जन आकाश
काठमाडौं । वीर अस्पतालमा साउन १ गतेदेखि ओपीडी सेवा बिहान ८ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले असार २२ गते गरेको निर्णय अनुसार वीर अस्पतालमा बिहान ८ बजेदेखि ओपीडी सेवा सञ्चालन गर्ने कार्यक्रम आज देखी कार्यान्वयनमा आउन लागेको हो ।
दूरदराजका बिरामीले अनलाइनबाट टिकट काट्न नसकेपछि सेवा प्रवाहलाई बिहानैदेखि सुरु गरिएको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए ।
साउन १ गतेदेखि बिरामीले बिहानै ७ बजेदेखि टिकट लिने व्यवस्था गरिएको हो । अपराह्न साढे २ बजेसम्म टिकट लिन पाइने छ । त्यस्तै स्वास्थ्यकर्मीले बिहान ९ बजेभन्दा अगावै जिम्मेवारी हस्तान्तरण गर्ने व्यवस्था गरिएको डा.पौडेलले जानकारी दिए ।
शल्यक्रिया सेवा पनि बिहान ८ बजेदेखि नै सुरु गर्ने र गराउने भन्दै डा.पौडेलले सबै विभाग, युनिट, शाखा र वार्डमा परिपत्र गरेका छन् । बहिरंग सेवा बिहान ९ बजेभन्दा अघि नै सुचारु हुने जनाइएको छ ।
वीर अस्पतालमा कार्यरत चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मी र कर्मचारीका लागि ई–हाजिरी अनिवार्य गरिएको छ । ओपीडी सेवाका कर्मचारीहरूको हाजिरीका लागि बिहान सवा ८ बजे र अपराह्न पौने चारबजेको हाजिरीलाई मात्र मान्यता दिइने जनाइएको छ ।
प्रयोगशालाको सेवा पनि बिहान ७ बजेदेखि नै सुरु हुने छ । खाली पेटमा जाँच गर्नुपर्ने खालका बिरामीको सहजताका लागि बिहानैदेखि सेवा सुरु गरिएको छ । गत असार ८ गतेदेखि ७ सयवटा जनरल बेड अस्पतालमा निःशुल्क छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend