जन आकाश
काठमाडौ । सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणमा १४ लाख कित्ता धितोपत्रको सार्वजनिक निष्काशन गर्ने भएको छ । हाल कम्पनीको जारी पूँजीलाई वृद्धि गरी ७० करोड कायम गर्ने र सो जारी पूँजीको २० प्रतिशत अर्थात् १४ करोड बराबरको शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने कार्यका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धक मानि नियुक्त गरेको छ । सो निष्काशन गर्ने सम्बन्धी सम्झौता पत्रमा सोपान फर्मास्युटिकल्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन न्यौपाने र एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्यले एक कार्यक्रमका बीच एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा हस्ताक्षर गरेका छन् ।
उक्त कार्यक्रममा सोपानका वित्त प्रमुख रुपेश महतका साथै क्यापिटलका चिफ बिज्नेश अफिसर कमल प्रसाद नेपाल तथा फण्ड म्यानेजमेण्ट प्रमुख आशिष राज पाण्डेको समेत उपस्थिति रहेको थियो । सोपानका प्रमुख कार्यकारी अधिकृतले उक्त शेयर निष्काशन यसै वर्ष भित्रमा नै सम्पन्न गरिसक्ने गरी क्यापिटलसँग योजना बनाएको समेत जानकारी दिएका थिए ।
ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वार्ड नं ८ मा अवस्थित लब्ध प्रतिष्ठित गैर आवासीय नेपाली व्यवसायीहरु, नेपाली सफल व्यापारिक घराना,औषधि, स्वास्थ्य तथा अन्य क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुको संलग्नतामा स्थापित सोपान फर्मास्युटिकल्स लिमिटडले ISO,विश्व स्वास्थ्य संगठन WHO तथा युरोपियन मापदण्डको Good Manufacturing Practices (GMP) अनुसारको अत्याधुनिक उपकरण तथाप्रविधिको प्रयोग गरी आ.व. २०७८०७९ देखि उच्च गुणस्तरको विभिन्न प्रकारका औषधिहरु उत्पादन गर्दै आएको कम्पनीले जनाउदै आएको छ ।
उक्त कम्पनीले औषधि व्यवस्था विभागमा ११० वटा औषधिहरुको उत्पादन अनुमतिको लागि आवेदन पेश गरेकोमा हालसम्म ६० वटा औषधिहरुको उत्पादन अनुमति प्राप्त भैसकेको र २५ वटा औषधिहरु हाल बजारमा विक्रीवितरण भैरहेको छ । त्यसैगरी थप ६० वटा औषधिहरु अनुसन्धान तथा विकासको चरणमा रहेका छन् । कम्पनीले आगामी २ वर्ष भित्र औषधिको संख्या २०० पु¥याउने लक्ष लिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन न्यौपानेले बताएका छन् ।
यस उद्योगले एन्टि वायोटिक्स, मुटुरोग, मधुमेह, स्वास प्रस्वास, छालारोग, नशा तथा हाडजोर्नी, मानसिक रोग, पाचन प्रणाली, प्रोस्ट्रेट, प्रतिरक्षा प्रणाली र भिटामिन्ससँग सम्बन्धित औषधिहरु उत्पादन गर्दै आइरहेको छ । साथै आगामी २ वर्ष भित्रमा आइ एण्ड इएर ड्रप्स र सफ्ट जेल क्याप्सुल समेत उत्पादन गर्ने योजना बनाएको उल्लेख गर्ने गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend