आइतबार बौद्ध काठमाडौँ नयाँबस्तीस्थित छ्योर्तेन टासी तामाङ गुम्बामा उर्गेन धोङाक छ्योइफेल छ्योतेन धार्गेलिङ गोन्पाद्वारा प्रकाशित पुजा विधि पुस्तक लोकार्पण गरिएको हो ।

लिसंखुपाखर गाउँपालिका वडा नं २, म्हानेडाँडाका स्व. पद्म बज्र लामाले परिकल्पना तथा सङ्कलन गरिएको सामग्रीलाई उनकै छोरा जीवन योन्जन लामाको संयोजनमा पुस्तकलाई मूर्त रूप दिएको हो ।

पुस्तकलाई स्व. पद्म बज्र लामा स्वर्गारोहण भएको दुई वर्ष पुगेको पुण्य तिथिमा विमोचन गरिएको हो । पुस्तकमा योन्जन थरी तामाङले पितृ पूजा गर्ने (फुई ठाम्बा) विधि र तरिकाको बारेमा उल्लेख गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशकी सांसद माइली तामाङले सम्भोटा लिपिमा रहेको पुस्तकलाई सबैले पढ्न सकिने गरी नेपालीमा अनुवाद गरिएकोमा खुसी व्यक्त गरिन् । उनले यो पुस्तक सम्पूर्ण योन्जन वंशको लागि अति आवश्यक रहेको उल्लेख गरिन् ।

त्यस्तै पुस्तकमाथि टिप्पणी गर्दै राजनीतिज्ञ एवं बौद्ध दर्शनाचार्य सीताराम तामाङले आठौँ शताब्दीमा सबै बोन धर्मका अनुयायी भएका स्वीकारे । ‘नालन्दा विद्यालयमा अध्ययन गरेकाहरूले प्रभावित पारेका हुन्‚’ उनले भने‚ ‘बज्रयान र बोन मिश्रित लामा भएको समाज हो । खासमा मिलारेपा मान्ने रहेछौँ ।’ उनले मिलारेपा दोलखाको जितवीर लामाको वंशज रहेको समेत अनुसन्धानले पत्ता लागेको बताए ।

 

यसै गरी जापानका लागि पूर्वराजदुत डा. गणेश योन्जनले अहिलेसम्म पुस्तकहरू प्रकाशित भएको बताउँदै योन्जनबंशको कूल पूजा विधि पुस्तकले हाम्रो कूल पूजा गर्नलाई सहज हुने बताए ।

यसै गरी पुस्तकका अनुवादक टीका शेर्पाले बौद्ध धर्म अनुष्ठान मात्रै नभई सांस्कृतिक सभ्यता भएको बताए । उनले सम्भोटा नै तामाङ समुदायले लिपिको रूपमा उपयोग गर्नलाई सुझाए ।

योन्जन वंशावलीका अध्यक्ष महेन्द्रजंग तामाङले कुल पूजालाई यो पुस्तक महत्त्वपूर्ण हुने बताए ।

कार्यक्रममा लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष राजु लामा र उपाध्यक्ष मिठुदेवी लामा, लिसंखुपाखर गाउँपालिकाका पूर्व उपाध्यक्ष हेमगंगा मोक्तान, बुद्धोदय माविका प्रधानाध्यापक कृष्णबहादुर श्रेष्ठ, समाजसेवी पुण्य बज्र लामाले पुस्तकको महत्वको बारेमा मन्तव्य राखेका थिए ।

कार्यक्रम गोन्पाका प्रमुख लामा लवाङ घ्याम्छो लामाको अध्यक्षतामा र इन्दिरा योन्जनले सहजीकरण गरेका थिए ।

त्यस्तै बुद्ध बचन सूत्र तन्त्रको सागर सार कामधेनु सम मणिमाला (धारणी) सङ्ग्रह नाम विहरतिस्म (धोमाङ सार मन्त्र) नामक पुस्तक सोही दिन विमोचन भएको थियो ।

पुस्तकलाई तामाङ टुल्कु लोब्साङ नामग्याल रिन्पोछेको बाहुलीमा पुस्तक विमोचन भएको हो ।

तामाङ गुम्बाका अध्यक्ष हरिबहादुर लामाले सङ्कलन गरेको उक्त पुस्तकलाई खेन्पो निमा जाङबो लामा र लामा पेमा ग्याल्पोले सम्पादन गरेका थिए ।

सोही दिन छ्योर्तेन टासी तामाङ गुम्बामा सुरेश लामाको संयोजकत्वमा १५ सदस्य रहेको युवा समूह गठन गरेको छ ।