जन आकाश
काठमाडौ । राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीमा आउने हरेक समस्याको समाधान शेयर सदस्यहरुका बीचमा बसेर खोज्न सहकारीका सञ्चालक र व्यवस्थापकहरुलाई आव्हान गर्नु भएको छ ।
राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले शुक्रवार बलेवामा आयोजना गरेको बलेवा क्षेत्रका सहकारीका सञ्चालकहरुको क्षमता अभिवृद्धि कार्यक्रममा सहजीकरण गर्दै जिसीले यस्तो बनाउनु भएको हो ।
सहकारीमा आउने समस्याको समाधान राज्यसंग, अभियानसंग वा अन्यत्र खोजेर मात्र समाधान हुदैन, समस्या संस्था सञ्चालन प्रक्रियामा छ, समाधान सदस्यहरुसंग छ, बैंकका सञ्चालक जिसीले भन्नुभयो, ‘समस्या संस्थामा हुन्छ, समाधान अन्यत्र खोजेका कारण सहकारी अलमलमा छ, अब समस्याको समाधान शेयर सदस्यहरुको बीचमा बसेर खोजौ, समस्या समाधान सदस्यहरुबाट मात्रै संभव छ ।’
सहकारीका संरक्षक, सञ्चालनकर्ता र उद्धारकर्ता कोही छ भने सदस्यमात्र हुन्, सदस्यलाई बाहिर राखेर सहकारीमा देखिने समस्या समाधान नहुने भएकाले सदस्यहरुलाई संस्थाको यथार्थ अवस्था जानकारी गराउने, कमजोरी भएका छन् भने सुधारका लागि प्रतिवद्धता व्यक्त गरेर सहकारीलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सकिने जिसीको भनाइ छ ।
कार्यक्रमका सहभागीहरुले सहकारीका सदस्यहरुलाई बढी ब्याजको प्रलोभन देखाउने, ऋण लगानीका अनावश्यक प्रतिस्पर्धा गर्ने, सदस्य शिक्षाका कार्यक्रम सञ्चालन नगर्ने, नाफाका लागि मात्रै सदस्य बन्ने लगायतका समस्या देखिएको भन्दै सहकारीको अनुगमनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend