logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षको लागि ४ जना आकांक्षी


  • जन आकाश
  • मंगलबार, फाल्गुन २३ २०७९

 



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा शेखर गोल्छा नेतृत्वको कार्यसमितिको कार्यकाल सकिन करिब एक महिना बाँकी छ । विधान अनुसार २८ चैतबाट स्वतः महासंघको नेतृत्व वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सम्हाल्नेछन् ।

महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः पछिल्लो कार्यकालको अध्यक्ष रहने व्यवस्था छ । २८ चैतमा हुने महासंघको महासभा तथा अधिवेशनले अर्को कार्यकाल (सन् २०२६–२९ को नेतृत्व अर्थात् वरिष्ठ उपाध्यक्ष चयन गर्नेछ ।

 

महासंघमा भवानी राणा वरिष्ठ उपाध्यक्ष भएका बेला विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष पछिल्लो कार्यसमितिको स्वत अध्यक्ष हुने व्यवस्था गरिएको थियो । त्यसपछि महासंघको अधिवेशनमा यो पद सबैभन्दा आकर्षक मानिएको छ । वरिष्ठ उपाध्यक्षको उम्मेदवारको आकांक्षी व्यक्तिगत र सामूहिक छलफलमा व्यस्त छन् । उनीहरु प्यानल बनाउने तयारीमा छन् ।

वरिष्ठ उपाध्यक्षमा चार आकांक्षी

 

महासंघमा हालका वस्तुगततर्फको उपाध्यक्ष अञ्जन श्रेष्ठ, उद्योगतर्फका उपाध्यक्ष दिनेश श्रेष्ठ, एशोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघाई र अघिल्लो कार्यकालका वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा आकांक्षा राखेका छन् ।

पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ केही दिनमा उम्मेदवारी घोषणा गर्ने बताउँछन् । ‘मैले जिल्ला र नगरका सबै ठाउँ दोस्रो पटक घुमेर आएपछि महासंघमा अर्को कार्यकालको नेतृत्व आफुले लिनुपर्छ र चन्द्र ढकाललाई सघाउनुपर्छ भन्ने निश्चित गरेँ’, उनले भने, ‘केही दिनमा मेरो उम्मेदवारी घोषणा हुन्छ । मलाई जित्न कुनै कठिनाइ छैन ।’

श्रेष्ठले आगामी कार्यकाल ढकाल नेतृत्वको महासंघलाई सफल बनाउने र अर्को कार्याकाल आफ्ना योजना कार्यान्वयन गर्ने बताउँछन् ।

वरिष्ठ उपाध्यक्षका अर्का प्रत्यसी रामचन्द्र संघाईले पनि आफू उम्मेदवारी घोषणाको तयारीमा रहेको बताए । ‘म वरिष्ठ उपाध्यक्षको निर्विकल्प हुँ’, संघाइले भने, ‘अहिले देशभर छलफल र मतदाताहरुसंग भेटघाट चलिरहेको छ, प्यानलसहित केही दिनमा उम्मेदवारी घोषणा हुन्छ ।’

नेपालको औद्योगिक र व्यवसायी क्षेत्रमा आफूले ४० वर्ष सेवा गरेको भन्दै उनले यस क्षेत्रको सबै समस्या र राज्यप्रति भूमिकाबारे आफू जानकार रहेको पनि उनले बताए ।

उपाध्यक्ष अञ्जन श्रेष्ठ पनि वरिष्ठ उपाध्यक्ष निर्वाचित हुनेमा ढुक्क देखिएका छन् । पूर्वअध्यक्षहरु, अब अध्यक्षको जिम्मेवारी सम्हाल्ने चन्द्र ढकालको समर्थन र जिल्ला तथा नगरको मतसमेत आफूलाई आउने उनको दाबी छ । उनी जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अधिवेशन तथा कार्यक्रमहरुमा पुगिरहेका छन् ।

महासंघको वरिष्ठ उपाध्यक्षको प्रर्तिस्पर्धामा रहेका तर निर्वाचन लड्नेमा भने दिनेश श्रेष्ठ ढुक्क छैनन् । सकेसम्म उनी आफू पछि हटेर भएपनि निर्विरोध वरिष्ठ उपाध्यक्ष छान्ने पक्षमा छन् । तर, प्रतिस्पर्धा हुने अवस्थामा निर्वाचनमा जाने तर अन्तिममा आफूलाई सद्भाव राख्नेलाई सघाउने उनको रणनीति छ ।

चुनावी एजेण्डा

वरिष्ठ उपाध्यक्षका आकांक्षी अञ्जन श्रेष्ठले आर्थिक संकटको समाधान, ब्याजदरको समस्या हल गर्ने जस्ता मुद्धा उठाएका छन् । केही दिनअघि नुवाकोट पुगेका श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचन, आर्थिक संकट, ब्याजदरका साथै तरलताको समस्या समाधान आफ्नो चुनावी एजेण्डा प्रस्तुत गरेका छन् ।

वरिष्ठ उपाध्यक्षका अर्का आकांक्षी उमेशलाल श्रेष्ठले भने उद्योगी व्यवसायीको खास समस्या समाधान आफ्नो एक मात्र एजेण्डा भएको बताए । अहिले उद्योगीहरुले भोगिरहेको आर्थिक, मौद्रिक र राजनीतिक समस्याको समाधानका लागि महासंघले ठोस पहल गर्ने गरी आफूले काम गर्ने उनले बताए । ‘अहिले देशभरका उद्योगी व्यवसायी समस्यामा छन् । यो जबर्जस्ती निम्त्याइएको समस्या हो’, श्रेष्ठले भने, ‘यस्तो समस्या सकेसम्म आउन दिनुहुन्न कथंकदाचित आइहाले महासंघ पीडित उद्योगी व्यवसायीको पक्षमा उभिनुपर्छ भन्ने मेरो एक मात्र माग हो ।’

अर्का आकांक्षी दिनेश श्रेष्ठ साना उद्योगी व्यवसायीको हितका लागि आफू लडेको भन्दै यसका लागि महासंघको नेतृत्व पाउनुपर्ने दाबीमा छन् । ‘काठमाडौंका साना उद्योगी व्यवसायी महानगरबाट प्रताडित हुँदा पहिलो पकट कृुरा उठाउने उहाँ नै हो’, श्रेष्ठ निकट एक उद्योगीले भने, ‘ब्याजदर र बैंक आतकंबाट पीडित बनेका जिल्ला–नगरका उद्योगी व्यवसायीको समस्या राष्ट्रियस्तरमा उठाउने पनि उहाँ नै हो ।’

वरिष्ठ उपाध्यक्षका दाबेदार रामचन्द्र संघाइ भने अर्थतन्त्रमा आफ्नो योगदान नै प्रमुख चुनावी एजेण्डा मान्छन् । उद्योगी व्यवसायीको समस्या समाधान गर्दै मुलुकको अर्थतन्त्रमा ४० वर्ष देखि योगदान गरिरहेको उनले दाबी गरे ।

ढकाल, गोल्छा र मुरारकाको प्रभाव

२८ चैतदेखि महासंघको अध्यक्ष बन्ने चन्द्र ढकाल आफू अनुकुल टिमका लागि गृहकार्यमा छन् । आफू नेतृत्वको महासंघमा पदाधिकारी र कार्यसमितिमा कसलाई रोज्ने भन्नेमा उनले मुख खोलेका छैनन् ।

तर, बैंक र ब्याजदर बिरोधी आन्दोलनको पैरवी गरेर जिल्ला र नगरको ५० प्रतिशत भोटको ठूलो हिस्सा आफ्नो पक्षमा पार्न सफल रहेका दिनेश श्रेष्ठ र उमेशलाल श्रेष्ठको प्यानलप्रति ढकालको सदासयता बढेको स्रोतहरु बताउँछन् । त्यसो त ढकालले आफूलाई वरिष्ठ उपाध्यक्षमा समर्थन गर्नेमा उमेशलाल श्रेष्ठ ढुक्क देखिन्छन् ।

‘दिनेशलाई दोहोर्‍याएर उमेशलाई वरिष्ठ बनाउन ढकाल सहमत हुनुहुन्छ’ दिनेश र उमेशसँग निकट एक उद्योगी भन्छन् ‘यसमा एसोसिएट र वस्तुगत विधाको मत जोडिँदा ५१ प्रतिशत मत भार ढुक्कले कट्ने देखिन्छ ।’

जिल्ला, नगर, एशोसिएट र वस्तुगत सबैतिर आक्रामक प्रचारमा रहेका अञ्जन श्रेष्ठ र रामचन्द्र संघाई भने ढकालसँगै वर्तमान अध्यक्ष शेखर गोल्छा, पुर्व अध्यक्ष पशुपति मुरारका र अन्य पूर्वअध्यक्षहरुको निर्णयको पर्खाइमा छन् ।

जिल्ला र नगरतर्फ आफ्नो पक्षमा मतभार बढाउन अधिकतम प्रयास गर्ने र उम्मेदवारी घोषणाको अन्तिममा पूर्व अध्यक्षहरुको साथ लिने रणनीतिमा अञ्जन श्रेष्ठ र संघाइ छन् ।

महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका आफू कुनै पनि उम्मेदबारको पक्षमा नलाग्ने बताउँछन् । ‘म पूर्वअध्यक्ष हुँ अब मैले महासंघको नेतृत्वको राजनीतिमा चासो राख्नु ठीक हुँदैन’, मुरारकाले भने, ‘मेरो सदासयता र चासो राम्रो महासंघको पक्षमा मात्रै हुन्छ ।’

जिल्ला–नगर निर्णायक

महासंघको निर्वाचनमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघको मतभार सबै भन्दा धेरै अर्थात ५० प्रतिशत छ । महासंघमा वरिष्ठ उपाध्यक्ष जित्न ५१ प्रतिशत मतभार आवश्यक हुन्छ ।

जिल्ला नगरबाट बहुमत मतभार आफ्नो पक्षमा पार्ने बित्तिकै महासंघको भावी नेतृत्वमा चयन हुने कुरा वरिष्ठ उपाध्यक्षका चारै जना आकांक्षीलाई थाहा छ । तर, यसपटक जिल्ला र नगरको मतभार बिद्रोहमा जाने खतराका कारण केही उम्मेदवार भने सशंकित छन् ।

बैंकको चर्को ब्याजदर, चालु पुँजी कर्जा मार्गदर्शन र अर्थतन्त्रमा देखिएको समस्याका कारण बढी प्रताडित साना उद्योगीको पक्षमा यस पटक महासंघ नउभिएको जिल्ला तथा नगर उद्योग वाणिज्य संघका पदाधिकराीहरुको आरोप छ ।

साना उद्योगी व्यवसायीको समस्यामा महासंघले दरिलो मुद्धा उठान नगरेको, उल्टै मुद्धा तुहाउन आग्रह गरेको भन्दै जिल्ला नगरको मत यस पटक बिद्रोही हुने र त्यसको असर वर्तमान अध्यक्षले सर्मथन गर्ने उम्मेदवारलाई पर्ने अड्कल पनि कतिपयको छ ।

एसोसिएट र वस्तुगतर्फको क्रमश ३० र २० प्रतिशत मतभारमा ढुक्क हुने उम्मेदवारका लागि पनि जिल्ला नगरका कारण अप्ठेरो स्थिति रहेको जानकारहरु बताउँछन् ।

त्यसो त अन्तिम समयमा मतभारमा राजनीतिक भागबण्डा हाबी हुने सम्भावनाका कारण अन्तिमसम्म उम्मेदवारी कायम राख्ने निश्चित उम्मेदबार बीच मात्रै प्रतिस्पर्धाको सम्भावना पनि छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend