logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपालका तीनस्थानमा भिगन महोत्सव


  • जन आकाश
  • बुधबार, भाद्र २९ २०७९

 



काठमाडौं । नेपालका तीन प्रमुख स्थानमा यही भाद्र २८ देखि असोज ४ गतेसम्मको लागि एक हप्ता लामो हिमालयन भीगन फेस्टिभल २०२२ शुरु भएको छ । लुम्बिनीमा भदौको २८ र २९ गते, यसै गरी ३०, ३१ र असोजको १ गते होटल सोल्टी कालीमाटी काठमाडौंमा र असोजको २, ३ एवं ४ गते होटल ग्राण्ड विराजचोक पोखरामा हुँदैछ ।

यस प्रकारको महोत्सव दक्षिण एशियामै पहिलो पटक हुन गइरहेको आयोजकले बताएको छ ।
विश्वमा बढ्दै गएको वातावरणीय प्रदुषण एवं ग्लोबल वार्मिङलाई कम गर्न, विश्वव्यापिरूपमा देखिएका क्यान्सरलगायतका असाध्य स्वास्थ्य समस्याहरूलाई निवारण गर्न, मानवमा देखिएको अमानवीय व्यवहारलाई निराकरण गर्न, विभिन्न खालका असन्तुलित र अप्राकृतिक तथा अव्यवहारिक गतिविधि आदिलाई समाधान गर्न भीगन (पूर्णशाकाहार) जीवन शैली अप्नाउनु पर्छ भन्ने निक्र्याल स्वास्थ्य विज्ञ, वैज्ञानिक, दार्शनिकलगायतका प्रबुद्ध वर्गको रहेको छ ।

उक्त कुरालाई आत्मसाथ गर्दै भीगन जीवनशैली अप्नाउनेहरूको सँख्या विश्वव्यापि रूपमा बढ्दो क्रममा रहेको हुनाले विश्वव्यापी रूपमा बढ्दै गरेको यस प्रकारको जीवनशैलीको बारेमा नेपालमा पर्यटकीय संभावना पनि यथेष्ट रहनसक्ने भएकोले त्यसको बारेमा आमसर्वसाधारणलाई यसको बारेमा जानकारी दिने हेतुले यस प्रकारका महोत्सव उपर्युक्त महत्त्वपूर्ण तीन स्थानमा आयोजना गरिएको दि हिमालयन भीगन फेस्टिभल २०२२ का कार्यकारी अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताएका छन् ।

नेपालजस्तो हिमाल पहाड तराईको भुगोल मिलेर बनेको तथा अहिंसा सिद्धान्तका प्रतिपादक भगवान बुद्ध जन्मेको देशमा विशुद्ध शाकाहारी जीवनशैलीको बारेमा ज्ञान तथा जानकारी गराई अहिंसा, करुणा, प्रकृतिप्रेमी भावना अभिवृद्धि गर्ने हेतुले यस प्रकारको कार्यक्रमको आयोजना गरिएको महोत्सवका महासचिव जनरल अजित थापाको भनाई छ ।

फेस्टिभलमा दुईसय जति अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रतिनिधि र सेलीब्रेटी वक्ताहरूको सहभागिता रहने उल्लेख छ । यसै गरी ७५ भन्दा बढी सूचनामूलक प्रदर्शनीहरू, भीगन खानाका बिक्रीकक्षहरू, यसै गरी दुध, दही, चीज, केक आदिको वैकल्पिक कार्यशाला कक्षाहरू, भीगन विषयवस्तुमा आधारित चलचित्रहरू प्रदर्शनी आदिको साथमा अन्तर्क्रियात्मक कार्यशाला कक्षाहरू रहेको कार्यक्रम पत्रमा उल्लेख छ ।

फेस्टिभलको अर्को आकर्षक कार्यक्रम पाँच कि.मि. दुरीको म्याराथन पनि रहेको कार्यक्रमपत्रमा उल्लेख भएको देखिन्छ । यसै गरी योग एवं फिट्नेस क्रियाकलापहरू संलग्न गरिएको छ । बालक्रियाकलाप लगायत भीगनजीवन शैलीको बारेमा विभिन्न क्षेत्रमा भूमिका निर्वाह गर्ने मध्यबाट तीनजनालाई पुरस्कृत गरिने जस्ता कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

आफूलगायत सबै प्राणी र प्रकृति पनि बच्नुपर्छ भन्ने मुख्य धारणा भेगनिष्टहरूको रहेको र यो भावनाको हर व्यक्तिमा विकास गराउनु सही मानवियता भएको बताउँछन् वल्र्ड भेगन अर्गानाइजेशन नेपालका अध्यक्ष सुरेश शर्मा ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend