जन आकाश
काठमाडौ । साविक विजेता प्रतिभा फुटबल क्लब गोलबजार सिराहालाई हराउँदै ध्रुवतारा फुटबल क्लब झापाले मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगर जुट मिलको खेल मैदानमा शनिबार सम्पन्न फाइनलमा सिराहालाई ३–२ गोल अन्तरले हराउँदै झापाले उपाधि हात पारेको हो ।
जितका लागि झापाका गौरव धिमालले दुई गोल र प्रविण राईले एक गोल गरेका थिए । सिरहाको तर्फबाट बिनु आलेमगर र विधान लामाले गोल गरेका थिए । उपाधिसँगै झापाले २ लाख ११ हजार रुपैयाँ पाएको छ । उपविजेता सिराहाले १ लाख ११ हजार रुपैयाँमा चित्त बुझायो । खेल सुरू भएको १६ औं मिनेटमा झापाका गौरव धिमालले गोल गरी अग्रता दिलाएका थिए । ३७ औंं मिनेटमा झापाका प्रविण राईले अग्रता दोब्बर पारे ।
५० औं मिनेटमा सिराहाका बिनु आले मगरले गोल गरी खेललाई २–१ को स्थितिमा ल्याए । सिराहाले गोल फर्काएको पाँच मिनेट बित्न नपाउँदै झापाका गौरव धिमालले मैदानको मध्यभागबाट बललाई एक्लै लगेर सुन्दर गोल गरेर टोलीको जीत निश्चित पारेका थिए । सिराहाका लागि खेलको इन्ज्युरी समयमा विधान लामाले गोल गरी अन्तर छोट्याएका थिए । प्रतियोगिताको म्यान अफ द फाइनल झापाको गौरव धिमाल घोषित भए ।
यस्तै उत्कष्ट गोलरक्षक झापाका आयुष लिम्बु, मिडफिल्डर सिरहाका सुजन पुलामी, डिफेन्स गोलबजारका मुकेस माझी, बेस्ट फरवार्ड झापाका प्रविण राई, उत्कृष्ट कोचमा झापाका सन्दिप मगर घोषित भए । प्रतियोगिताको सवोत्कृष्ट खेलाडी झापाका प्रविण राई घोषित भए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend