logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

मलेसियासँग पाँच टी–२० शृंखलाको तेस्रो खेलमा नेपाल विजयी


  • जन आकाश
  • बिहिबार, जेष्ठ १८ २०८०

काठमाडौं । मलेसियासँग पाँच टी–२० शृंखलाको तेस्रो खेलमा नेपाल २७ रनले विजयी भएको छ । योसँगै शृंखलामा नेपालले २–१ को अग्रता लिएको छ ।



मलेसियाको बान्गीस्थित यूएडी–यूकेएम क्रिकेट ओभलमा १११ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर ८३ रन मात्र बनाउन सक्यो । मलेसियालाई रोक्न कविता कुँवर, सीता रानामगर र इन्दू बर्माले १–१ विकेट लिए ।

मलेसियाका लागि माहिरा इज्जती इस्मेलले अविजित ४४ रन बनाइन् । उनले ५४ बलमा ६ चौका प्रहार गरिन् । ओपनर विनीफ्रेड दुराइसिंगम २० रन बनाएर सीताको बलमा विन्दू रावलबाट क्याचआउट भइन् ।

अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । अइना नज्वा ९ रनमा अविजित रहिन् । नेपालका लागि आजको खेलमा सरस्वती कुमारी चौधरीको स्थानमा इश्वरी विष्टले राष्ट्रिय टिममा डेब्यु गरेकी छन् । उनले आजको खेलमा डेब्यु गर्दै ४ ओभर बलिङ गर्दै १६ रन खर्चेकी हुन् । बाँया हाते स्पिनरको इश्वरी घरेलु क्रिकेटमा सुदुरपश्चिमबाट खेल्छिन् ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक २७ रन बनाइन् । रुविनाले १५ बलमा ३ चौका र १ छक्का प्रहार गरिन् । ओपनर कविता कुँवर ७ बलमा २ रन बनाउँदै बोल्ड भइन् । अर्की ओपनर सीता रानामगर ३५ बलमा २१ रन बनाउँदै क्याच आउट भइन् । विकेटकिपर ज्योती पाण्डेले २४ बलमा ३ चौकासहित २३ रन बनाइन् । इन्दु बर्माले २० रन बनाइन् भने, कविता जोशी र विन्दु रावल क्रमश  १ र ३ रनमा अविजित रहे ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend