logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

जलवायुजन्य विपद् न्यूनीकरण गर्न अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्यमा मन्त्री श्रेष्ठको जोड


  • जन आकाश
  • बुधबार, कार्तिक १२ २०८३

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएका विपद्को जोखिम न्यूनीकरण गर्न अन्तरिक्ष प्रविधि, तथ्याङ्क आदानप्रदान र क्षेत्रीय सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।



थाइल्यान्डको बैंककमा आयोजित एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले उपग्रहबाट प्राप्त सूचना, पूर्वचेतावनी प्रणाली र प्राविधिक सहयोगलाई सुदृढ बनाउन आग्रह गरेका हुन्।

उनले हिमाली क्षेत्रमा हिमपहिरो, पहिरो तथा अन्य प्राकृतिक विपद्का घटना बढ्दै गएको उल्लेख गर्दै समयमै जोखिम पहिचान र पूर्वचेतावनी दिन आधुनिक प्रविधिको उपयोग आवश्यक रहेको बताए।

मन्त्री श्रेष्ठले लाङटाङ लिरुङमा भएको हिमपहिरो तथा बुढीगण्डकी क्षेत्रमा पहिरोका कारण भएको क्षतिको प्रसङ्ग उल्लेख गर्दै विपद्बाट भएको क्षति करिब २.७ अर्ब अमेरिकी डलर बराबर पुगेको र पुनःनिर्माणका लागि ४.८ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान रहेको जानकारी दिए।

उनका अनुसार हिमाली क्षेत्रमा उत्पन्न हुने विपद्को प्रभाव सीमापारिसम्म फैलिन सक्ने भएकाले क्षेत्रीय स्तरमा सहकार्य र सूचना आदानप्रदानलाई प्राथमिकता दिनुपर्छ। उपग्रहबाट प्राप्त तथ्याङ्क, स्थानीय समुदायको ज्ञान र वैज्ञानिक अनुगमनलाई एकीकृत गरी समयमै चेतावनी दिने प्रभावकारी प्रणाली विकास गर्नुपर्नेमा उनले जोड दिए।

मन्त्री श्रेष्ठले नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन हासिल गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै स्वच्छ ऊर्जा प्रवर्द्धन र जलविद्युत् पूर्वाधारको सुरक्षालाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए।

सम्मेलनका क्रममा नेपाल र संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (ESCAP) को संयुक्त आयोजनामा ‘सगरमाथादेखि सागरसम्म’ विषयक क्षेत्रीय संवादसमेत आयोजना हुने कार्यक्रम छ। उक्त संवादमा विपद् व्यवस्थापन, जलवायु परिवर्तनका चुनौती तथा क्षेत्रीय सहकार्यका उपायबारे छलफल गरिनेछ।

हिमाली क्षेत्रको जोखिम न्यूनीकरण, आधुनिक प्रविधिको प्रयोग र अन्तरदेशीय सहकार्यलाई प्रभावकारी बनाउने विषय सम्मेलनको महत्त्वपूर्ण प्राथमिकताका रूपमा रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend