logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एमालेको मिसन ग्रासरुट अभियान ः काठेखोलामा पुग्यो


  • जन आकाश
  • बिहिबार, चैत्र ९ २०७९

बागलुङ । नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तरगत बुधवार काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखराको साविक वडा नं. ६ र ७ मा टोल भेला सम्पन्न भएको छ ।
टोल भेलाका सहभागीहरुले पार्टीका जनसंगठनरुलाई क्रियाशिल बनाउने योजना ल्याउन पार्टी नेतृत्वसंग माग गरेका छन् ।



केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा हुदै पार्टीको सबै भन्दा तल्लो संरचनाका रुपमा रहेको टोल कमिटिमा पुगेको मिसन ग्रासरुट अभियानका क्रममा कार्यकर्ताहरुले जनसंगठनका वैठक, कार्यक्रम र अभियान नभएका कारण युवा पुस्ता राजनीतिबाट टाढिएको बताएका हुन् ।

पार्टीलाई बलियो बनाउने, जनताका पक्षमा काम गर्न दवाव र खबरदारी गर्ने भनेको युवा पुस्ताले हो, तर पछिल्लो समय युवा पुस्ता राजनीतिबाट टाढा बन्दै गएकाले पार्टीले योजना तथा कार्यक्रमहरु बनाउदा जनसंगठनमार्फत युवा परिचालनमा ध्यान दिनु पर्ने सहभागीहरुको जोड थियो । राजनीतिक पार्टीहरुले आफ्नै देशमा उत्पादनमुलक कामहरु गर्न नकसकेको कारण युवा पुस्ता विदेशीएको र राजनीतिप्रति बितृष्णा बढ्दै गएको बताएका थिए ।

पार्टीलाई सबल र सक्षम बनाउने जनसंगठनले हो, पार्टीमा युवा पुस्तालाई सहभागी गराउने र क्रियाशिल बनाउने आत्मनिर्भर बनाउने त्यस्ता काम गर्ने जनसंगठनले हो, तर पछिल्लो समय जनसंगठनहरुको भूमिका प्रभावकारी नभएका कारण राजनीतिमा युवा सहभागिता घट्नुका साथै राजनीतिप्रति युवाको आक्रोश समेत बढ्दै गएको सहभागीहरुको भनाइ थियो ।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सदस्य एवम् केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य राम बहादुर जिसीले पार्टीका सम्पूर्ण कमिटि र जनसंगठनहरुको वैठक, भेला लगायत रचनात्मक क्रियाकलाप गर्नका लागि आग्रह गरेका थिए ।

पार्टीका काठेखोला गाँउपालिका कमिटिका सचिव एवं वडा नं. २ का अध्यक्ष विद्यापती शर्माले सहभागीहरुले राखेको जिज्ञासा तथा वडाका तर्फबाट साविक वडा नंं ६ र ७ मा भएका विकास निर्माण लगायत सामाजिक अभियानका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा जिल्ला सचिवालय सदस्य कोपिला खरेल सापकोटा, काठेखोला गाउँपालिका कमिटिका सदस्य चन्द्रमणी उपाध्याय, वडा सदस्यहरु भीम केसी र चन्द्रकला थापाले एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानबाट पार्टी कार्यकर्ताहरुको उत्साह बढेको र थप क्रियाशिल हुन सहयोग पुगेको बताएका थिए ।

भीमापोखरा साविक वडा नं. ६ मा भएको कार्यक्रमको अध्यक्षता टोल कमिटिका संयोजक भीम सार्की र साविक वडा नं. ७ मा भएको भेलाको अध्यक्षता जेष्ठ सदस्य लिलाराम थापको अध्यक्षतामा सम्पन्न भएको थियो । दुवै टोल भेलाको सञ्चालन पार्टीका वडा कमिटि अध्यक्ष नारायणदत्त रेग्मीले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend