logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गुहेली सञ्चार सहकारीले दिर्घकालिन वचत शुरु गर्दै


  • जन आकाश
  • मंगलबार, चैत्र ७ २०७९

काठमाडौ । बागलुङको गुहेली युनिक सञ्चार सहकारी संस्था लिमिटेडले आगामी नयाँ वर्ष देखि शेयर सदस्यहरुका बीचमा दिर्घकालिन वचत अभियान सञ्चालन गर्ने भएको छ ।



संस्थाले शुक्रवार काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखरामा आयोजना गरेको वित्तीय साक्षरता तथा समसामयिक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष खिम बहादुर कार्कीले छिटै दिर्घकालिन वचत अभियान सञ्चालन गरिने जानकारी गराउनु भयो ।

बागलुङ नगरपालिका र काठेखोला गाउँपालिका कार्यक्षेत्र भएको गुहली सहकारीमा ९ सय जना शेयर सदस्य रहेका छन् । सदस्यहरुका बीच दैनिक, साप्ताहिक र मासिक लगायतका वचत खाताहरु रहेका छन्, तर अब सहकारीमा दिर्घकालिन खालका वचतहरुको योजना आवश्यक ठानेर अभियान सञ्चालनका लागि कार्यविधि समेत तयार पारिएको कार्कीको भनाइ छ ।

वित्तीय साक्षरता कार्यक्रममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीहरु ठुलो वचतमा केन्द्रीत भएकाले तरलताको समस्या आएको बताउनुभयो । ठुलो ठुलो वचत गर्नेहरुलाई ब्याज पनि बढि दिनु पर्ने र एकजनाले रकम फिर्ता गर्दा ठुलो रकम जाने भएकाले तरलताको निरन्तर समस्या पर्ने उहाँको भनाइ थियो ।

सदस्यहरुलाई खर्च घटाउने, आम्दानी बढाउन सिकाएर सहकारीहरुले दिर्घकालिन खालका वचतलाई स्थिर सम्पत्तीका रुपमा राख्ने गरी वचत अभियान सञ्चालन गर्नु पर्नेमा जिसीको जोड दिनु भयो । चल्ती तथा नियमित वचत सदस्यले आवश्यक पर्दा झिक्नका लागि हो, अन्य वचत खाताहरुलाई आवश्यक पर्दा प्रयोग गर्ने खालका बनाउने तर दिर्घकालिन खातालाई अति आवश्यक पर्दा मात्रै प्रयोग गर्ने खालको बनाउनु पर्नेमा उहाँको जोड थियो ।

दिर्घकालिन खाताको वचतलाई सदस्यहरुको स्थिर सम्पत्ती (घरजग्गा) जस्तै बनाउन सकियो भने सदस्यहरुको वचत बढ्नुका साथै संस्थाको दिगोपनामा सहयोग पुग्ने जिसीको भनाइ छ । जिसीले ५० वर्षे नियमित वचतको अभियानका बारेमा जानकारी गराउदै वचतका लागि खर्च घटाउने र आम्दानी बढाउनु पर्ने बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रमको उद्घाटन काठेखोला गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष विद्यापती शर्माले गर्नु भएको थियो । सो अवसरमा बोल्दै उहाँले सहकारीहरुले स्थानीय वासिन्दालाई उत्पादनमा केन्द्रीत गराउने, घरमा उत्पादन गरेको वस्तु खाने बानीको विकास गराउने तथा आयआर्जन गरेको रकम दिर्घकालिन रुपमा वचत गर्ने बानीको विकास गराउनु पर्नेमा जोड दिनुभयो । उहाँले वडा कार्यालयले सहकारीहरुसंग समन्वय गरेर कृषि र पशुपालन क्षेत्रको विकासमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक तथा बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष दिपक गौतम, संस्थाका सल्लाहकारहरु हरिनारायण गौतम र चन्द्रमणी गौतमले सहकारी मार्फत समुदायमा आर्थिक रुपान्तरणका अभियान सञ्चालन गर्नु पर्नेमा जोड दिनु भएको थियो । संस्थाका प्रवन्धक प्रसाद थापाले संस्थाको वर्तमान अवस्था र आगामी योजनाका बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष खिम बहादुर कार्कीको अध्यक्षता, उपाध्यक्ष गिता हमालको स्वागत र सचिव सूर्य बहादुर थापाको  सञ्चालनमा सम्पन्न भएको थियो । संस्थाले वचत तथा ऋणसंगै जननिगरानी साप्ताहिक पत्रिका र खबरवे अनलाईन सञ्चालन गर्दै आइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend