logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

गजल


  • जन आकाश
  • बुधबार, फाल्गुन १० २०७९

बीरेन मालाकार



कसैको प्रतीक्षामा थाहा नपाई बितेछ जवानी
समय संगै बनेछ एक इतिहासको प्रेम कहानी

हृदय देखि यति धेरै चोखो माया गरेको रहेछु
अरुको लागि रित्तिएछ मुटुमा मायाको खानी

असफल हुन्छ भन्ने गर्थे सच्चा माया संसारमा
मायामा परे धोका हुन्छ भन्ने कुरा जानीजानी

दुनियाँलाई बिर्सीएर आफैं कता भुल्न पुगेछु
मायामा हराउदै अरुकै भएर गयो जिन्दगानी

जून तारालाई पाउछु भन्दै उडिन् आकाशमा
खै कुन हुरीले कता पुर्यायो मेरी मनकी रानी

यही बाच्नु पर्छ अनि मर्नु पर्छ अन्त कहाँ जानु
जति पैसा कमाए नि छोड्नै पर्छ मरेर के लानु

पेट भरिन्छ स्वाद त जिब्रोको लागी मात्र होे है
भोक छैन भने चौरासी व्यञ्जनमा के नै खानु

कसैको भरमा पर्नु हुँदैन छोडेर जान्छन् कहाँ
मेहनतको फल मीठो हुन्छ चाहे पाथी या मानु

नयाँ उमङ्ग र उल्लास ल्याउछ हरेक बिहानीले
कर्तव्य आभास गराउदै पूर्वबाट उदाउछ भानु

दुख सुखलाई समानान्तर साथ लगेर जित्नुस्
मरेर गए पनि जिन्दगी बन्छ इतिहासको पानु

अन्य ऋतुहरुमा भन्दा शिशिरमा घाम प्यारो
यहाँ मान्छे भन्दा पनि मान्छेको काम प्यारो

अनेकौं काम गरेर आफ्नो पहिचान बनाउँछ
जसले जे भने पनि आफ्नो हुन्छ नाम प्यारो

जस्तै परिकारमा सन्तुष्ट स्वाद महसुस हुँदैन
आफ्नै आमाले प्रेमले पकाएको माम प्यारो

पक्कै नि सबैको समय आलो पालो आउँछ
सबैलाई आफ्नो ब्यवसायको नै याम प्यारो

तराजुमा जोखेर गासिन्छन् कति सम्बन्धहरु
यस्तै रहेछ यो संसारमा सबैलाई दाम प्यारो

यहाँ चोखो माया लगाउनेको तिरस्कार हुन्छ
सहनै पर्छ ती मुटुले अनेकौं चोट प्रहार हुन्छ

सिटामोल पाउदैन गरीब जनता बिमारी हुँदा
नेताहरू बिरामी हुँदा बिदेशमा उपचार हुन्छ

यहाँ छुट हुन्छन् जघन्य अपराध गर्नेहरुलाई
निर्दोषलाई दोषी ठहर्याइ कैद कारागार हुन्छ

योग्यता हुनु पर्दछ, ठूलो पद प्राप्तिको लागि
तर राजनीतिमा जेल बसेको नै आधार हुन्छ

मतलब हुदैनन् धनीका छोराछोरीहरु बिग्रेमा
गरीबका छोराछोरीहरुको पुरै समाचार हुन्छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend