जन आकाश
काभ्रे । काठमाडौं विश्वविद्यालयका पुर्व उपकुलपति तथा धुलिखेल अस्पतालका संस्थापक तथा डाइरेक्टर डा. रामकण्ठ माकजू र उहाँको श्रीमती एन्ड्रिया श्रेष्ठको संयोजकत्वमा संजिवनी उच्चमावि २०३३ समुहको पुनर्मिलन धुलिखेल अस्पतालको अत्याधुनिक सभा हलमा यही भदौ १४ गते हरितालिका तीजको अवसर पारेर सम्पन्न भएको छ ।
०३३ समुहका अर्का संयोजन सहयोगी डा. दिर्घराज श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पुर्व प्रधानाध्यापक द्वय वेदप्रसाद कोजू र निर्मला श्रेष्ठ र हालका प्रधानाध्यापक लोकेन्द्र ढकाल सहित पुर्व शिक्षक चुनियाँ लाल श्रेष्ठ समेतको उपस्थिति रहेको थियोे ।
४६ वर्षपछि आफ्ना बालसखाहरूसंगको भेटको अवसरमा सबैलाई पुनः परिचय गर्नु पर्दा र पाउँदा कतिपय साथीहरू भावविभोर हुनुभएको थियो । परिचय दिने र पुराना कुरा सम्झना गर्दै साथीहरू माझ आफ्नो जीवन गाथा सुनाउँदै गर्दाको सहभागी यो पंक्तिकार दुर्गा भमरकोटेको सुसेली समेत भावुक बनेको थियो ।
यसैगरी रामशरण दाहाल, अर्जुनप्रसाद तिमिल्सिना, अष्टलाल सुवाल, गणेश पाठक, मिलेचन श्रेष्ठ, नजरशोभा श्रेष्ठ, शान्ता श्रेष्ठ, रेणुका श्रेष्ठ खोजू, रेखा श्रेष्ठ, स्वाधीनकुमार व्याञ्जु, नारायण देवी श्रेष्ठ, गीताकमल श्रेष्ठ, तारा श्रेष्ठ, हसना श्रेष्ठ, वेदकण्ठ योगोल श्रेष्ठ, अर्जुनकुमार शाह, रेणुकादेवी श्रेष्ठ, मोहनकृष्ण घिनान्जू, विश्वविजय चित्रकार, संघराज शाक्य, सुर्यलाल मानन्धर, पुर्णबहादुर कार्की, रामजी गिरी, नरेन्द्रराज कोजू, बसन्त रानाभाट, बिजयराज प्रधान माकजू, निलहरि माकजू, जितकण्ठ श्रेष्ठ, कैलाशप्रसाद पौडेल, गोविन्दप्रसाद खोजू आदि साथीहरूले आ-आफ्नो जीवन कहानी र आफ्नो बाल्यकालका पुराना स्मरण सुनाउनु भएको थियोे ।
समुहका साथीहरू मध्य भरत देवजू, दामोदर गिरी, रश्मि श्रेष्ठ लगायत ९ जना स्वर्गीय भइसक्नु भएकाले कार्यक्रमको सुरुमा उहाँहरूको सम्झनामा एक मिनेट मौन धारण गरि चिर शान्तिको कामना गरिएको थियो भने दिवंगत पुर्व प्रधानाध्यापक पुर्णमान सिंह बस्नेत, दुर्गाप्रसाद शास्त्री, अमरनाथ योगोल तथा शिक्षक मणिरत्न शाक्यमा हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
छलफलका क्रममा धुलिखेल अस्पताललाई दक्षिण एसियामै उत्कृष्ट बनाउन सफल हुनुभएकोमा डा. रामकण्ठ र उहाँको टिमलाई हार्दिक धन्यवाद तथा बधाई सबैबाट आएको थियो भने यस अघि धुलिखेल अस्पतालको तर्फबाट आफ्नो ऐतिहासिक पृष्ठभूमि लगायत महाभुकम्प र कोभिडको आपतकालीन समयमा अस्पतालले जनस्तरमा पुर्याएको सहयोग सहित हालको अवस्था र भविष्यका योजना सहितका वृत्तचित्रहरू प्रस्तुत गरिएको थियो ।
संजिवनीको यो २०३३ समूह अहिलेसम्मकै सर्वोत्कृष्ट रहेको बताउनु हुँदै पुर्व प्रधानाध्यापकहरू र शिक्षकहरूले सबैका लागि उदाहरण बन्न सफल भएकोमा समुहका सबैलाई बधाई दिनुभएको थियो । भुकम्पले क्षति पुर्याएको पुरानो भवनलाई त्यही रुपमा पुनर्निर्माण गर्न सबै कुराहरूको व्यवस्था भैसक्दा पनि काम सुचारू गर्न ढिलाइ भएकोमा सबैले चिन्ता व्यक्त गर्नुभएको थियोे । प्रशासनिक र व्यबहारिक कुराहरू टुंगो लगाइ चाडैं नै निर्माणकार्य सुरु हुनेकुरामा आशावादी हुन हालका प्रधानाध्यापकले जानकारी दिनुभएको थियो ।
सकारात्मक सोच, लगनशीलता, विवेकशीलता र दृढताका साथ मिहिनेत गरेर अगाडि बढ्ने हो भने असम्भव भन्ने कुरा केही पनि नभएको बताउनु हुँदै कार्यक्रमको अन्तमा डा. रामकण्ठ माकजुले ४६ वर्षपछि भएपनि सबै साथीहरूलाई एकै ठाउँमा देख्न पाउँदा र सबैको हालखबर बुझ्न पाउँदा अत्यन्तै खुसी लागेको छ भन्नुभयो । साथै समयाभावको कारण सबै साथीहरूका सबै कुरा सुन्न र सुनाउन नसके पनि सबैको अनुहार हेर्दा नै धेरै कुरा जान्न बुझ्न पाइयो र आउने समयमा फेरि पनि यस किसिमको पुनर्मिलनको कार्यक्रमले निरंतरता पाइरहने आशा र विश्वासका साथ सहयोगी र सहभागी सबैलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गर्नुभएको थियो ।
स्रोत दुर्गा अधिकारी भमरकोटे ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend