जन आकाश
रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ मुडाजोरमा रहेको श्री महाकाली आधारभूत विद्यालयमा खानेपानीको समस्याले विद्यार्थी आफ्नो घरबाटै खानेपानीको बोतल झोलामा हालेर पढ्न जाने गरेका छन् । खानेपानीको अभावले गर्दा आधा दिनमै विद्यार्थी पानी पिउने निहुँमा घर आउने गरेको अभिभावक गोविन्द राउतले बताएका छन् ।
विद्यालय आसपासमा खानेपानीको कुनै मुहान नहुनु र नगरपालिका तथा वडाले ध्यान नदिँदा खानेपानीको चरम अभाव देखिएको विद्यालयले जनाएको छ । विद्यालयमा खानेपानी नभएकै कारण विद्यार्थी घरैबाट बोतलमा खानेपानी बोकेर आउने गरेको प्रधानाध्यापक राम बहादुर घिसिङले बताएका छन् ।
तिर्खा लागेको बेला घरबाट ल्याइएको पानी सकिएमा विद्यालय नजीकैको घर जाने गरेको विद्यार्थी बताउँछन् । विद्यालयमा खानेपानीको व्यवस्था गर्न प्रयास गरे पनि अहिलेसम्म व्यवस्था गर्न नसकिएको प्रधानाध्यापक घिसिङले बताए । पानी अभावले गर्दा विद्यालयमा भएका शौचालय पनि प्रयोगविहीन भएका छन् ।
पानी अभावका कारण रजश्वलाको समयमा छात्राहरू विद्यालय नआउने,विद्यालयका महिला शिक्षिकाहरुलाई रजश्वला भएको बेला विद्यालयले २ दिन बिदा दिने गरेको प्रधानाध्यापक घिसिङले बताए। खानेपानीको चरम समस्या भएपछि विद्यालयमा विद्यार्थी संख्या पनि कम हुँदै गएको छ । विद्यालयलाई पायक पर्ने स्थानमा खानेपानीको मुहान समेत छैन । रामेछाप नगरपालिका वडा नं ७ ले विद्यालयमा पानीको व्यवस्थापनको लागी काम गरिरहेको जनाएको छ । त्यस विद्यालयवाट खानेपानीको लागि सम्बन्धित निकाय जति सवैलाई आधिकारिक जानकारी पनि दिईसकेको प्रद्यानध्यापकले बताएका छन् ।
वडा कार्यालयले खानेपानीको काम गरेको बताए पनि हामी मुडाजोरमा पुग्दा आकाशको पानी जम्मा गरेको टंकीमा केही माात्रामा सञ्चिती रहेको तर सौचालयलमा प्रयोग गर्ने हो भने त्यो केही दिनमा नै सकिने र खानेपानीको समस्या हुने देखियो । त्यसकारण सुखा क्षेत्रहरुमा खानेपानीको व्यवस्था गर्नुपर्ने र बिद्यालय जस्तो संवेदनशील क्षेत्रलाई सम्बन्धित निकायहरुले ध्यान दिनुपर्ने देखिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend