जन आकाश
काठमाडौ । लामो समयदेखि वर्षा नहुँदा खडेरी परेपछि नेकपा एमालेले मधेस प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गर्न माग गरेको छ ।
एमाले मधेस प्रदेशका प्रमुख सचेतक लखन दासले वर्षा नहुँदा खेतीपातिमा आश्रित किसान मागमा परेको भन्दै प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गरी किसानलाई राहत तथा क्षतिपूर्ति दिन प्रदेश सरकारसँग माग गरेका छन् । आइतबार मुख्यमन्त्री सरोजकुमार यादवलाई पाँचबुँदे ज्ञापनपत्र बुझाउँदै प्रमुख सचेतक दासले मौसमी वर्षा नहुँदा धान रोपाइँ नभई अधिकांश खेत बाँझो हुन पुगेको र केही रोपिएको धान पनि सुक्न थालेकाले किसान थप मर्कामा परेको बताए ।
उनले मौसमअनुसारको वर्षा नहुँदा पशुहरूमा लम्पी स्किन रोगसमेत लागेको बताए । मधेस प्रदेशलाई तत्काल सुक्खा क्षेत्र घोषणा गरी पीडित किसानलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, हाल महामारीको रूपमा फैलिएको लम्पी स्किन रोग निदान तथा नियन्त्रणका लागि प्राविधिकहरू परिचालन गरी भ्याक्सिनको व्यवस्था गर्नुपर्ने साथै लम्पी स्किनका कारण वस्तुभाउहरू गुमाएका किसानलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग ज्ञापनपत्रमा उल्लेख छ ।
त्यसैगरी, मधेस प्रदेश सरकारले प्रदेशभरिका किसानका लागि उन्नत बिउविजन, सिँचाइ तथा मलखाद सरल र सहज उपलब्धताको सुनिश्चित गर्नुपर्ने, कृषि विद्युतीकरणसँग आबद्ध किसानका लागि २४ सै घन्टा विद्युत् आपूर्तिको व्यवस्था हुनुपर्ने र राहतस्वरूप यस वर्षको विद्युत् महसुल प्रदेश सरकारले तिरिदिनुपर्ने माग एमालेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend