जन आकाश
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले, कृषि तथा पशुपंन्छी विकास मन्त्री डा.वेदुराम भुसालको प्रमुख आतिथ्यता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको विशिष्ट आतिथ्यता र कृषि तथा पशुपंन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा लगायत सरकारी निकाय, कुटनीतिक नियोग, नीजि क्षेत्र, सहकारी क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरुको समुपस्थितिमा मिति २०८० भाद्र १७ गते होटल ¥याडिसन, लाजिम्पाटमा “५ ओटा कृषि संरचनाहरुको उदघाटन” सम्पन्न भएको छ ।
उदघाटन समारोहको अध्यक्षता मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले गर्नु भएको थियो । कम्पनीले तयार गरेको ५ वर्षे रणनीतिक योजना “भिजन२०८५” अनुसार कृषक, उपभोक्ता, व्यवसायिक साझेदार, सेवाग्राहीहरुलाई देशव्यापी रुपमा उच्चस्तरीय र दीगो सेवा प्रदान गर्ने अभिप्रायले निम्नानुसारका ५ वटा कृषि संरचनाहरुको डिजिटल रुपमा समुद्घाटन गरिएको छ ।
१. इटहरी, बर्दिवास, काठमान्डौ, बुटवल, सुर्खेत र धनगढीमा अवस्थित “प्रादेशिक कार्यालयहरु”
२. स्याबजा र चितवनमा अवस्थित “फार्म उत्कृष्टता केन्द्र”
३. कृषिमा लगानी प्रवद्र्धनका लागि “कृषि व्यवसाय परामर्श केन्द्र”
४. कृषकहरुलाई दैनिक सेवाको लागि “कृषकसंग मुक्तिनाथ कल सेन्टर”
५. आर्टिफिसियल इन्टेलिजेन्समा आधारित “मुक्तिनाथ एप”
कार्यक्रममा स्वागत मन्तव्य र कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै, अध्यक्ष भरतराज ढकालले मुक्तिनाथ कृषि जस्ता पब्लिक कम्पनीहरुको लगानीलाई आकर्षण, प्रवद्र्धन, विकास र नियमनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय मातहत एकिकृत कृषि विकास प्राधिकरणको स्थापना गर्दै सार्वजनिक नीजि सहकारीको साझेदारीमा कृषि चक्रको निर्माण गर्नुपर्ने बाताएका छन् ।
साथै कार्यक्रमलाई सम्माननिय प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा नै संचालन गर्ने अन्तिम तयारी भएतापनि निर्धारीत समयभन्दा पछाडि कार्यव्यस्तताको कारण आउन सम्भव नभएको भनि जानकारी प्राप्त भएकोमा माननिय मन्त्री र अन्य विशिष्ट व्यक्तित्वहरु मार्फत प्रधानमन्त्री समक्ष कृषि क्षेत्रको विकासका लागि गहन रुपमा छलफल गर्न अनुरोध गरेका छन्।
सयुंक्त राष्ट्र संघ, विश्व खाद्य संगठनका नेपाल प्रमुख केन सिमिजूले कम्पनीसंग कोदोजन्य बालि वर्ष २०२३ लाई प्रवद्र्धन गर्न सहकार्यको शुरुवात गरेको र आगामी दिनमा कुटनीतिक नियोग, सरहकार र निजी क्षेत्रको साझेदारीमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिवले मुक्तिनाथ कृषि कम्पनीले समग्र मूल्य श्रृंखला व्यवस्थापनमा गरिरहेका कार्यहरु र कम्पनीका स्पष्ट भावि योजनाको लागि धन्यवाद व्यक्त गर्दै सार्वजनिक नीजि साझेदारी मार्फत कृषि क्षेत्रको विकासमा सहकार्य गर्दै अगाडी बढ्ने बाताएका छन् ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठले सोह्रो पंचवर्षिय योजना निर्माणको अन्तिम चरणमा रहेको सन्दर्भमा यो कार्यक्रम अत्यन्तै फलदायी रहेको र योजनामा सार्वजनिक नीजि सहकारीको साझेदारीको अवधारणालाई योजनामा समेट्ने बताए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित कृषि तथा पशुपन्छि विकास मन्त्री माननिय डा. वेदुराम भुषालले कृषि क्षेत्रको समग्र विकासमा नीजि क्षेत्रको भुमिका महत्वपूर्ण रहने बताउँदै कृषकहरुको उत्पादन र उत्पादकत्व वृद्धिका लागि सरकारले सिंचाई लगायत कृषि संरचनाहरुको विकासमा जोड दिने र खरीद सुनिश्चितता गर्ने संरचनाको निर्माणमा सवै मिलेर लाग्नुपर्ने बताए ।
कार्यक्रममा, कृषि क्षेत्रको प्रमुख समस्याहरु, कम्पनीको गतिविधिहरु, एकीकृत कृषि विकास प्राधिकरणको आवश्यकता, औचित्य र भावि संभावनाहरुको सम्बन्धमा कम्पनीका नायव महाप्रबन्धक रामशरण तिमल्सिनाले प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको संचालन सुगारीका के.सी. ले गरेका थिए । मुक्तिनाथ कृषि कम्पनी लि., “कृषकसंग मुक्तिनाथ” र “उपभोक्तासंग मुक्तिनाथ” अभियानद्वारा “संस्थागत मूल्य श्रृंखला व्यवस्थापन मार्फत कृषि चक्रको निर्माण” गर्दै नेपालको अर्थतन्त्रलाई सवल बनाउने अभिप्रायले वि.सं. २०७५ साल भाद्र १५ गते स्थापना भएको पब्लिक लिमिटेड कम्पनी हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend