logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

चेक रिपब्लिकका अनररी कन्सुल जनरल विष्णु कुमार अग्रवाल नयाँ डिनमा नियुक्त


  • जन आकाश
  • सोमबार, साउन ८ २०८०

काठमाडौं । अवैतनिक वाणिज्य तथा महावाणिज्य दूतहरुको संगठन अनररी कन्सुलर कप्र्स नेपाल (एचसीसीएन) को १६ औं साधारणसभा तथा चार्टर डे काठमाडौंको ¥याडिसन होटल, लाजिम्पाटमा सम्पन्न भएको छ ।



सम्माननीय उप–राष्ट्रपति रामसाहय प्रसाद यादवको प्रमुख आतिथ्यता तथा माननीय परराष्ट्र मन्त्री  एन.पी साउदको विशिष्ट अतिथ्यतामा सम्पन्न भएको साधारण सभाले चेक रिपब्लिकका अनररी कन्सुल जनरल विष्णु कुमार अग्रवाललाई नयाँ डिनका रुपमा नियुक्त गरेको छ ।

सम्माननीय उपराष्ट्रपति  रामसाहय प्रसाद यादवले उद्घाटन गर्नु भएको सो कार्यक्रममा उहाँले नेपालको द्वौत्य सम्बन्ध रहेका तर आवासीय राजदूतावास नभएका विभिन्न ५९ देशमा अनररी कन्सुलर कप्र्सले पुर्याएको योगदानप्रति कृतज्ञता ब्यक्त गर्नु भयो । ‘आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको नेपालका लागि सबै राष्ट्रसँग सुमधुर सम्बन्ध बनाई राख्नु आजको आवश्यकता हो । यसमा एचसीसीएनको सहयोग रहने अपेक्षा गरेका छौं,’ उपराष्ट्रपतिले भन्नु भयो, ‘नेपालमा लगानीका सम्भावना भएको क्षेत्रहरु धेरै छन् । विदेशी लगानी आकर्षित गर्न र नेपालले भोगिरहेको जलवायु परिवर्तनको समस्याको समाधानका लागि सम्बन्धित राष्ट्रसँग समन्वय गर्न आवश्यक छ ।’

त्यसैगरी, माननीय परराष्ट्रमन्त्री एन पी साउदले एचसीसीएनका सदस्य मुलुकहरुलाई नेपाल भ्रमणका लागि मात्र गन्तव्य नभई लगानीको राम्रो गन्तव्य भएको सन्देश दिन आग्रह गर्नु भयो । उहाँले दौत्य सम्बन्ध कायम भएका देशहरुको प्रतिनिधित्व गर्दै गर्नु भएको निस्वार्थ सेवा कार्यहरु तथा नेपालको ब्यापार तथा पर्यटन प्रवद्र्धनमा खेलेको भूमिको प्रशंसा गर्नु भयो । उहाँले एचसीसीएनका सदस्यहरुबाट प्रदान गर्ने सेवालाई सहज गर्न पहल गर्ने पनि बताउनु भयो ।

कार्यक्रममा एचसीसीएनका डिन दिनेश श्रेष्ठले भियना कन्सभेनसन अन्तर्गत रहेर एचसीसीएन र यसका सदस्यहरुले आफ्नो जिम्मेबारी निर्वाह गरिरहन भएको बताउनु भयो । उहाँले नेपाल भ्रमणमा रहनु भएका एचसीसीएन सम्बन्ध नागरिकको सुरक्षा र हेरचाहमा कुनै कमी नल्याएको पनि बताउनु भयो ।

‘प्रविधि स्थानान्तरण, व्यापार व्यवसाय विस्तार तथा दिपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन हामीले भूमिका निर्वाह गरिरहेका छौं’ उहाँले भन्नु भयो, ‘हाम्रो जिम्मेबारी निर्वाह गर्न महत्वपूर्ण सहयोग गर्नु भएकोमा म परराष्ट्र मन्त्रालयलाई आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा गरेका छौं । हाम्रो निस्वार्थ सेवालाई सहज बनाउन आवश्यक सहयोगका लागि नेपाल सरकारलाई अनुरोध गर्न चाहन्छौं ।’

कार्यक्रममा सम्माननीय उपराष्ट्रपतिले एचसीसीएनका पुर्व डिनहरु गजेन्द्र बहादुर श्रेष्ठ, अम्बिका श्रेष्ठ (स्पेन), विनय मान श्रेष्ठ (कोलोम्बो), पद्म ज्योती (साइप्रस), वसन्त राज मिश्र (चिली), श्रीराम लामिछाने (लक्जमवर्ग), राजेन्द्र कुमार खेतान (पोर्चुगल), आङ छिरिङ शेर्पा (बेल्जियम), प्रदिप कुमार श्रेष्ठ (दक्षिण अफ्रिका), वसन्त चौधरी (मोरोक्को) र लोकमान्य गोल्छा (पोल्यान्ड) लाई सम्मान गर्नु भएको थियो ।

१६ औं साधारणसभाले नयाँ डिनका रुपमा अनररी कन्सुल जनरल विष्णु कुमार अग्रवाललाई चयन गरेको छ । सन् २०१० देखि चेक रिपब्लिकको अनररी कन्सुल रहनु भएका अग्रवाललाई सन् २०१५ मा अनररी कन्सुल जनरलमा पदोन्नती गरिएको थियो । भर्खरै नेपाल उद्योग परिसंघको अध्यक्षको कार्यकाल सम्पन्न गर्नु भएका अग्रवाल एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक हुनुहुन्छ । उहाँलाई सन् २०१९ मा चेक रिपब्लिकको प्रागमा आयोजना भएको वल्र्ड अनररी कन्सुलमा संसारकै सर्वोत्कृष्ट कन्सुल अवार्डबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्नुहुँदै एचसीसीएनका नवनियुक्त डिन  विष्णु कुमार अग्रवालले देशलाई आवश्यक परेको समयमा अनररी कन्सुलहरुले व्यक्तिगत स्वार्थबाट माथि उठेर नेपाल र आफूले प्रतिनिधित्व गर्ने मुलुकप्रतिको जिम्मबारीलाई निर्वाह गर्नु भएको बताउनु भयो ।

२०७२ को विनाशकारी भूकम्प र कोभिडको महामारीका बेलामा पनि एचसीसीएन सदस्यहरुले आफूले प्रतिनिधित्व गर्ने मुलुकका नागरिकको उद्धार गर्न र सुरक्षित रुपमा आफ्नो मुलुकमा फर्कन मद्दत गरेको उल्लेख गर्नु भयो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend