जन आकाश
काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौडामा डिजिटल संवाद ४.० आयोजना भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा बिहीबार हेटौडामा डिजिटल बागमती संवाद इन एशोशिएसन विथ फोनपे आयोजना भएको हो ।
बिहीबार भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठको उपस्थिति रहेको थियो ।
यस्तै कार्यक्रममा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव धुर्व गौडा, प्रदेश योजना आयोगका सदस्य सचिव रामकृष्ण पुडासैनी, नेपाल दूरसञ्चार प्राधिकरणका सहायक निर्देशक निराजन कोइराला, बागमती प्रदेश सञ्चार रजिष्टार कार्यालयका सञ्चार रजिष्टार रेवती प्रसाद सापकोटा, इन्टरनेट फाउन्डेसन नेपालका अध्यक्ष विक्रम श्रेष्ठसँगै उच्च सरकारी अधिकारी, विभिन्न संस्थाका प्रतिनिधि लगायतको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री श्रेष्ठले प्रविधिको प्रयोगबिना सम्वृद्धि सम्भव नभएको बताए । ‘प्रविधिको प्रयोगबाट मात्रै सम्वृद्धि सम्भव छ भन्ने कुरामा बागमती प्रदेश सरकार स्पष्ट छ,’ उनले भने, ‘त्यसका लागि सूचना प्रविधिमैत्री कानुन निर्माण गर्ने र भएका कानुनलाई समयानुकुल परिमार्जन गर्ने र कार्यान्वयन गर्ने कुरामा प्रदेश सरकार प्रतिवद्ध छ ।’
डिजिटल संवादमा प्रदेशको डिजिटल अवस्था बारे प्रदेश सरकार, जनप्रतिनिधि, सरोकारवाला र सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिबीच वृहत छलफल भएको छ । संवादमा ३ वटा कार्यपत्र प्रस्तुत भएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend