जन आकाश
काठमाडौ । नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई २०७९ अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका विद्यार्थीहरुलाई निःशुल्क सिम उपलब्ध गराउने छ । र त्यसमा बोनस अन रिचार्ज (Bonus On Recharge Pack) पनि उपलब्ध हुनेछ ।
२०७९ चैत २४ देखि उपलब्ध हुने यो अफर ३ महिना (९० दिन) सम्म उपलब्ध हुने छ ,भने बोनस अन रिचार्ज ६ महिनासम्म उपलब्ध गराइने छ । उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क उपलब्ध हुनेछ । सिमकार्ड प्रयोगमा आउना साथ ३० दिनसम्मका लागि विभिन्न अफरहरु उपलब्ध हुनेछन् । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ । भने सोही सिममा यी अफरहरु उपयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरुले सिम कार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने रु. १० बाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिन्छ । साथै एक महिनासम्म जम्मा ४० मिनेट अन नेट कल गर्न, ६० एमबी डाटा चलाउन र ३० वटा अन नेट एसएमएस सहितको सुविधा प्रयोग गर्न सक्नेछन् । यसका अतिरिक्त यसबाट नेपाल टेलिकमको नेटवर्क भित्र दैनिक २० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने छ ।
यस अनुसार ३० दिनसम्म ३००० एमबी डाटा, ६०० मिनेट टकटाइम र ३०० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ । नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरुले प्रवेश पत्र (Admit Card) वा कक्षा १० को मार्कसिटको फोटोकपी, एक प्रति फोटो र अभिभावकको नागरिकता वा आफ्नो परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ ।
यस अफर अन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमारु. ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ । रिचार्जमा ६ महिनासम्म बोनस सुविधा प्राप्त हुनेछ । र बोनस प्राप्त भएको तीन दिन भित्र प्रयोग गरिसक्नु पर्दछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend