जन आकाश
काठमाडौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको पन्ध्रौँ वार्षिक साधारण सभा आज (२०७९ पुस २८ गते) सम्पन्न भएको छ । राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौमा सम्पन्न भएको साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफा रकम मध्येबाट प्रति शेयर ४० रुपैयाँका दरले शेयर धनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।
साधारण सभामा करिब ९१.६ प्रतिशत शेयर धनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०७८/७९ को लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/७९ को , नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।
यसैैगरी साधारण सभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७९/८० को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट महेश कुमार गुरागाईं र चार्टर्ड एकाउण्टेण्ट पियुष आनन्दलाई लेखा परीक्षक नियुक्त गर्नुका साथै पारि श्रमिक समेत तोकेको छ ।
उक्त अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले साधारण सभामा उपस्थित शेयर धनीहरुलाई स्वागत गर्दै कम्पनीको पन्ध्रौँ वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै उहाँले कोभिड–१९ को महामारी तथा यसको प्रभाव र असरका बिच कम्पनीले सापेक्षित सफलता पाएको उल्लेख गर्दै दूरसञ्चार क्षेत्रको विश्व बजारमा विकास भइरहेका नवीनतम र अत्याधुनिक प्रविधिको प्रयोग गरी सेवालाई थप गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
दूरसञ्चार क्षेत्रमा विद्यमान तीब्र प्रतिस्पर्धाको वातावरणमा पनि मुनाफा भन्दा बढी सेवा भावलाई प्राथमिकतामा राखी भौगोलिक रुपले अति विकट तथा दुर्गम क्षेत्रमा अत्याधुनिक दूरसञ्चार सेवाहरु विस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने नेपाल सरकारको अवधारणामा सहयोग गर्ने, विद्युतीय सुशासनको क्षेत्रमा सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण गर्ने तर्फ कम्पनीले आफ्ना कार्यक्रमहरुलाई परिलक्षित गरेको उहाँले बताउनु भयो ।
अध्यक्षले भन्नुभयो,। आर्थिक वर्ष २०७८/७९मा आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताका बिच कम्पनीले कुल रु. ४४ अर्ब ३७ करोड राजश्व आम्दानी गरी रु. ८ अर्ब ४७ करोड खुद नाफा गर्न सफल भएको छ । यो नाफा गत वर्षको भन्दा रु. १ अर्ब ३५ करोडले बढी हो । यसै कम्पनीले कर तथा शुल्क वापत आफ्नो कुल आयको ५९.५२ प्रतिशत अर्थात् रु. २६ अर्ब ४१ करोड राजश्वका रुपमा नेपाल सरकारलाई बुझाएको छ ।
कम्पनीको नाफामा शेयर धनीहरुको योगदान र लगानीको उच्च कदर गर्र्दै कम्पनी सञ्चालक समितिले प्रति शेयर रु. ४० लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृतिका लागि यस सभामा पेश गर्ने निर्णय गरेको छ ।प्रत्येक नागरिक, उद्योग व्यवसाय तथा सरकारी क्षेत्रका लागि अधारभूत आवश्यकताका रुपमा स्थापित हुँदै गरेको सूचना प्रविधिलाई थप गुणस्तरीय तथा प्रभावकारी बनाउन कम्पनीले फोरजी एलटीई प्रविधिमा आधारित भोल्टे सेवा तथा एफ टीटीएच सेवा विस्तार, आवश्यक पूर्वाधार निर्माण र स्तरोन्नति तथा वितरणमा तीब्रता दिएकोले २०७९ असार सम्ममा देशका ७३५ स्थानीय तहमा अत्याधुनिक दूरसञ्चार सेवाको पहुँच विस्तार भएको उहाँले उल्लेख गर्नु भयो ।
अझै पनि कम्पनीबाट उपलब्ध टुजी प्रविधिको उपयोग गर्ने ग्राहकको संख्या उल्लेख्य रहेकाले यसको गुणस्तर सुधार सहित विस्तार गर्नुका साथै बहूसंख्यक ग्राहकले प्रयोग गर्ने फोरजी सेवाको स्तर वृद्धि गरी सेवा विस्तारलाई निरन्तरता दिइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट फाइभजी प्रविधिको परीक्षण अनुमति प्राप्त भए अनुसार निकट भविष्यमा यसको परीक्षण कार्य सफलता पूर्वक सम्पन्न गर्ने गरी काम अघि बढाइएको पनि अर्यालले बताउनु भयो ।
कम्पनी सञ्चालक समितिका अध्यक्षले अगाडि भन्नुभयो । दूरसञ्चारको प्रतिस्पर्धात्मक बजारमा कम्पनीलाई सक्षम संस्थाको रुपमा विकास गर्न कम्पनीको निर्णय प्रक्रिया, कार्यशैली र संस्थागत संरचनामा सुधार गर्न नीति नियमलाई थप व्यावहारिक र समय सापेक्ष बनाउँदै कम्पनीलाई परिवर्तन मुखी तथा गतिशील संगठनको रुपमा अघि बढाउने एवं कम्पनीको पुन .संरचना गर्ने तर्फ विशेष ध्यान दिइएको छ । कम्पनीमा सञ्चित रकमलाई उच्च प्रतिफल प्राप्त हुने र जोखिम न्यून गर्ने गरी विविध क्षेत्रमा लगानी गर्ने नीति अनुरुप अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लगानीका क्षेत्र पहिचान गर्न शुरु गरिएको छ ।
कम्पनीको लगानी नीति अनुरुप लगानी विविधीकरण गरी वित्तीय अवस्था सुदृढ गरिने, वित्तीय अनुसाशन कायम गरी खर्चमा मितव्ययिताको सिद्धान्त अवलम्बन गर्ने तथा कम्पनीका सेवाका गुणस्तर सुधारमा विशेष ध्यान दिइने प्रतिबद्धता पनि सभा सामु अध्यक्ष अर्यालले व्यक्त गर्नुभयो । विश्वभर नै भ्वाइस सेवाको माग दिनानु दिन घट्दै गइरहेको सन्दर्भमा डाटाको गुणस्तर सुधार गरी लागत प्रभावी बनाउन विशेष जोड दिइने, भ्वाइस सेवामा सुधार गर्दै साझेदार संस्थाहरु सँगको सहकार्य समेतमा भ्यालु एडेड सर्भिसहरु र कन्टेन्ट वेस्ड सेवाहरुको विस्तार गर्ने कार्यमा कर्मचारी, नियामक निकाय तथा शेयरधनी महानुभाव हरुबाट सदा झैं पूर्ण सहयोग प्राप्त हुने विश्वास पनि उहाँले व्यक्त गर्नु भयो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend