जन आकाश
काठमाडौ । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार बढिरहेको सुनको मूल्य आज हाल सम्मकै उच्च बिन्दुमा पुगेको हो । यस अघि गत माघ १९ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
आज सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा दुई हजार पाँच सय रुपैयाँ बढी हो । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा चार सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला दुई हजार नौ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख सात हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आइतबार चाँदी प्रतितोला ३५ रुपैयाँ बढेको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend