logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

तातोपानी नाका आजदेखि खुल्ने


  • जन आकाश
  • शुक्रबार, भाद्र १५ २०८०

काठमाडौं । चीनसँगको उत्तरी नाका तातोपानी नाका आजदेखि खुल्ने भएको छ । तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासका अनुसार चिनियाँ अधिकारीहरुसँगको बैठकले सो नाका भएर मानव आवतजावत खुला गर्ने निर्णय गरेको हो ।



२०७२ सालको महाभूकम्प र त्यसपछिको कोरोना भाइरस महामारीका कारण तातोपानी नाका पूर्णरुपमा बन्द भएको थियो । शुक्रबार आजदेखि सो नाका सञ्चालनमा ल्याउन समझदारी भएको महावाणिज्यदूत नवराज ढकालले जानकारी दिए । समझदारीमा नाकाबाट यात्रुहरुको आवतजावत खुला गर्ने भनिए पनि तत्कालका लागि भने स्थानीयका लागि मात्रै नाका खुल्ने छ ।

तातोपानीको पारिपट्टीको चिनियाँ बजारसम्म पुग्नका लागि तातोपानीस्थित अध्यगमन कार्यालयले पास वितरण सुरु गरेको छ । अध्यागमनले जारी गरेको एकवर्षे अवधिको पास पाएकाहरुले शुक्रबारदेखि चीनतर्फ प्रवेश पाउने कार्यालयले जनाएको छ ।

तातोपानी भन्सार कार्यालयका अनुसार चीनतर्फ प्रवेशका लागि शुक्रबारदेखि नाका खुलाको तयारी सकिएको छ । ‘अहिले खासा बजारसम्म पनि जान नदिने भन्ने छ । चिनियाँ बजारसम्म पुग्नेगरी पास जारी भइरहेको छ,’ भन्सार प्रमुख दयानन्द केसीले भने, ‘२०७२ सालको भूकम्पछि पहिलो पटक मानव आवतजावतका लागि यो नाका खुला हुँदैछ ।’

भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले पनि मानव आवतजावतका लागि ८ वर्ष पछि नाका खुला हुन लागेको बताए । ‘कोभिड–१९ पछि श्रमिकहरु सामान लोड गर्न गएका थिए, त्यो एकतर्फी थियो’ वडाध्यक्ष श्रेष्ठले भने, ‘तर, शुक्रबारदेखि अनुमति नै जारी गरेर मानव आवतजावत खुल्ला हुँदैछ ।’

२०७२ सालको महाभूकम्प पछि तातोपानी नाका पूर्ण रुपमा बन्द भएको थियो । दुवै देशले भूकम्पले क्षति पुगेको संरचना पुनर्निर्माण गरेपछि १४ जेठ २०७६ मा यो नाका वस्तु आयात निर्यातका लागि सञ्चालनमा आएको थियो । तर, कोरोनाभाइरस महामारी विश्वभर फैलिएपछि ११ चैत २०७६ मा नाका पुनः बन्द भएको थियो ।

कोभिड–१९ पछि नाका खुल्ने र बन्द हुने पटक–पटक भएपनि यात्रु आवतजावतका लागि नाका सञ्चालनमा आएको थिएन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend