जन आकाश
काठमाडौ । पछिल्लो समय दूधजन्य पदार्थको भाउ ह्वात्तै बढेको छ । एक वर्षको अन्तरालमा दूधको मूल्य लिटरमा १४ रूपैयाँ बढेको छ । पोहोर माघ १७ गते सरकारले कच्चा दूधको मूल्य प्रतिलिटर ५६ रूपैयाँ ४ पैसा निर्धारण गरेको थियो । यो भनेको किसानले पाउने मूल्य हो ।
त्यसको एक वर्ष एक महिनामा अर्थात् यही फागुन १९ मा दूधको भाउ ६५ रूपैयाँ ५ पैसा तोकियो । कच्चा दूधको मूल्य बढेपछि डेरी उद्योगीहरूले बजार मूल्य बढाइ हाल्छन् । पहिले ८६ रूपैयाँमा एक लिटर दूध पाउने उपभोक्ताले अब एक सय रूपैयाँ तिर्नुपर्छ । दूधको भाउ बढेसँगै यसबाट बन्ने अरू उत्पादनको पनि भाउ बढेको छ । दही लिटरको एक सय ३० रूपैयाँबाट एक सय ६० पुग्यो। घिउ लिटरमा दुई सय रूपैयाँ बढेर एक हजार तीन सय रूपैयाँ पर्न थालेको छ । पनीर पनि किलोमै एक सय ५० रूपैयाँ बढेर अब नौ सय ५० रूपैयाँ तिर्नुपर्ने भएको छ । यसबाहेक नौनी र अरू दूधजन्य पदार्थको भाउ पनि बढेको छ ।
एक वर्षमै भाउ बढ्दा दूधजन्य पदार्थ एक्कासि महँगो परेको उपभोक्ताहरूले गुनासो गर्न थालेका छन् । सरकारले २०७४ सालमा बनाएको नीतिअनुसार पनि दूधको मूल्य प्रत्येक दुई दुई वर्षमा मात्र समायोजन गरिनु पर्छ ।
राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादव दूधको लागत मूल्य बढेका कारण बजार भाउ बढेको बताउँछन् । उत्पादन घटेको समयमा लागत मूल्य हेरेर कच्चा दूधको मूल्य परिवर्तन गर्न सकिने व्यवस्था रहेको उनले बताए । नीतिअनुसार दुई र दुई वर्षमा भाउ बढाउने भन्ने हो । तर दूध उत्पादन घटेका बेला लागत हेरेर भाउ बढाउन सकिन्छ, उनले भने, पछिल्लो समय गाई ,भैंसीलाई खुवाउने दाना, चोकरको मूल्य बढेको पायौं । दूध उत्पादनको लागत नै धेरै भएको छ ।
दूधको भाउ समायोजन गरिनुपर्ने माग किसानहरूले पनि राख्दै आएका थिए । लागत बढी भएकै कारण दूध उत्पादन कम हुन थालेको उनीहरूको भनाइ थियो । नेपाल दूधजन्य पदार्थमा आत्मनिर्भर भएकाले यसको आयात गर्न रोक छ । तर पछिल्लो समय बजार मागअनुसार उत्पादन हुन हम्मे परेको व्यवसायीहरूले बताउँदै आएका थिए ।
लागत महँगो पर्नुको पहिलो कारण गाई ,भैंसीलाई खुवाउने दानाको भाउ बढ्नु हो ।
चितवनका किसान तथा दूध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेका अनुसार यही एक वर्ष अवधिमा दानाको मूल्य किलोमा १५ देखि २० रूपैयाँसम्म बढेको छ । त्यस्तै ढुटो, चोकर, पिठो लगायतको पनि यही हिसाबले भाउ बढेको छ । जेठदेखि मंसिरसम्म दूध उत्पादन हुने सिजन हो, पुसदेखि वैशाखसम्म भने घट्छ, उनले भने, किनभने यो समयमा (अफसिजन) पानी परेको हुँदैन पानी नपरेपछि हरियो घाँस पलाउन पाउँदैन । गाईभैंसीको मुख्य आहारा दाना मात्र हुन्छ। दाना मात्र खुवाउँदा दूध धेरै आउँदैन। अर्कातिर आहाराको लागत पनि बढी पर्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend