logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

साफ च्याम्पियनसिप मा कुवेतसँग  नेपाल भिड्दै


  • जन आकाश
  • बुधबार, असार ६ २०८०

दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आजबाट भारतमा सुरू हुँदैछ। भारतको बेंग्लोरमा हुने प्रतियोगिताको उद्‌घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुँदैछ। कुवेत आमन्त्रित टिमको रुपमा साफमा सहभागी भएको हो।छोटो तयारीकाबीच भारत पुगेको नेपालका लागि यस संस्करणमा कठिन चुनौती छ। यद्यपी प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले नेपाली टिम कठिन चुनौतीको सामना गर्न तयार भएको बताएका छन्।



नेपाल र कुवेतबीच सन् २०१९ यता पाँच खेल भएका छन्। सन् २०१९ मा कुवेतमा भएको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेपछि चार खेलमा कुवेतले जित निकालेको छ। गत वर्ष एसियन कपको छनोटमा कुवेतले नेपालमाथि ४-१ गोलको जित निकालेको थियो। नेपाली राष्ट्रिय फुटबल टिम गत साता फिलिपिन्ससँग मैत्रीपूर्ण खेलेपछि साफ च्याम्पियनसिपमा भाग लिन नेपाली टिम भारतमा पुगेको थियो। प्रशिक्षक एनेसेले कमजोर तयारीका बावजुद फिलिपिन्ससँगको खेलमा १-० गोलले पराजित भए पनि राहत महसुस गरेका थिए। फिलिपिन्ससँग यसअघिका खेलभन्दा कम गोल खानु नेपालका लागि उपलब्धि बन्यो।

नेपालले साफका लागि कमजोर तयारी गर्दा अरु टिमले भने राम्रो तयारी गरेका छन्। साफका लागि भारतले घरेलु मैदानमा इन्टरकन्टिनेल्टल कप आयोजना गर्‍यो। भानुआटु, मंगोलिया र लेवनानसँग खेल्दा भारतले अपराजित रहदै उपाधि जित्यो। आइतबार भएको लेवनानविरुद्धको फाइनलमा भारत २-० गोलले विजयी भयो। कुवेत नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो। यस्तै पाकिस्तानले विदेशमा खेलिरहेका खेलाडीलाई समेटेर बलियो टिम बनाएको छ।
फिफा वरीयतामा भारत १०१औं, कुवेत १४३औं, नेपाल १७४औं र पाकिस्तान १९५औं स्थानमा छन्।

नेपाल, भारत, कुवेत र पाकिस्तान समूह ‘ए’ मा छन्। समूह ‘बी’ मा लेवनान, भुटान, बंगलादेश र माल्दिभ्स छन्।दुवै समूहका शीर्ष दुई दुई टिम सेमिफाइनलमा पुग्नेछन्। फाइनल आगामी असार १९ मा हुनेछ। च्याम्पियनसिपको यो संस्करणमा साफ बाहिरका टिमलाई आमन्त्रित टिमको रुपमा सहभागी गराउने निर्णयअनुसार लेवनान र कुवेतले पनि साफ खेल्न लागेका हुन्। श्रीलंकालाई फिफाले प्रतिबन्ध भएकाले उसले प्रतियोगितामा भाग लिन पाउनेछैन। सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिपको सन् २०२३ को संस्करण १४औं संस्करण हो। सन् २०२१ मा माल्दिभ्समा भएको पछिल्लो साफमा भारतले उपाधि जितेको थियो। त्यतिबेला नेपाल फाइनलमा पराजित हुँदा पहिलो उपाधि जित्नबाट बन्चित भएको थियो। १३ संस्करण मध्ये भारतले आठ पटक उपाधि जितेको छ। नेपालले भने अहिलेसम्म उपाधि जित्न सफल भएको छैन। गत संस्करणको फाइनलमा पुग्नु नेपालको उच्च प्रदर्शन हो।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend