगढीमा फुटवल म्याच खेल्नपुगें । त्यसवेला यातायातको राम्रो सुविधा थिएन । केही दिन पछि भोकै प्यासै अनेक गरेर घर फर्किएँ । घरबाट नभनी हिडेको हुँदा कति दिनसम्म वावु र आमा बोलेनन् । भाइ वहिनीले चाहिं मलाई राम्रै गर्थे ।
म १६ वर्षको उमेर हुँदा तालमहल हेर्न जाने सुर चढ्यो । केही साथीहरुसित ताजमहल हेर्न गएँ । ताजमहलको सौन्दर्य हेरेर भावुक भएँ । कसो कसो आँशु झरेछन्, मेरा । साथीहरु छक्क परेका थिए ।
म विज्ञानवादी–वामपन्थी सोचको व्यक्ति राजा महराजाले यस्तो उट्पट्याङमा देखाएको भावुकताले मलाई नछुनु पथ्र्यो ।
तर कला र संवेदनाको अगाडि कसैको केहि लाग्दो रहेनछ ।
जे होस् म बनारस आइपुगेर साथीहरुसित छुट्टिएँ ।
म वनारसमा रोकिएपछि, मेरो जीवनको ‘टर्निङ प्वाइन्ट’ शुरु भयो । मेरो पुष्पलालजीसित भेट भयो । म पुष्पलालको प्रशिक्षणमा परें । नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्ने चर्चा हुँदै थियो ।
म वीचमा दार्जिलिङ फर्किएँ । एक दुई वर्ष पछि घरको व्यवहार मिलाएर पुष्पलालको सम्पर्कमा वनारस आएँ । नेपाल कम्युनिष्ट पार्टीको स्थापनाको तयारी गर्ने सिसिलामा म उहाँसित वनारस र गोरखपुृर आउ जाउ गरिरहन्थें ।
त्यहाँ संगठनको संरचना पूरा गर्न गोरखपुरमा सार्थीहरु खटिनु भएको थियो । वि.सं. २००६ मा कम्युनिष्ट पार्टीले स्थापना भइसकेपछि म पुष्पलालको निर्देशनमा पार्टीको पूर्णकालिन कार्यकर्ता भइसकेको थिएँ ।
पार्टी सदस्यता लिइसकेपछि गण्डकी अंचलको लागि कम गर्नु पथ्र्यो मैले । यो वि.सं. २००८ को घटना हो ।
प्रहरी र प्रशासनबाट लुकतै जोगिंदै धेरै कामहरु सम्पन्न गरियो । म दार्जिलिङमा जन्मिन पुगे पनि मलाई नेपालको माया थियो । नेपालमा शाहवँशीय राजाहरुको निरंकुशताबाट नेपाली जनतालाई मुक्ति प्रदान गर्न म सच्चा कम्युनिष्ट भएको थिएँ ।
म राजनीति सँग सँगै कविता, कथा, निवन्ध उपन्यास लेख्थें । मेरो साहित्यमा त्यतिकै रुचि थियो । वनारसवाट निस्कने ‘युवाणी’, दार्जिलिङबाट निस्कने ‘भारति’ र काठमाडौबाट निस्कने ‘शारदा’ मा मेरा लेख रचनाहरु छापिएका छन् । मेरो साहित्यिक व्यक्तित्वलाई राजनीतिले ढाक्न दिइँन ।
वि.सं. २००८ कै कुरा हो । काठमाडौ ठमेल निवासी त्रिपुर नरसिंह राणाको छोरा पि.एन. राणासित सम्पर्क भयो । उहाँ संभ्रान्त वावुका छोरा भए पनि हाम्रो कम्युनिष्ट पार्टीमा हुनुहुन्थ्यो । उहाँकी वहिनी विद्या राणासित चिनजान भयो । यो चिनाजानी प्रेममा परिणत भयो । त्यसपछि हामलिे भागेर विवाह ग¥यौं वुटवलमा ।
म भोटेको छोरा उनी सुखसयलमा हुर्केकी राणा खानदानकी छोरी । मागी विवाह संभव थिएन । म २५ वर्षको हुँदा मैले विद्या राणालाई पत्नीका रुपमा भित्र्याएको थिएँ ।
हामीलाई मार्ने प्रयास पनि भयो । तर हाम्रो प्रेम अमर थियो । प्रहरी दमन, भागदौड भारत निर्वासन र अनेक वाधा व्यवधानहरु सिता सामाना गर्दै हामी दुवैले पार्टी संगठनलाई मजवुत तुल्यायौं । सँगसँगै घरजम पनि ग¥यौं ।
आज भन्दा सोह्र वर्ष अघि क्यान्सरबाट उनको निधन भयो । मेले सवै सम्पत्ति सकेर पनि वचाउन सकिन । हाम्रा दुई छोरहिरु थिए । कान्छी पनि क्यान्सरले वितिसकिन् ।
मैले धर्मपुत्री बनाएकी कमलाको साथमा छु । मैले देशलाई केही गरे । अव अरुको पालो ।
एउटा स्मरणीय कुरा के छ भने राजनीति र साहित्यलाई अघि बढाउँदै गर्दा शैक्षिक डिग्री हासिल गर्ने कुरामा म पछि परिनँ । पार्टी कामको – सिलसिलमा म तात्कालिन मद्रास (हाल चेन्नई) मा रहँदा वीए अनर्स पनि सर्वोत्कृष्ट अंकमा उत्तीर्ण गरे । मेरो पढाइप्रतिको चाहना पूरा गरेकोमा सन्तोष पनि छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend