जन आकाश
काठमाडौँ — इन्जिनियरिङ अध्ययन संस्थानमा शुल्क वृद्धि गरिएको विरोधमा सत्ताघटक नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास वरपर विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्रीको निवास घेराउ गर्ने भन्दै सडकमा उत्रिएका नेविसंघसम्बद्ध विद्यार्थीहरुलाई प्रहरीले रोकेको थियो ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले इन्जिनियरिङ अध्ययन संस्थानले अस्वाभाविकरुपमा स्नातक तहको शुल्कवृद्धि गरेको, र त्यसबारे संस्थानकै विद्यार्थीसहित नेविसंघ आन्दोलित हुँदासमेत सरकारले बेवास्ता गरेपछि प्रदर्शनमा उत्रिनुपरेको बताए । उनले शनिबार विज्ञप्तिमार्फत बालुवाटार घेराउ कार्यक्रमका लागि आह्वान गरेका थिए ।
संस्थानले एकै पटक अस्वाभाविक रुपमा शुल्कवृद्धि गर्दा अब इन्जिनियरिङ शिक्षा गरिब तथा जेहन्दार विद्यार्थीका लागि आकाशको फल बनेको नेविसंघको ठहर छ । संस्थानमा गरिएको शुल्कवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै नेविसंघका नेता सुलभ चापागाईं ६ दिनदेखि आमरण अनशनमा बसेका छन् ।
तत्काल शुल्कवृद्धि फिर्ता लिएर चापागाईंको जीवनरक्षा गर्नुपर्ने नेविसंघका केन्द्रीय सदस्य भुवन भट्टले बताए । नेविसंघले सबै विश्वविद्यालयमा इन्जिनियरिङ शिक्षाको एकै मापदण्ड तय गरी एकरुपता ल्याउनुपर्ने र इन्जिनियरिङ अध्ययन संस्थानले हालै गरेको शुल्कवृद्धि फिर्ता लिनुपर्ने माग गरेको छ । त्यस्तै, विद्यार्थी विदेश पलायनलाई रोक्न राष्ट्रिय संकट घोषणा गर्नुपर्ने नेविसंघको माग छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend