जन आकाश
यतिवेला सरकारले मलको भाउ बढाएको छ । युरिया मल किलोमा ११ रुपैयाँ, डीएपी किलोमा ७ रुपैयाँ र पोटास किलोमा ९ रुपैयाँले महँगो भएको छ । नयाँ मुल्य युरिया प्रतिकिलो २५ रुपैयाँ, डीएपी ५० रुपैयाँ र पोटास ४० रुपैयाँ कायम भएको छ । भुगोलको आधारमा दुवानी भाडा अनुसार फरक पर्नसक्ने छ भनि कृषि मन्त्रालयले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
नेपाल कृषिप्रधान देश भनेर रटाई रटाई पढाउने र कृषकले चाहेका वेलामा मल नपाउने, वीउ नपाउने उत्पादन गरेको कृषि उत्पादनको भाउ नपाउने बीचौलिया चै रातारात मालमाल हुने चलन आजको होइन । बशौबर्षको समस्या हुदै आएको छ ।
नेपालमा खेती हुने समयमा किसानले मल नपाएर हाहाकार भई किसानहरु तनावमा बिताउने गरेका छन् । समयमा मल खरिद गर्न नसक्ने सरकार कहिले बङगलादेशले मल दिएन भन्छ । कहिले भारतमा अड्कियो भन्छ । ठेक्का खोल्दा प्रधानमन्त्रीका घरवेटीहरुले ठेक्का नपाउदा मलको विषयमा विवाद निकालेर सवै काम ठप्प हुन्छ । यस्तो विदारक पीडा किसानले व्यहोर्दै आएका छन् ।
किशानले समयमा मल पाउछौ भनेर सरकारले भनेपनि अर्काको देशवाट किनेर लिएर आउने सामानको ग्यारेण्टी हुदैन । जवसम्म आफ्नै देशमा आफ्नै मल कारखाना खोलिदैन । मलको अभाव र तनाव कम हुने देखिदैन । त्सैले नेपालमा आफ्नै मल कारखाना स्थापना गर्ने गृहकार्य केही समय अगाडी भएको थियो । सार्वजानिकस्थलमा नै डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुदा “१०० मेगावाट विधुतले पुग्दो रहेछ । त्यसैले मल कारखाना खोलौ” भनेर भनेका थिए । तयासपछि समितिहरु बनेका थिए । ति समितिहरुले प्रतिवेदन पनि तयार गरेका छन् । कार्यविधि पनि बनेको छ । तर कार्यन्वयन हुन सकेको छैन ।
त्यो कार्यविधिलाई कार्यन्वयनमा ल्याउन नेपालमा रासायनिक मल कारखाना स्थापना गर्न वर्तमान सरकारले ध्यान देओस र चाडै रासायनिक मल कारखाना खोलेर नेपालका किसानहलाई जहिले पनि खेती लगाउने सिजनमा तनाव व्यहोर्नुपर्ने चलनको अन्त्य गरोस् ।
यति एउटा काम मात्र यो सरकारको कार्यकालमा गर्न सक्यो भने नेपाललाई सुजरल्याण्ड जस्तो बनाउछु भनेर भाषण गरिरहनै पर्दैन । नेपाल नेपालै जस्तो रहन्छ । विकसित नेपाल आधुकिनक नेपाल र नेपालले बार्षिक खरबौ रुपैयाको खाद्यन्न आयात गरेर खानुपर्ने भएको छ । त्यो अन्त्य भएर मल कारखाना नेपालमा हुने हो र उर्वर क्षेत्रहरुमा सिचाईको राम्रो व्यवस्थापन गरिदिने हो भने नेपालले खाद्यन्न निर्यात गरेर नेपाल धनि बन्न सक्छ । नेपाल बनाउन हजारौ काम गर्नुपर्दैन एउटा काम परिणाम आउने गरी गरेपुग्छ ।
२०७८ मंसिर ९ गते सार्वजानिक गरेको राष्ट्रिय जनगणनाको तथ्याङक अनुसार जम्मा नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।त्यस मध्य विदेशमा झण्डै ५० लाँख जनसंख्या काम गर्न विदेश गएका छन् । बाकी रहेका लगभग साढे २ करोड जनसंख्यालाई व्यवस्थापन गर्न कतिपनि गारो विषय होइन । अर्को कुरा नेपालका नेपालीहरु कुनैपनि देशका जस्ता अल्छि नागरिक छैनन् । मेहेनत असाध्यै गर्छन । कर्ममा विश्वास गर्छन ।
मात्र सरकारले वातावरण बनाईदिने हो भने नेपालको भविष्य नेपाली जनताले बनाउछन् । सरकारले त केवल नीति बनाउने र कार्यन्वयन गर्ने मात्र हो । त्यसकारण कृषिप्रधान देशमा एउटा मल कारखाना स्थापना गर्न जुनसुकै चुनौति व्यहोरेर भएपनि काम थाल्नु सरकारको दाइत्व र कर्तव्य हो । यो काम चाडै थालिहालोस् ।
चैत्र ७ गते जन आकाश साप्ताहिकमा प्रकाशित सम्पादकीय हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend