logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

तराईको शीतलहर छल्न पहाडतिर


  • जन आकाश
  • आइतबार, पुष २४ २०७९

 



काठमाडौ । तेह्रथुम  तराईमा शीतलहरसँगै चिसो बढेपछि स्थानीयहरू चिसो छल्न पहाडतर्फ लाग्न थालेका छन् । अघिल्ला वर्षहरूमा यो सिजनमा पहाडमा समेत दिनभर हुस्सु लाग्ने र राति तुसारो परेर मौसम ठन्डा हुने गरे पनि अहिले पहाडको मौसम पनि घमाइलो देखिन थालेको छ ।

पूर्वी तराईलाई बाक्लो हुस्सु सहितको शीतलहरले छोपिरहँदा पहाडी जिल्लाहरू तेह्रथुम सहित धनकुटा, संखुवासभा, पाँचथर, ताप्लेजुङ, भोजपुर लगायत जिल्लामा दिनहरू घमाइलो हुने भएकाले पनि तराई भेगका वृद्धवृद्धा र केटाकेटीहरू पहाड उक्लिन थालेको तीनजुरे पहाडमा पसल चलाउँदै आएका युवराज खड्काले बताए ।

पुस महिना सुरु भएपछि आकाश खुल्ला छ । दिनभर न्यानो घाम लाग्ने गरेकाले यो वर्षको पुसमा पहाडका बासिन्दाले जाडोको त्यति महसुस गर्नु नपरेको ३ हजार मिटरको उचाईमा रहेको गुफा बजारका फुजुङ भोटेले बताए । चिसो मौसम हुने समयमा समेत यो महिना न्यानो अनुभव भैरहेको उनले सुनाए ।

३ हजार मिटरको उचाईमा रहेको गुफा बजारमा समेत यो वर्ष अघिल्लो वर्ष जस्तो चिसो नभएको स्थानीय मकालु होटलका सञ्चालक हिमा खनालले बताइन् ।

पूर्वी तराईमा चिसो बढेपछि पहाडमा आफन्त हुने र घरघडेरी हुनेहरू तराईको चिसो छल्न पहाडतर्फ उक्लिन थालेका छन् । तराईमा शीतलहरसँगै कठांग्रिने जाडो बढेपछि विराटनगरको वरगाछी बसोबास गर्दै आएका ६५ वर्षीय नन्दलाल भट्टराई तेह्रथुमको मोराहाङमा रहेका आफन्तकोमा आएका छन् । तराईमा चिसो बढेर बस्न नसकेपछि केही समय भए पनि पहाडमा चिसो छल्न आएको उनले बताए ।

तराईको चिसो छल्न धेरै बुढापाका र केटाकेटी पहाडतिर आइरहेका छन् । अबको एक महिना यतै रहने र तराईमा शीतलहर र कठांग्रिने चिसो हटेपछि मात्र फर्किने झापाको तोपगाछीबाट पहाड घर दांगपा आएका मित्रलाल बस्नेतलले बताए । तराईभन्दा त पहाड धेरै तातो रहेछ धनकुटाको सिंधुवा बजारमा भेटिएका बस्नेतले भने ।

मौसम न्यानो भएकाले अस्पताल तथा अन्य स्वास्थ्य स्वास्थ्यमा चिसोका कारण समस्या लिएर आउने बिरामीको संख्या समेत अघिल्लो वर्षको यही सिजनको तुलनामा कम रहेको स्वास्थ यकर्मीको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend