logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

मलेसियामा डेढ दर्जन युवा अलपत्र


  • जन आकाश
  • सोमबार, पुष २५ २०७९

 



काठमाडौं । मलेसियामा रोजगारीका लागि पुगेका डेढ दर्जन नेपालीहरु अलपत्र परेका छन् । मलेसियाको केलाङ सहरको एक भवनभित्र अलपत्र परेका उनीहरू चिसो भुइँमा कष्ठसँग दिन रात बिताइरहेका छन् ।

ज्यादतीविरुद्ध बोल्दा कम्पनीले कामबाट निकालिदिएपछि उनीहरु एक सातादेखि अलपत्र परेका हुन् । कम्पनीबाट निकालेर एक भवनको अनकन्टार कोठामा लगेर छाडेका म्यानपावर कम्पनीका एजेन्टले उनीहरुलाई कोठा बाहिर ननिस्कन भनेको छ ।

पीडित बाबुलाल विश्वकर्माका अनुसार उनीहरु बसेको कोठमा बत्ती, पानी र खानाको सुविधा दिइएको छैन । काठमाडौंको खोजी रिक्वायरमेन्टबाट ४ महिना अघि मलेसिया पुगेका उनीहरुमध्ये रौतहटका हिरालाल राउतलाई ‘हङ टिज चिकेन सप्लायर्स’ कम्पनीका सञ्चालकबाट अभद्र व्यवहार र कुटपिट भएको थियो । त्यस अघि पनि फरक फरक श्रमिकले यस्तो यातना सहेकाले उनीहरु सबै एकजुट भएर त्यस्तो हर्कत विरुद्ध बोलेका थिए ।

५० किलो तौलको बोरा उचाल्न नसकेको भन्दै कुटपिटमा उत्रिएका कम्पनी सञ्चालक विरुद्ध आवाज उठाएपछि २८ जनालाई कामबाट निकालिदिएको थियो । त्यसपछि म्यानपावर कम्पनीको समन्वयमा एजेन्टले एउटा कोठामा ल्याएर छोडेको हो ।

मलेसियास्थित नेपाली दूतावासका अधिकारीहरुले श्रमिकहरुलाई आएर भेटे पनि सकेसम्म मिल्न र कम्पनीमा फर्किएर काम गर्न अनुरोध गरेको थियो । युवाहरूले दुर्ब्यवहार सहेर काम गर्न नसकिने बताएपछि प्रहरीमा प्रमाणसहित उजुरी गर्न सुझाव दिएर दूतावासका अधिकारी फर्किएका थिए ।

त्यसपछि आधा दर्जन युवाहरु काममा फर्किएका छन् । तर, यातना सहेर नबस्ने भन्दै डेढ दर्जनभन्दा बढी नेपाली भने अझै उद्धार मागिरहेका छन् । ‘हामीमाथि पटक पटक यस्तो दुर्ब्यवहार भएको छ। हामीसँग कुटपिटको भिडियो र प्रमाण छैनन् । भिडियो कुराकानीमा विश्वकर्माले भने यहाँको प्रहरीले पनि प्रमाण माग्छ । हामी देश फर्किन चाहान्छौं यहाँबाट छिटो उद्धार गरिदिनुपर्‍यो ।

पीडितहरुका अनुसार उनीहरुको पासपोर्ट सहित सबै कागजपत्र पनि खोसिएको छ । उनीहरु अधिकांश दिनको एक छाक मात्रै खाएर बसेका छन् । कागजपत्र विना बाहिर निस्किँदा समेत समातिने डर उनीहरुलाई छ ।

पीडितका परिवारले पनि अलपत्र परेका आफ्ना आफन्तलाई सकुशल नेपाल ल्याइदिने वातावरण बनाइदिन माग गरेका छन् । मानसिक र शारीरिक याताना दिएर अलपत्र बनाउने काम भएको भन्दै उनीहरुले न्युनतम् मानवीय व्यवहार समेत नदेखाएको देख्दा देख्दै मलेसियास्थित नेपाली दूतावासका अधिकारीहरु पनि निरीह भएको आरोप लगाएका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend