logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार इल्या र राजेशलाई


  • जन आकाश
  • बुधबार, भाद्र २० २०८०

काठमाडौ, । तत्कालीन शाही नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट रतन बहादुर लामिछानेको स्मृतिमा स्थापना गरिएको क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार साहित्यकार इल्या भट्टराई र पत्रकार राजेश खनाललाई प्रदान गरिने भएको छ । सूचक प्रकाशनले विगत ६ वर्षदेखि संयोजन गर्दै आएको क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार यो वर्ष उहाँहरूलाई प्रदान गर्न लागिएको सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवाल (दीपसागर) ले बताए ।



२०४० को दशकदेखि नेपाली साहित्य लेखनमा प्रवेश गरेकी भट्टराईको मनै त हो, अनि, लफबराको वरिपरि, निशब्द प्रश्नहरु, युरोप नौलो परिवेश, कसले के बुझ्यो,जीवनका रंगहरू, म साँच्चिकै हराइछु, त्यो एउटा बिहान, दक्षिणायन लगायतका विभिन्न विधाका दस पुस्तकाकार कृतिहरु प्रकाशित भएका छन् । जसमध्ये उनको नियात्रा कृति दक्षिणायनले २०७५ सालको उत्तम शान्ति पुरस्कार प्राप्त गरेको थियो ।

यस्तै पुरस्कारका लागि चयन भएका अर्का प्रतिभा राजेश खनाल विगत साँढे तीन दशकअघिदेखि कला तथा साहित्यिक पत्रकारितामा सक्रिय हुनुहुन्छ । दर्जनौँ साप्ताहिक पत्रिकाहरूमा सम्बद्ध रहेर काम गरिसकेका खनाल हिमालय टाइम्स नेपाली दैनिकमा समेत आवद्ध हुनुभएको थियो । करिब दुई दशकभन्दा बढी एफएम रेडियोहरूमा कार्यक्रम निर्माता तथा संचालक रहनु भएका खनालसँग टेलिभिजनमा कार्यक्रम लेखनको अनुभव समेत रहेको छ । उहाँले केही वृत्तचित्रको निर्देशन पनि गर्नुभएको छ ।

पछिल्लो समय अनलाइन पत्रिका बाह्रखरी डटकममा साहित्य पृष्ठको संयोजन गर्दै आउनु भएका खनालको ‘पाइला आफ्नै आफ्नै’ (व्यक्तिवृत्त) पुस्तक प्रकाशित छ । उहाँले केही जीवनीहरूको सम्पादन पनि गर्नुभएको छ ।

क्याप्टेन रतन बहादुर लामिछानेको धर्मपत्नी कवि एवं गीतकार सपना लामिछानेको सहकार्यमा स्थापना गरिएको उक्त पुरस्कारबाट यसअघि डा. तेजेन्द्र राई, प्रा. कुसुम लामिछाने, साहित्यकारहरु ज्ञाननिष्ठ ज्ञवाली, डा. मिरा प्रधान, लव गाउँले, गंगा लिगल, जलेश्वरी श्रेष्ठ, पत्रकारहरु मिलन मास्के र कमलमणि पोख्रेललगायत विभिन्न क्षेत्रमा योगदान दिएका १४ जना व्यक्तित्वहरू सम्मानित भएका छन् ।

पुरस्कार आगामी आउँदो असोज ११ मा प्रदान गरिनेछ । साथै सोही अवसरमा विभिन्न माध्यमबाट नेपाली भाषा र साहित्यको विकासमा निरन्तर सक्रिय साहित्यकारहरू गीता कार्की, ज्ञानु अधिकारी, सपना लामिछाने, लिलादेवी श्रेष्ठ, रेनुका सोलु, वसन्त नकर्मी तथा नेत्र अनुसन्धान विज्ञ सिद्धार्थ रन्जित र समाजसेवी हेमन्त कुमार कार्कीलाई सूचक सम्मान अर्पण गरिने आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend