जन आकाश
काठमाडौ । सांसदहरूले मिटरब्याज पीडितहरूको माग सम्बोधन गर्न तत्काल ठोस निर्णय गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बैठकमा सांसदहरूले देशका विभिन्न स्थानबाट काठमाडौंमा आई आन्दोलनरत पीडितहरूको न्यायका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् । आजको बैठकको सुरुमा नै सभामुखसँग समय मागेर बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले एकजना मिटरब्याज पीडित सिराहादेखि १३ दिनसम्म बच्चा बोकी पैदलै हिँडेर काठमाडौंको आन्दोलनमा आएको कुरा उल्लेख गर्दै उनीहरूको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरे ।
समय माग गर्दै बोल्नुभएका राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मिटरब्याज पीडितहरूको माग चाँडोभन्दा चाँडो पूरा गरी पीडितहरूलाई न्याय दिन आग्रह गरे । साथै, उनले आफ्नो पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीमाथि दुर्व्यवहार गर्न खोजिएको भन्दै आपत्ति जनाए । सांसद लिङ्देनले कोसी प्रदेशको नामकरणपछि चर्किएको आन्दोलन मुठभेडतर्फ अगाडि बढेकोमा सरकारको ध्यानाकर्षण गराउँदै वार्तामार्फत समाधान खोज्न ध्यानाकर्षण गराए ।
जनता समाजवादी पार्टीका सांसद रन्जुकुमारी झाले मिटरब्याज पीडितहरू पैदल हिँडेर अहिले राजधानी आई आफ्नो पीडा पोखिरहेको उल्लेख गर्दै उनीहरूको माग सम्बोधनका लागि सदनबाटै एउटा समिति बनाएर काम थाल्नुपर्ने राय प्रस्तुत गरिन् । आमजनता पार्टीका प्रभु साहले मिटरब्याज पीडितहरूको आन्दोलन चर्किरहेकाले उनीहरूको समस्या तत्काल समाधान गर्न सभामुखमार्फत सरकारलाई रुलिङको माग गरे ।
उनले बैंकले ऋण उपलब्ध नगराउँदा नागरिक चर्को ब्याजदरमा मिटरब्याजबाट ऋण लिन बाध्य भएको बताउँदै कर्जा प्रवाहका विषयमा लघुवित्त र बैंकहरूमा विद्यमान बेथितिको निराकरणका लागि ठोष कानुनको आवश्यकता रहेको बताए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend