logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

हुम्ला नाका नखुल्दा नागरिकलाई सास्ती


  • जन आकाश
  • आइतबार, साउन २२ २०७९

 



 

हुम्ला । हुम्लासँग जोडिएको चीनको सीमानाका नखुल्दा त्यस क्षेत्रमा बसोवास गर्ने नेपालीहले सास्ती ब्यहोर्नु परेको छ । राष्ट्रिय राजमार्गसँग नजोडिएको र जिल्ला सदरमुकाम सिमकोट आवत जावत गर्न वर्षको ६ महिना मात्रै बाटो खुल्ने हुम्लामा चीन–नेपाल सीमानाका बन्द भएपछि दैनिक उपभोग्य वस्तुको जोहो गर्न समेत सकस हुन थालेको त्यहाका स्थानीयले बताएकमा छन्।

उत्तरी हुम्लाको नाम्खा गाउँपालिकाको लिमि, यारी, हिल्साका नागरिकका लागि नुनदेखि उनसम्मका दैनिक उपभोग्य सामग्रीका लागि छिमेकी चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोट बजारमै भर पर्नु पर्छ । कोरोना सङ्क्रमणले गएको तीन वर्षदेखि उक्त नाका पूर्ण रुपमा बन्द छ ।

स्थानीय उत्पादनले वर्षको तीन महिनापनि नपुग्ने नाम्खाका तिल, हल्जी, जाङ्ग, यारी, हिल्सा लगायतका बस्तीका नागरिकलाई दैनिक उपभोग्य वस्तु कसरी पु¥याउने भन्ने सकस छ । सीमानाका लामो समय बन्द भएपछि स्थानीय नागरिकलाई घरदेखि नजिकै पर्ने रोजगारको भरपर्दो माध्यम पनि बन्द भएको छ ।

चीनको ताक्लाकोट बजारमा आफूले नियमित रुपमा गर्दै आएको रोजगार समेत बन्द भएपछि परिवार पाल्नै मुस्किल भएको नाम्खाका स्थानीय लालबहादुर लामाको दुखेसो छ ।

कोरोना सङ्क्रमणको दरमा केही कमी आएसँगै स्थानीय सरकार र स्थानीय प्रशासनले नाका खोल्न चीनको स्थानीय प्रशासन र नेपाल सरकारलाई लिखित र मौखिक रुपमा आग्रह गर्दै आएको छ । तरपनि दुई देशबीच कोभिड प्रोटोकल तयार नभएको भन्दै नाका खुलेको छैन ।

नागरिक र स्थानीय सरकारको आग्रहमा गृहमन्त्रालय र परराष्ट्र मन्त्रालय मार्फत सरकारलाई ताकेता गरेपनि अहिलेसम्म नाका खोल्ने विषयमा स्थानीय प्रशासन समक्ष कुनै सूचना नआएको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अनुपम पौडेलले बताए ।

कोरोना सङ्क्रमणको कारण देखाउँदै चीनसँगको सीमा जोडिएको हिल्सा नाका बन्द भएपछि नाम्खा गाउँपालिकाका बासिन्दाको दैनिक रोजिरोटी खोएिको छ भने जनैपूर्णिमाको अवसर पारेर कैलाश मानसरोवरको दर्शन गर्न जाने बाजुरा, मुगु र हुम्लादेखिका सयौँ धामी डाँगरहरूको दर्शन गर्ने बाटोसमेत बन्द भएको स्थानीयले जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend