जन आकाश
काठमाडौँ । महानगरपालिकाले यही साउन २१ गतेदेखि नौवटा वडामा कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ । उक्त अभियान यसअघि कुनै पनि मात्रा नलगाएका र मात्रा पूरा गर्नेका लागि सञ्चालन गर्न लागिएको हो । कामपाका नौ वटा वडामध्ये वडा नं ६, ११, १४, १७ र ३१, मा साउन २१ र २२ गते २ दिन कार्यक्रम चलाइनेछ ।
यसैगरी वडा नं १२, १५, १९ र ३२ वडामा साउन २३ र २४ गते दुई दिन कार्यक्रम चलाइने तयारी रहेको कामपा स्वास्थ्य विभाग प्रमुख रामप्रसाल पौडेलले जानकारी दिए ।
खोप कार्यक्रममा १२ वर्षमाथि उमेर समूहका व्यक्तिलाई समावेश गरिने प्रमुख पौडेलले बताए । उनले भने,बिरामी परेर शिथिल भएपछि मात्र उपचारका लागि जाने विद्यमान परिपाटीको अन्त्य गर्दै सम्भावित स्वास्थ्य जोखिम आकलन गरेर नागरिकको बचावटको लागि खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
अहिले कोभिडको सङ्क्रमणका बारेमा मानिसले खासै कुरा गरेका छैनन् । अस्पतालमा कोभिडकै कारण निमोनिया भएका बिरामी आउने गरेका छन् । उनीहरुको उपचार आइसियुमा राखेर भइरहेको पौडेलले जानकारी दिए ।
पटकपटक सञ्चालन गरिएको अभियानमा पनि केही नागरिकले पहिलो मात्रासमेत खोप नलगाएको पाइएपछि कामपाले पुनः खोप कार्यक्रम सञ्चालन गर्न लागेको हो । केही वाडमा मात्र उक्त कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको भए पनि क्रमिकरुपमा अन्य वडामा पनि उक्त कार्यक्रम सञ्चालन गरिनेछ । यस कार्यक्रमले पहिलो मात्रा लगाउनकै लागि छुटेकालाई समेट्ने र दोस्रो, तेस्रो र चौथो मात्रा नलगाउनेका लागि सहज हुनेछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend