logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

बागलुङमा एमालेको मिसन ग्रासरुट अभियान शुरु


  • जन आकाश
  • शुक्रबार, फाल्गुन १२ २०७९

 



बागलुङ । नेकपा एमालेले संगठन सुदृढिकरण तथा विस्तार अभियानका लागि सञ्चालन गरेको मिसन ग्रासरुट अभियान बिहीवारदेखि बागलुङमा शुरु भएको छ ।
बागलुङमा आगामी चैत मसान्तसम्म सञ्चालन हुने मिसन ग्रासरुट अभियानको नेकपा एमालेका केन्द्रीय सचिव, गण्डकी प्रदेश इन्चार्ज एवं पूर्व मन्त्री पद्मा अर्यालले शुभारम्भ गरी कार्यक्रमको शुरुवात भएको हो ।

समाजवादको आधार निर्माण गर्ने पार्टीको दशौ राष्ट्रिय महाधिवेशनको फैसाला कार्यान्वयनका लागि मिसन ग्रासरुट अभियान सफल हुने दावी गर्दे पुर्वमन्त्रीले । पार्टीको सिंगो पंक्तिलाई जोड्ने गरी सञ्चालन भएको यो अभियानमा जिल्लाका ८५ वटा वडामा २ सय ५० भन्दा बढी नेता कार्यकर्तालाई जिम्मेवारी दिइएको उल्लेख गरेकी थिइन । अर्का बक्ताको रुपमा रहेका एमाले जिल्ला अध्यक्ष हिरा बहादुर केसीले “आफ्नो मतदाता रहेको भन्दा फरक भुगोलमा खटिने गरी नेताहरुलाई यो अभियानको जिम्मेवारी दिइएको ”जानकारी दिएका थिए ।

पार्टीले सञ्चालन गरेको देशव्यापी मिसन ग्रासरुट अभियान अन्तरगत बागलुङका १० वटै पालिका र ८५ वटै वडामा खटिने नेताहरुको कार्यविभाजनसंगै प्रशिक्षण शुरु भएको छ, अध्यक्ष केसीले भनाई अनुसार ‘यो अभियानमा आफुलाई तोकिएको भुगोलमै बसेर पार्टी नेताहरुलाई अभियानका लागि तोकिएको जिम्मेवारी अनुसार पार्टी सदस्य र आम समुदायसंग छलफल, अन्तरक्रिया र सुझाव संकलन गर्नेछन् ।’

यो अभियान सकेर समिक्षा गर्दा बागलुङमा एमालेको संगठनको अवस्था अहिले भन्दा धेरै फरक, चुस्त दुरुस्त र पार्टीलाई जिल्लामा सबै हिसावले पहिलो शक्तिका रुपमा स्थापित गर्न सफल हुने अपेक्षा लिएका छौ, केसीलेको भनाई ।

यो अभियानमा एमालेले पार्टीको पालिका स्तरीय विस्तारित वैठक फागुन २३ गतेसम्म सम्पन्न गर्ने भएको छ । फागुन १४ गते गलकोट नगरपालिकाबाट शुरु हुने पालिका स्तरीय विस्तारित वैठक २३ गते काठेखोलामा पुगेर सकिनेछ । फागुन १५ गते बडिगाउ गाउँपालिका, १६ गते ताराखोला गाउँपालिका, १७ गते ढोरपाटन नगरपालिका, १८ गते निसीखोला गाउँपालिका, १९ गते तमानखोला गाउँपालिका, २० गते बरेङ गाउँपालिका, २१ गते जैमिनी नगरपालिका र २२ गते बागलुङ नगरपालिकाको विस्तारित वैठक सम्पन्न हुने बागलुङ जिल्ला कमिटीेले उल्लेख गरेको छ ।

अभियानका क्रममा पार्टी सदस्यता नविकरणलाई प्राथमिकतामा राखिएको छ । पुराना सदस्यको नविकरणसंगै नयाँ सदस्य थप गर्ने कार्ययोजना पनि अध्यक्ष केसीले वैठकमा प्रस्तुत गरेका थिए ।

बागलुङमा एमालेका ८ हजार पार्टी सदस्य छन्, यो अभियानमा ३० प्रतिशत नयाँ सदस्य थप गरिनेछ । नयाँ सदस्य मध्ये २५ प्रतिशत ३० वर्ष भन्दा कम उमेर समुहका सदस्य थप गर्दैछौ, अध्यक्ष केसीले थपे ।

अभियानका क्रममा सबै वडामा ९/९ वटा टोल कमिटि रहने व्यवस्था अनुसार टोल कमिटिहरु गठन तथा पुनरगठन हुनेछन् । मिसन ग्रासरुट अभियानको अर्काे कार्यभार जनसंगठन निर्माण रहनेछ । कम्तिमा ७ वटा जनसंगठन अनिवार्य बनाउनु पर्नेछ । विद्यार्थी, युवा, महिला, भू.पू, दलित, किसान र रिटर्नी अनिवार्य छ, संभव हुने स्थानमा अन्य जनसंगठन पनि गठन गर्न सकिने छ ।

अभियानको अगुवाई गर्ने नेताहरुको उपस्थितिमा सबै वडामा बुद्धिजिवी, युवा, किसान, महिला, मजदुर, जनप्रतिनिधि लगायतसंग अन्तरक्रिया कार्यक्रम सञ्चालन हुने भएका छन् । पार्टी केन्द्रले निर्देशन गरे अनुसार विभिन्न विषयमा प्रशिक्षण कार्यक्रम पनि अभियानका क्रममा सञ्चालन हुने भएका छन् ।

दशौ महाधिवेशनको कार्यदिशा, समसामयिक राजनैतिक परिस्थिति र पार्टीको दृष्टिकोण, दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता विरुद्धको वैचारिक संघर्ष, विभिन्न दलहरुसंग एमालेको राजनीतिक वैचारिक भिन्नता, पार्टी निर्माण सम्बन्धी माक्सवादी दृष्टिकोण र पार्टी सदस्यहरुका अधिकार कर्तव्य र कार्यशैली, समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा समाजवादका आधार निर्माण सम्बन्धी पार्टी अवधारणा, समसामयिक राजनैतिक परिस्थिति र पार्टी दृष्टिकोण तथा युवा उद्यमशिलता, स्वरोजगारी, संभावना अवसर र चुनौती विषयमा प्रशिक्षण दिइने अध्यक्ष केसीले जानकारी दिएका हुन् ।

अभियानको नेतृत्व केन्द्रीय कमिटिका सदस्यले गर्ने गरी केन्द्रीय सचिवालयले जिम्मेवारी तोकेको छ । जिल्ला कमिटिले केन्द्रीय सदस्यको नेतृत्वमा रहने टोलीमा प्रदेश प्रतिनिधि र जिल्ला प्रतिनिधि चयन गरेको छ ।

मिसन ग्रासरुट अभियान शुभारम्भ कार्यक्रममा पार्टीका स्थायी कमिटि सदस्य तथा संगठन विभागका प्रमुख, गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, पार्टी केन्द्रीय सदस्यहरु गोविन्द बहादुर नेपाली, कृष्ण थापा, इन्द्रलाल सापकोटा, नरदेवी पुन लगायतले प्रशिक्षण दिएका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend