logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

निजी र आर्थिक क्षेत्रलाई प्राथमितामा राख्न उपाध्यक्ष ढकालको आग्रह


  • जन आकाश
  • सोमबार, फाल्गुन २२ २०७९

 



नवलपरासी । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र आर्थिक एजेण्डा प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन् ।

नवलपुरको गैडाकोटमा आयोजित गण्डकी औद्योगिक व्यापार महोत्सव २०७९ को उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, “हरेक सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने र निजी क्षेत्रको विकास गर्ने भनेर भन्ने गरेको सुनिन्छ । तर व्यवहारमा हामीले दलहरुले निजी क्षेत्रलाई प्राथमिकतामा राखेको महशुस गर्न सकेको छैनौ । मुलुकका औद्योगिक विकास र आर्थिक मुद्दा लिएर सरकारका विभिन्न निकायमा पुग्दा यो निजी क्षेत्रको मात्र एजेण्डा हो भन्ने गरेको पाइन्छ ।”

ढकालले निजी क्षेत्रले आयात रोकेर अर्थतन्त्रमा देखिएको समस्या समाधान हुन्न भनेको कुरा औल्याउदै यसले राजश्व घटाउने मात्र काम गरेको उल्लेख गरका छन् ।

“हामीले आयात प्रतिबन्धले अहिलेको समस्या समाधान हुन्न भनेर भनेका थियौँ । त्यसको बदलामा बोर्डरमा हुने अनौपचारिक कारोबारलाई रोकौ भनेर सल्लाह पनि दिएका थियौँ । तर त्यो कुरालाई नसुनेर सरकारले आयातमा प्रतिबन्ध लगाउने काम गर्यो । त्यसले गर्दा अहिले राजश्वमा ठूलो असर गरेको छ,” उनले भनाई राखेका थिए ।

हरेक नयाँ नीति तथा नियमहरु बनाउँदा निजी क्षेत्र तथा सरोकारवालाहरुसँग व्यापक छलफल गर्न ढकालले सरकार तथा नियामक निकायलाई सुझाव समेत दिएका छन् ।

बैंकबाट लिएको कर्जाको व्याज तथा कर्जा तिर्न पर्दैन भन्दै केही व्यक्तिले बोल्ने गरेको बताउँदै ढकालले यसबाट अर्थतन्त्रमा ठूलो समस्या निम्तिन सक्ने संकेत गरेका छन् । स्वयम ढकाल अध्यक्ष रहेको एउटा बैक सञ्चालनमा पनि छ ।

“केही वर्ष पहिले कुनै एउटा बैंकको बारेमा पत्रपत्रिकामा समाचार आउँदा बैंकको निक्षेप फिर्ता लिन बैंकमा सर्वसाधारणको लाइन लागेको थियो । त्यो बैंकबाट सर्वसाधारणले अस्वाभाविक रुपमा निक्षेप निकालेका थिए र नेपाल राष्ट्र बैंकले हस्तक्षेप गर्न परेको थियो । अहिले पनि बैंकबाट लिएको कर्जा तिर्न पर्दैन भन्ने आवाज सडकबाट आउन थालेको छ । यो डर लाग्दो अवस्था हो । हामीले समयमै यसलाई सम्बोधन गर्न सकेनौ भने यसले मुलुकको अर्थतन्त्रमा ठूलो संकट निम्ताउन सक्छ,” उनको भनाई हो । तर बैकले अस्वभाविक ब्याज बढाएको भनेर बजारमा व्यापक असन्तुष्टि भईरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend