logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

 संसदीय समितिको बैठक बस्दै


  • जन आकाश
  • सोमबार, भाद्र ११ २०८०

काठमाडौं । आज एकै पटक १० वटा संसदीय समितिको बैठक बस्दैछ । बैठक दिउँसो तीन बजेदेखि सुरु हुनेछ । प्रतिनिधि सभा निर्वाचन भएको १० महिनापछि आजै संसदीय समितिले सभापति पाउँदै छन् ।



१० वटा संसदीय समितिको सभापतिका लागि ९ वटा समितिमा एकल मनोनयन दर्ता भएकाले निर्विरोध निर्वाचित भइसकेका छन्, यद्यपि घोषणा हुन भने बाँकी छ । एउटा समितिमा दुई जनाको मनोनयन परेका कारण निर्वाचन प्रक्रियाबाट सभापति चयन हुँदैछ ।

सत्तारुढ नेपाली काँग्रेसका तर्फबाट अर्थ समितिमा सन्तोष चालिसे, कृषि समितिमा डा.आरजु राणा देउवा र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरी खतिवडाको उम्मेदवारी परेको छ । त्यस्तै, प्रमुख प्रतिपक्ष (एमाले) बाट सार्वजनिक लेखा समितिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक समितिमा किरणकुमार साहको उम्मेदवारी दर्ता भएको छ ।

अर्को सत्तारुढ दल नेकपा (माओवादी केन्द्रबाट) कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा विमला सुवेदीले उम्मेदवारी दर्ता गराएकी छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जनता समाजवादी पार्टी, नेपालका राजकिशोर यादवको उम्मेदवारी परेको छ ।

नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशीले शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समिति सभापतिमा उम्मेदवारी दिएका छन् । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंहले पूर्वाधार विकास समितिमा उम्मेदवारी दर्ता गराएका छन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिमा भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र सत्तारुढ दलको तर्फबाट जनमत पार्टीका अब्दुल खानले उम्मेदवारी दिएका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend