logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको विमान दुर्घटनामा मृत्यु


  • जन आकाश
  • सोमबार, माघ २ २०७९

काठमाडौँ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएको छ । उनको मृत्यु प्रति नेपाल पत्रकार महासंघले विज्ञप्ति मार्फत स्तब्ध भएको जनाएको छ ।  काठमाडौंबाट पोखराको लागि उडेको नाइनएन एएनसी एटिआर–७२ जहाज अवतरण गर्ने क्रममा पोखराको पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा दुर्घटना ग्रस्त भएको थियो ।



पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनबाट निर्वाचित भई केन्द्रीय सदस्य थिए । २०७४ सालमा महासंघको गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्षका रूपमा रहेर काम गरेका पत्रकार पौडेलले त्यस अघि महासंघ कास्की शाखामा एकपटक उपाध्यक्ष र दुईपटक सचिवका रूपमा रही योगदान दिएका थिए ।

पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरु गरेका पौडेलले अन्नपूर्ण एफ एम र केही समय नेपाल टेलिभिजनमा स्ट्रीन्जरका रूपमा काम गरेका थिए । विभिन्न पत्र पत्रिकामा स्तम्भ र लेख लेख्दै आएका पत्रकार पौडेल पछिल्लो समय पोखरा हटलाइन दैनिक पत्रिकाकै  सम्पादकका रूपमा कार्यरत थिए । स्वर्गीय पौडेलका आमा, श्रीमती र एक छोरा छन्

उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी, जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको महासंघको विज्ञप्तिमा उल्लेख छ । कास्की जिल्लाबाट पत्रकारिता क्षेत्रमा राम्रो पहिचान बनाएका पौडेलको निधनले नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको पनि विज्ञप्तिमा उल्लेख छ । महासंघले स्वर्गीय पौडेल सहित विमान दुर्घटनामा निधन भएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend